नेपाल भारत मैत्री संघको आठौं सभा पोखरामा हुने
पोखरा ।
नेपाल भारत मैत्री संघले आठौं केन्द्रीय मैत्री सभा गर्ने भएको छ । असोज १ गते हुन लागेको सभा पोखरा सभागृह हलमा हुने जनाइएको छ । पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकास प्रवद्र्धन गर्ने उद्देश्यले सभा पोखरामा गर्न लागिएको संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र झाले बताए ।
‘भारतीय पर्यटक बढी भन्दा बढी पोखरा भित्राउने योजना छ, सभाले पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा छ,’ उनले भने ‘नेपालका प्रमुख धार्मिक स्थल भ्रमणमा आउने भारतीय नागरिकलाई भारत सरकारले अनुदान दिने व्यवस्था मिलाउन पहल समेत गरेकाछौं ।’
नेपालमा रहेका भारतीय नागरिक र भारतमा बस्ने नेपाली नागरिकका हक अधिकारका लागि संघले काम गर्दै आइरहेको छ । नेपालका ७० जिल्लामा शाखा र १ सय २३ शाखा–उपशाखा छन् ।
सभामा ३ सय भन्दा धेरैको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यतालिका रहेको संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया