‘एमालेले जित्छ, अलोकतान्त्रिक हार्छन्’

समाधान संवाददाता २०७९ भदौ २९ गते १०:२७

पोखरा ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमालेले ल्याउने परिणामबाट विश्व चकित पर्ने दाबी गरे । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन आम जनतालाई जगाएर तुफानी अभियान चलाउने उल्लेख गरे । उनले देश विकास र सामाजिक सद्भाव भत्काउनेलाई देखाउन नेकपा एमालेले आगामी चुनाव जित्नुपर्ने बताए ।

‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नै पर्छ । किन जित्नपर्छ ? एमाले तथा लोकतान्त्रिक तमु संघलाई होइन,’ अध्यक्ष ओलीले भने, ‘देश र तमाम जनता, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, समानता र विकास सामाजिक सद्भाव भत्काउनेलाई देखाउन यो निर्वाचन जित्नपर्छ ।’

अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नेको संख्या बढाउनेदेखि मतदाताको सुरक्षा गर्नु पर्नेमा जोड दिए । काभ्रे लगायतको जिल्लामा एमालेका कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर दमन थालेको उल्लेख गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले मत खसाल्न नदिएर अलोकतान्त्रिक काम गर्ने टिप्पणी गरे । स्याङ्जाको चापाकोट लगायतका स्थानमा अहिलेसम्म जनताले भोट खसाल्न नपाएको दाबी गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक र गुण्डागर्दीलाई रोकेर जनतालाई मत दिलाउने वातावरण मिलाउन एमालेका जनसंगठनलाई निर्देशन दिए ।

Advertisement

अध्यक्ष ओलीले आगामी निर्वाचनमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बनेपनि माधव नेपालको (एकीकृत समाजवादी)े त्यहाँ नपुग्ने उल्लेख गरे । आगामी चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । ‘प्रचण्डले इज्जत जोगाउँछन्, माधव नेपालको थ्रेसहोल्ड कट्दैन,अध्यक्ष ओलीले भने, ‘माधव नेपालले भोट पाउनेवाला छैनन् । सो पार्टी ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीका रूपमा आउन सक्दैन ।

यत्रो एमालेको विरुद्ध काम गरेको पारिश्रमिक स्वरुप उनलाई सबै मिलेर एक सिट जिताइदिन सक्छन् ।’ उनले संसदमा माधव नेपालको हैसियत राप्रपाको जस्तै हुने दाबी गरे गरे । ती पार्टी आफ्नै विचारमा केन्द्रीत भए पनि नेता नेपाल र उनको पार्टीसँग कुनै राजनीतिक विचार नरहेको अध्यक्ष ओलीको टिप्पणी थियो ।

Advertisement

तपाईको प्रतिक्रिया