धर्मशिला अनागारिका
अनागारिका धर्मशीला थेरवाद बुद्धधर्ममा ५० वर्षभन्दा बढी समर्पित, बुद्ध धर्मको वक्ता, प्रवक्ता एवं आधिकारिक व्याख्याता हुनुहुन्थ्यो । अग्रणी समाजसेवी, शैक्षिक सामाजिक संघ संस्थाहरू स्थापना गरेर त्यसबेला पोखराले बामे सर्न लागेको विकासमा महवपूर्ण योगदान पुर्याउनुभएकी उहाँ तत्कालीन राजनीतिको बलियो सूत्रधार मानिनु हुन्थ्यो । उहाँ अथक परिश्रमी प्रभावशाली व्यक्तित्व हो । पोखराका उपासक उपासिकाहरू बीच उहाँ ‘गुरू’को नामले नै बढी परिचित हुनुहुन्थ्यो । उहाँको नाम थियो धर्मशीला, अनागारिका धर्मशीला ।
उहाँलाई संयमी दृढ निश्चयी पुरुषोचित गुणले युक्त पारिदिएको थियो । भगवान् बुद्धको ‘अत्त दीपो भव’ (आफैँ आफ्नो प्रदीप बन) भन्ने उपदेशले उहाँलाई सुरुमा नै गहिरो प्रभाव पारेको थियो । उहाँ किशोरावस्थामा नै आफ्नो घरबार छोडेर प्रव्रजित हुनु पुग्नुभयो र तत्पश्चात् अरुहरू झैँ धेरै समय काठमाडौंमा नबसी आफ्नै किसिमले पोखरामा नै बस्नुभयो एक्लै, केवल आफू एक्लै ।
अनागारिका धर्मशीला थेरवाद बुद्धधर्ममा ५० वर्षभन्दा बढी समर्पित, बुद्ध धर्मको वक्ता, प्रवक्ता एवं आधिकारिक व्याख्याता हुनुहुन्थ्यो । अग्रणी समाजसेवी उहाँ पोखराले बामे सर्न लागेको विकासमा महवपूर्ण योगदान पु¥याउनुभएकी उहाँ तत्कालीन राजनीतिको बलियो सूत्रधार मानिनु हुन्थ्यो ।
धर्मशीला गुरुमा विसं १९७४ साल जेठ १७ गते बुधबार पोखराको तेर्सापट्टि निवासी धनबहादुर र धनकुमारी ताम्राकारको कोखबाट जन्मनुभएको थियो । बाल्यावस्थामा उहाँको नाम टेकलक्ष्मी राखिएको थियो । बालिका टेकलक्ष्मी अरुभन्दा चलाख, छिटो बुभ्न सक्ने र आमा बाबुको पनि उत्तिकै प्रिय पात्र भएर हुर्कनुभएको थियो ।
विस १९८५ सालतिर भिक्षु महादान पोखरा आउनुभयो । उहाँले पोखरा ३ को सानो पौवामा बालबालिकालाई अक्षर पढाउने गर्दै बुद्धधर्मका कुरा सिकाएको थाहा पाएर तत्कालीन प्रशासनले उहाँलाई पक्रियो । आइन्दा बुद्धधर्मको त्यसरी प्रचार नगर्नू भन्ने चेतावनी दिएर छोडिदियो । तर, भिक्षु महादानले भने आदर्श छाड्नुभएन । फेरि त्यही पौवामा माटोको सानो बौद्ध चैत्य बनाएर बालबालिकालाई अक्षर चिनाउनुभयो । धर्मशीला गुरुमा पनि त्यहाँ जाने गर्नुहुन्थ्यो र बुद्ध धर्मका कुरा अत्यन्त रुचि लिएर सिक्नुहुन्थ्यो । भर्खरै किशोरावस्थामा पदार्पण गरिरहेकी धर्मशीलाई भिक्षुका कुरा चित्त बुझ्दै गए ।
फलस्वरूप उहाँको सम्पूर्ण जीवन बुद्ध धर्म र संघमा समर्पित भयो । भिक्षु महादानले दिएको धर्मदानको परिणाम स्वरूप नै उहाँको नाम धर्मशीला रहन गएको थियो । केही धर्मोपदेशको अभ्यास गरेपछि उहाँले साँच्चै नै शिर मुडाई अनागारिका बन्ने इच्छा गर्नुभयो । विस १९९१ सालमा १७ वर्षको कलिलो उमेरमा भिक्षु महादानसँग काठमाडौं जान घर छोडेर हिँड्नुभयो ।
धर्मशीला गुरुमाले वर्णाश्रम व्यवस्थाको तीतो अनुभव गर्नुपयो । उहाँले आफूलाई जातिच्यूत गरिएको विरोधमा स्थानीय प्रशासनबाट पतिया लिनुभयो । जातभातबाट पतित् भएका व्यक्तिलाई आफ्नो जातमा फर्काउनका निम्ति धर्माधिकारीको निर्देशन अनुसार सरकारी अंगबाट दिइने पुर्जीलाई पतिया भनिन्थ्यो । त्यो पुर्जी पाएपछि त्यो व्यक्ति पुरानै जातमा फर्किन्थ्यो ।
नेपालमा नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पहिले त्यस्तो चलन थियो । उहाँले त्यो पुर्जी पाएपछि आफ्नो विरोध गर्नेहरू सबैलाई बोलाएर आफ्नै हातले पकाएको भात खान बाध्य गर्नुभयो र जातीय भेदभाव कति कमजोर छ भनेर प्रत्यक्ष देखाइदिनुभयो ।
१९ वर्षको कलिलो उमेरमा उहाँले अभिनिष्क्रमण गर्नुभयो । कुशीनगरमा बुद्ध भगवान्को प्रतिमाको दर्शन गरे पश्चात उहाँले आफ्नो निष्क्रमणको उद्देश्य भिक्षु चन्द्रमणि महास्थविरज्यू समक्ष राखी आफूलाई प्रव्रजित गराइदिन आग्रह गर्नुभयो ।
कुशीनगरबाट पोखरा फर्केर धर्मशीलालाई पटक्कै चैन भएन । रातो दिन कुशीनगरकै सपना–जपना भइरह्यो । दोस्रोपटक फेरि धर्मशीला गुरुमा भिक्षु विशुद्धानन्द र रत्नमुनि तुलाधरका साथ कशीनगर पुग्नुभयो । त्यहाँ भिक्षु चन्द्रमणि महास्थविरज्यले भिक्षु विशुद्धानन्दज्यूको उपस्थितिमा बुटवल निवासी रत्नमुनि तुलाधरको दायकत्वमा १९९६ सालमा उहाँ र उहाँलाई त्यसबेला खोज्न गएकी उहाँकी सहोदर बहिनी यशोमतिलाई विधिवत् प्रव्रजित गरिदिनुभयो । त्यहाँ धर्मशीला गुरुमाले आफ्ना गुरु चन्द्रमणि महास्थविरज्यूबाट बुद्धधर्मको सिद्धान्त, आदर्श र व्यावहारिक ज्ञानगुणका कुरा सिक्नुभयो ।
विहारको स्थापना
भर्खरै अनागारिका भएर पोखरा फर्कंदा धर्मशीला गुरुमाका सामु अनेक समस्या आए । विहार भन्ने त्यसबेला पोखरामा छँदै थिएन । घरैमा बसेर उहाँले बुद्धधर्मको सिद्धान्त, आदर्श सम्बन्धी उपदेश दिनुहुन्थ्यो । उहाँको धर्मोपदेश सुन्न, पञ्चशील, अष्टशील ग्रहण गर्न आउने उपासिकाहरूको संख्या क्रमशः बढ्दै गयो । उहाँ फेरि कुशीनगर फर्केर जाने विचारमा हुनुहुन्थ्यो । तर तेर्सापट्टि निवासी उपासिका धर्मनदी नामक एकजना चेलीले उहाँलाई फर्कन दिनुभएन । धर्मनदीले आफ्नो गुरुमाको लागि आवश्यक पर्ने एउटा बिहार बनाइदिने अठोट गर्नुभयो । उहाँले त्यसका लागि आफ्ना बा–बाजेसँग अनुनय विनय गर्नुभयो ।
फलतः सिद्धिमान र बुद्धिलाल कायस्थले हाल बुद्ध विहार रहेको पोखरा नगरपालिका वडा नम्बर ३ वडा समिति कार्यालय भवनको पछाडि करीब डेढ रोपनी जमिनमा १८ बाई २८ को ढुंगा माटोको दुईतले बिहार विसं १९९८ सालमा बनाइदिनुभयो । त्यो बुद्ध विहार पोखराको पहिलो विहार हो ।
शैक्षिक र राजनीतिक योगदान
