‘मादी गाउँपालिकामा मनोमानी भाडा उठाइयो’
पोखरा ।
कास्कीको मादी गाउँपालिकामा चल्ने सार्वजनिक सवारीले मनोमानी भाडा उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मादी कमिटीले गाउँपालिकालाई ध्यानकर्षण पत्र बुझाएको छ ।
मंगलबार कमिटीले पालिकामा चल्ने पाँच वटा रुट–काँहुखोला–सिक्लेस, काँहुखोला–ताङतिङ, काँहुखोला–याङ्जाकोट, विजयपुर–थुम्सिकोट, विजयपुर मकैखोलामा भाडादर अत्याधिक बढेको भन्दै ध्यानकर्षण बुझाएको कमिटीका अध्यक्ष योगबहादुर क्षेत्री (रवि )ले बताए ।
उनका अनुसार समायोजना मुल्यको १०देखि १५ प्रतिशत मुल्य बढाएर यात्रुसँग भाडा उठाइएको छ । अध्यक्ष रविका अनुसार मंगलबार गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङलाई स्वतन्त्र विद्यार्थी युनियन मादी कमिटीले पत्र बुझाएको हो ।
पत्रमा लेखिएको छ, ‘वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दिनको दुई गुणा, रातको चार गुणाका दरले इन्धनको मूल्य बढाइरहेको छ । इन्धनको मूल्य वृद्धि भए सँगै असहज रूपमा यस मादी गाउँपालिका भित्र चल्ने बस तथा जिपहरूले मनोमानी रूपमा भाडा रकम उठाइरहेको प्रति जनताबाट जनगुनासो आइरहेको हुँदा अनेरास्ववियु मादी गाउपालिका कमिटिको गम्भिर ध्यानाकर्षण गराएको छ ।’
तपाईको प्रतिक्रिया