सम्पादकीयः डेंगु नियन्त्रणको लागि प्रभावकारी कदम चाल

नेपालमा डेंगु संक्रमण निरन्तर रुपमा उकालो लागेको छ । हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा फैलिएको डेंगु महामारी उत्कर्षतिर लम्केको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ । गण्डकीमा २ सय २ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्ममा डेंगुबाट ७ जनाको मृत्यु भएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक पुष्टि भएको डेंगु अहिले निरन्तर रुपमा फैलिएको छ ।
मानिसमा जनचेतनाकै कमीले डेंगु फैलिइरहेको छ । डेंगु नियन्त्रणको लागि लामखुट्टे मार्ने प्रभावाकारी उपाय अपनाउनु पर्छ । झाडीहरू फाँड्ने हो वा पेस्टिाइड छर्ने, मानिसहरूलाई जनचेतना गराउने, घरवरपर सुख्खा राख्ने उपाय अझै गरिएको छैन । जसको कारण डेंगुको जोखिम बढाइरहेको छ । घरको झ्याल तथा ढोकामा जाली छैन भने ढोका खोल्दा साँझपख लामखुट्टे छिर्छ । यही लामखुट्टे कोठाको कुनातिर बस्छ र टोक्छ । जाली नभएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ । साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने,नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । यो जातिको लामखुट्टले राति होइन दिउँसोमात्रै मानिसलाई टोक्छ । यो लामखुट्टे कालो र सेतो रङको हुन्छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने पर्छ ।
विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ । डेंगु उत्कर्षतिर पुगेको छ । उत्कर्षमा स्थिर रहन्छ की घटेर जान्छ भन्नेमा यकिनका साथ भन्न सकिने अवस्था छैन । डेंगुबाट जोगिन सर्व साधारण पहिले सजक हुनु पर्छ । मुख्य पाटो सचेतना जगाउनु हो । सरकारले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी रुपमा चलाउनु पर्छ । अस्पतालको तयारी, डेंगु जाँच गर्ने किटहरु बढाउनु पर्छ । समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सेरोटाइपको अध्ययनका लागि नमुना संकलनमा ध्यान दिनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया