लोकतन्त्रका जवान जमानसिंह

युवराज पौडेल २०७९ असोज १ गते १३:२२

राणाकालीन निरंकुशताका विरुद्ध जीवन हत्केलामा लिएर हिँडेका थोरै योद्धाहरुभित्र उनी पनि एक हुन् जमानसिंह गुरुङ । राणा निरंकुशता विरुद्धको आन्दोलन र बहुदल प्राप्तिको लडाइँमा उनले दिएको योगदान अविस्मरणीय भएता पनि उनका योगदानको चर्चा र विमर्श कतै पनि भएको पाइँदैन । उनी वास्तवमा योगदान भएर पनि ओझेलमा परेका एक होनहार योद्धा हुन् ।
जमानसिंह गुरुङको जन्म विसं १९६६ साउन २३ गते पुतलीबजार १२ पेल्काचौर स्याङ्जामा भएको हो ।२००७ सालको आन्दोलनमा जमानसिंहले नै स्याङ्जाको राजनीतिक नेतृत्व लिए । उनका सहयोद्धाहरु होमवीर आले, धनप्रसाद गुरुङ, धनीप्रसाद थकाली, थानबहादुर सिंह, दूतप्रसाद गुरुङ, दण्डपाणि शर्मा, शमरबहादुर खड्का थिए ।

Advertisement

बिपीसँगै सुन्दरीजलमा ४ वर्ष जेल बसेका जमानसिंह गुरुङ स्याङ्जा कांग्रेसका पहिलो सभापति हुन्, जसले १५ सालमा चुनाव जिते र पछि मन्त्री पनि भए ।

जमानसिंह गुरुङका बारेमा नेपाली कांग्रेसका पुराना प्रजातन्त्रवादी नेता तथा पूर्व सांसद खगेन्द्रराज रेग्मी भन्छन्, ‘जमानसिंह स्याङ्जामा कांग्रेसको संगठनको जग हाल्ने महान् व्यक्ति हुन्थ्यो ।’ उनका अनुसार नेपाली कांग्रेस स्याङ्जाको पहिलो सभापति पनि जमानसिंह गुरुङ नै थिए ।

Advertisement

२०१७ सालमा पुस १ गते तरुण दलको अधिवेशन चलिरहेको बेलामा सेनाले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला लगायत गणेशमान सिंह, सूर्यप्रसाद रेग्मी लगायत मन्त्रीपरिषद्का सदस्यहरुलाई पक्राउ गर्‍यो । जमानसिंह भने त्यतिबेला कसोकसो उम्किएछन् । उनी त्यहाँबाट हिँडेरै पाटन गएछन् र शाक्य थरका साथीकहाँ बसेछन् । राजा महेन्द्रले निर्दलीय व्यवस्थाको घोषणा गरेपछि उनले नेपालमा सुरक्षा नहुने ठानेर भारत जाने सोच बनाए । तर उनी गएनन्, बरु उल्टै प्रहरीलाई आफ्नो ठेगाना बताएर बोलाएको उनका छोरा इन्द्रबहादुर गुरुङ बताउँछन् ।

जमानसिंहलाई पनि बिपीसँगै सुन्दरीजेल चलान गरियो । उनले झण्डै ४ वर्ष जेल बसे । त्यसक्रममा सुवर्णशमशेरको वक्तव्य आयो । त्यो वक्तव्यप्रति बहुदलवादी नेताहरु नै दुई खेमामा देखिए । जमानसिंहले समर्थन गरे । सुवर्णशमशेरको वक्तव्यको अर्थ राजासँगको आत्मसमर्पण नभएर बिपीलाई जेलमुक्त गर्ने उपायको एउटा कदमका रुपमा नै सुवर्णशमसेरको वक्तव्य आएको उनले स्पष्ट पारिदिए ।

