‘शाषकले उद्योगी, व्यवसायीलाई फुटाउँछन्’
पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यलाई स्वागत एवं सम्मान गरेको छ । कार्यक्रममा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेलले निजी क्षेत्रको प्रतिनिधित्व गरी खुलेका सबै साझा संस्था एक अर्काको प्रतिस्पर्धी नभएर सहयात्री भएको बताए । उनले उद्योगी, व्यवसायीको हकहितका लागि सामूहिक र संस्थागत रुपमा काम गर्ने चेम्बर तयार रहेको उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले उद्योगी, व्यवसायीका संघ संस्था एकापसमा मिलेर काम गरे शक्ति आर्जन गर्न सकिने विश्वास व्यक्त गरे । ‘शासकको काम फुटाऊ र शासन गर’ भएको टिप्पणी गर्दै अध्यक्ष प्रजापतीले संस्थागत एकता कायम गरेर व्यवसायीमा शासकको त्यस्तो नीति लागू हुन नदिने प्रतिवद्धता गरे ।
उनले व्यवासायीको एकता आजको आवश्यकता भएको उल्लेख गरे । ‘हामी उद्योगी, व्यवसायी फुटेर होइन, जुटेर काम गर्नु पर्छ । हामी एक हौं भन्ने सन्देश आजको कार्यक्रमले दिएको छ,’ अध्यक्ष प्रजापतिले भने, ‘फेरि पनि म भन्छु, हामी एकापसका प्रतिस्पर्धी होइनौं । त्यस्तो शब्द प्रयोग गर्नु पनि हुँदैन,’ अध्यक्ष प्रजापतीले भने, ‘संस्थाको नाम फरक छ । अफिस भए पनि सबै उद्योगी, व्यवसायी एक हौं ।’ उनले राज्यलाई कर तिर्न सहयोग गर्न तयार रहेको बताए ।
उनले उद्योगी, व्यवसायीलाई काला बजारी भनेर टीका, टिप्पणी गरेकोमा असहमति प्रकट गरे । उनले करको दरभन्दा पनि दायरा बढाउनुपर्ने सुझाव दिए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले उद्योगी, व्यवसायीको साझा उद्देश्य र लक्ष्य लगानीको सुरक्षा गर्नु रहेको बताए ।
उनले राज्यलाई कर तिरेपछि सोही अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गरे । कोभिड १९ को प्रकोपपछि धेरै उद्योगी, व्यवसायी विस्थापित भएको दाबी गर्दै अध्यक्ष केसीले पछिल्लो समयमा बैंक तथा वित्तीय सस्थाको चर्को ब्याजदरले सबैलाई मारमा पारेको उल्लेख गरे । उनले आन्दोलन गरेर पेशा व्यवसायको रक्षा गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव बलराम आचार्य, पोखरा चेम्बर अफ कमर्स कास्की उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, महासचिव नवराज आचार्य लगायतले उद्योगी, व्यवसायीका समस्याका बारेमा बोलेका थिए । कार्यक्रममा नबिल बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोकाले पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यकारी सदस्यलाई सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया