पोखरामा पल्सर एनएस १२५

पोखरा ।
पोखरामा बुधबार बजाज पल्सर एनएस १२५ सार्वजनिक भएको छ । पोखराका लागि आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिले पल्सर सिरिजको सबैभन्दा कम सिसी क्षमताको बाइक पोखरामा सार्वजनिक गरेको हो । यसअघि एनएस १६० र एनएस २०० पल्सर बजारमा आएका थिए । बाइक कम सिसी क्षमताको भए पनि यसको लुक्स तथा डिजाइन भने १६० एनएसको जस्तै छ ।
बुधबार पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिको प्रमुख आतिथ्यतामा बाइक सार्वजनिक गरिएको हो । उनले अहिले बाइक मानिसको जीवनमा गास, बास, कपास जस्तै अत्यावश्यक भएकाले राज्यले चर्को कर घटाउनुपर्ने बताए । ‘बाइक मानिसका लागि अत्यावश्यक नै भइसक्यो । नागरिकको दैनिकीसँग जोडिएकाले बाइकमा राज्यले जति सक्दो सस्तो कर लगाउनुपर्छ ।’ कार्यक्रममा विशेष अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष मोहनबाबु खड्का थिए ।
इच्छाशक्ति अटोमोबाइल प्रालिका व्यवस्थापक भगवान बिजुक्छेका अनुसार एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । ‘दशैंको अवसरमा हामीहरुले बाइक किन्दा ७ हजारसम्म छुटको व्यवस्था गरेका छौं । यससँगै हेल्मेट दिन्छौं,’ उनले भने, ‘कसैले लोनमा लैजान चाहे पनि हामीले त्यो सुविधा दिएका छौं । यसमा केही निश्चित डाउन पेमेन्ट गर्नुपर्र्छ । यो निश्चित अवधिका लागि हो ।’ गुणस्तरीय सेवा सुविधाका साथ असल काम गरेकै कारण उपभोक्ताले बजाज कम्पनीका बाइक मन पराएको प्रालिका निर्देशक इच्छामान बुद्धाचार्यले बताए । ‘यो यात्रा २५ वर्षको हो । यो अवधिमा प्रालिले गुणस्तरीय सेवा र राम्रो बाइक उपलब्ध गराएकाले यहाँसम्म सफलता प्राप्त गरेका हौं ।’
बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको छ । समा ५ स्पीडको गियरबक्स दिइएको छ । १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च भएको कम्पनीका दाबी छ ।
अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ । १२ लिटर इन्धन ट्यांकी रहेको बाइकले प्रतिलिटर इन्धन खपतमा ४० किलोमिटर बढी माइलेज दिने दाबी गरिएको छ । एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ ।
तपाईको प्रतिक्रिया