Advertisement

जमानसिंह जेल बस्दा नै उनकी श्रीमतीको मृत्यु भइसकेको थियो । बिपी लगायत नेताले जमानसिंहले ४ छोरा, १ छोरीको रेखदेख गर्नुपर्ने भन्दै जमानसिंहका लागि रिहाइको माग राखिदिएका थिए । पछि प्रशासनले पारिवारिक कारण स्वीकार्दै आन्दोलनमा सहभागी नहुने सर्तमा छाडिदियो । ४ वर्ष जेल बसेर रिहा भए । पछि चितवनमा बस्न थाले । त्यहीं पार्टी संगठनका काममा बेतोडले लागे ।

विसं २०१५ को आमनिर्वाचनमा नुवाकोट दक्षिण पूर्व ९५ क्षेत्रबाट जमानसिंह नेपाली कांग्रेसको संसद सदस्यमा निर्वाचित भए । नुवाकोट स्याङ्जाको पुरानो सदरमुकाम हो । उनले सो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट देशभर सबैभन्दा बढी मत ल्याएर विजयी भएको विश्वप्रेम अधिकारी बताउँछन् । त्यतिबेला स्याङ्जामा ४ वटा निर्वाचन क्षेत्र थिए । ३ वटा क्षेत्र कांग्रेसले जितेको थियो । ९५ मा जमानसिंह गुरुङ, ९६ मा यामबहादुर खाँड, ९७ मा जितबहादुर गुरुङ, ९८ मा मोहनबहादुर मल्ल कांग्रेसका तर्फबाट उम्मेदवार थिए ।

९५ क्षेत्रमा जमानसिंहसँगै गोरखा परिषद्का शोभाकान्त अर्याल र अन्य जंगबहादुर क्षेत्री, धर्मबहादुर थापा, लालबहादुर राना मगर, हेमबहादुर अर्याल, होमवीर आले लगायत उम्मेदवार प्रतिस्पर्धामा थिए । जमानसिंहले १३ हजार ८१० भोट पाएका थिए जुन देशभरमै सबैभन्दा बढी मत थियो, कांग्रेसका लागि । गोरखा परिषद्का शोभाकान्त अर्यालले २ हजार ६९६ मत ल्याएका थिए ।

निर्वाचनपछि बनेको बिपी कोइराला सरकारको मन्त्रिपरिषदमा उनी सहायक मालपोत उपमन्त्री बने । पञ्चायतको सुरुआतपछि उनका छोरा इन्द्रबहादुरलाई समेत नुवाकोट (स्याङ्जा सदरमुकाम) को जेलमा लगिएको थियो । पछि इन्द्रबहादुरलाई पोखरामा ५ महिनासम्म जेलमा राखिएको थियो । २०१७ सालको आन्दोलनपछि जमानसिंह नेपाली कांग्रेस स्याङ्जाको सभापति भए । उनी नेतृत्वको कार्यसमितिमा विश्वप्रेम अधिकारी, तुलसीरमण काफ्ले, इन्द्रबहादुर गुरुङ, तारापति सुवेदी, थानबहादुर गुरुङ, धनप्रसाद गुरुङ लगायत कांग्रेस नेताहरु सदस्य थिए । जमानसिंह पछि कांग्रेसका केन्द्रीय सदस्य बनेका थिए ।

जमानसिंह गुरुङले सामान्य शिक्षा मावलीमा लिए । उनी पढाइमा साक्षर थिए । राजनीतिक चेतना भने उनले स्वाध्ययनले बढाएका थिए । राजनीतिको व्यावहारिक संघर्षले उनलाई खारेको थियो । उनमा उच्च राजनीतिक निष्ठा भएको कांग्रेसका पुराना नेता तारापति सुवेदी बताउँछन् । ‘जमानसिंहले राजनीतिमा जहिले पनि इमान देखाए,’ सुवेदीले भने । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा हाल जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी जमानसिंहलाई बाल्यकालबाट चिनेको बताउँछन् । जमानसिंह गुरुङ जहिले पनि लोकतन्त्र, बहुदलकै लागि लडिरहेको अवस्थामा देखेको बताउँछन् । भन्छन्, ‘जमानसिंह अत्यन्त भद्र, सबैको प्रिय र सरल स्वभावको हुनुहुन्थ्यो । सामान्य कपडा लगाउनुहुन्थ्यो । तडकभडक कहिल्यै देखाउनुभएन । गाउँगाउँमा गएकाले उनलाई नचिन्ने मान्छे कमै हुन्थ्यो ।’

२०३६ असोज ४ गते बिपी पोखरा आएका थिए । असोज ८ गते स्याङ्जामा कार्यक्रम गर्ने योजना बनाइएको थियो । असोज ७ गते कार्यक्रमको अघिल्लो रात सिद्धार्थ राजमार्गको कोलोनी गेस्ट हाउसमा बास बसिरहेका कांग्रेसका नेता कार्यकर्तामाथि पञ्चायती मण्डले गुण्डाहरुले ढंगामुढा प्रहार गरी चारैतर्फबाट आक्रमण गरेका थिए । भोलिपल्ट बिपी आउने कार्यक्रम बिथोल्ने अभिप्रायले गरिएको सुनियोजित आक्रमणले कांग्रेस कार्यकर्ताहरुलाई सजग बनाएको थियो । बिपी आउने कार्यक्रम भव्य बनाउने भनेर तयारी गरिरहेको सुरक्षासहितको टोलीमाथिको आक्रमणले कांग्रेसका कार्यकर्ताहरु उक्त होटलबाट तितरबितर भएका थिए । त्यही होटलमा बसेका जमानसिंह गुरुङलाई अन्य कार्यकर्ताहरुले त्यहाँबाट सुरक्षित भगाएर बचाउन सफल भएका थिए ।

बिपी स्याङ्जा आउँदाको कार्यक्रममा लगभग ८ हजार मानिस जम्मा भएको स्याङ्जाका प्रजातन्त्रवादी नेता तथा त्यस कार्यक्रमका उदघोषक विश्वप्रेम अधिकारी बताउँछन् । जमानसिंह गुरुङ वक्ता थिए । जमानसिंहले बिपीको अगाडि स्याङ्जामा गरेको भाषणले थुप्रै सहभागी मानिसका आँखाबाट आँसु झरेको विश्वप्रेम अधिकारी बताउँछन् । भन्छन्, ‘जमानसिंहले यस्तो शौम्य, शालीन र भावुक भाषण गर्दा उपस्थित धेरैका आँखा रसाएका थिए । म पनि रोएको थिएँ ।’ गुरुङले त्यो भाषणमा भनेको कुरा उद्घृत गर्दै अधिकारी भन्छन्, ‘मलाई ९५ क्षेत्रमा तपाईंहरुले टिकट दिएर मन्त्री बनाइदिनुभयो । सामान्य परिवारको मान्छेलाई चुनाव जिताइदिनुभयो । २० वर्षसम्म तपाईंहरुले दिएको नासो (बहुदलको निष्ठा) मैले खेर फालेको छैन, जतन गरेर राखेको छु ।’

जमानसिंह गुरुङ राजनीतिका अतिरिक्त उपचारको क्षेत्रमा पनि लोकप्रिय थिए । उनले परम्परागत झारबुटीदेखि लामा तथा धामी काम पनि गरे । जमानसिंह आध्यात्मिक स्वभावका थिए । शाकाहारी उनले सात्विक भोजनमा रुचि राख्थे । मदिरा सेवनमा कहिल्यै रुचि नराखेको उनलाई चिन्नेहरु बताउँछन् । उनी आयुर्वेदको ज्ञाता थिए । रोग र औषधीको बारेमा उनलाई धेरै कुरा थाहा भएको खगेन्द्र रेग्मी बताउँछन् । उनले मृत्युको मुखमा पुगेका थुप्रै मानिसलाई जीवन दिएको गाउँका बुढापाकाहरु बताउँछन् । तर उनै जमानसिंह गुरुङको मृत्यु २०४४ साल साउन २७ गते बुधबार काठमाडौं शिक्षण अस्पताल महाराजगन्जबाट संसारबाट विदा भए ।

तपाईको प्रतिक्रिया