बुद्ध विहारमा चहलपहल बढ्दै गयो । धर्मशीला गुरुमामा दायित्व थपिँदै गयो । धार्मिक क्रियाकलापमा मात्र सीमित भएर उहाँलाई साध्य भएन । उहाँ शैक्षिक संस्था स्थापना गर्ने कामको सूत्रधार हुनुपरेको थियो । नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको आग्रहमा उहाँले कास्कीको महिला संघको नेतृत्व पनि गर्नु परेको थियो ।
देशमा प्रजातन्त्र आउनुभन्दा पहिले त्यसरी शैक्षिक, सामाजिक काम गर्नु एक किसिमले राजनीति गर्नु जस्तै थियो र राजनीतिकै आरोपमा उहाँ थुनामा समेत पर्नुभयो । त्यसपछि झन् बुद्ध विहार चेतनशील व्यक्तिहरूको सम्पर्कस्थल भयो र धर्मशीला गुरुमा सबैको केन्द्रविन्दु बन्नुभयो यहाँ मात्र होइन, उहाँले बन्दीपुरमा भएको क्रान्तिमा पनि योगदान गर्नुभएको थियो । धर्मशीला गुरुमाले पोखराको शैक्षिक सामाजिक उत्थानमा अहम् भूमिका निभाउनु भएको थियो । त्यो समयमा पोखरामा विद्यालय खुलाउने पहिलो बैठक बुद्ध विहारमा भएको थियो ।
धर्मशीला गुरुमासहितको बैठकबाट आजको राष्ट्रिय माध्यमिक विद्यालय मिडिल स्कुलको खाका कोरियो । २००६ सालमा स्कुल खुल्यो । पछि कन्या स्कूल खुलाउनका लागि पनि उहाँलाई नै घच्घच्याइयो । श्री ५ रत्नराज्यलक्ष्मी कन्या स्कुलको त उहाँ संस्थापक सचिव भएर २०१४ सालमा काम गर्नुभयो । पोखराको बालमन्दिरको स्थापना र सञ्चालनमा पनि उहाँको महत्वपूर्ण भूमिका थियो । आदर्श पुस्तकालयदेखि पृथ्वीनारायण कलेजको स्थापना, सञ्चालन र संवद्र्धनका लागि पनि चन्दा बटुलेर, यत्रतत्र दौडधूप गरेर थुप्रै योगदान गर्नुभएको थियो ।
बुद्ध जयन्ती मनाउने परम्पराको सुरुआत
बुद्धधर्मका सम्बन्धमा बिल्कुल अनभिज्ञ रहेको त्यसबेलाको पोखरामा, यहाँको जन्मजात बौद्ध भन्नेहरूले समेत आफ्नो मौलिक बाटो पक्रन सकेका थिएनन् । मोहरिया टोल निवासी दिवंगत डिल्लीमान बुद्धाचार्य शाक्य समाजका पहिलो व्यक्ति थिए जसले धर्मशीला गुरुमासँग सम्पर्क राखी विहारमा र उहाँको घरमा बरावर आवतजावत सुरु गर्नुभएको मानिन्छ । पछि थुप्रै मानिसहरू बुद्ध विहारमा आवतजावत गर्ने गरेको बुझिन्छ । धर्मशीला गुरुमाले वैशाख पूर्णिमालाई सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण दिवसको रूपमा भव्यरूपले मनाउन २/३ पटक प्रयास गर्नुभएको थियो । बुद्धको मूर्ति खटमा राखी बजार परिक्रमा गर्नुभयो । तर त्यो क्रमलाई नियमित पारी राख्न कठिन भयो । २०१८ सालमा एकपटक सशक्त प्रयास भयो । राष्ट्रिय माध्यमिक विद्यालय, श्री ५ रत्न राज्यलक्ष्मी कन्या स्कुल, स्थानीय समाजसेवी, साहु महाजनहरू सबैको सहयोगले वैशाख पूर्णिमा विभिन्न कार्यक्रमहरू राखी भव्य रूपले मनाइयो ।
ज्ञानमाला संघको गठन
धर्मशीला गुरुमाले उपासक उपासिकाहरूलाई एकत्रित पारेर संस्थागत काम गर्न प्रेरित गर्ने अभिप्रायले २०२२ सालमा ज्ञानमाला संघको गठन गरिदिनुभयो । ज्ञानमाला भजन नेपाल भाषामा मात्र गाउने गरिएकोमा पोखराको ज्ञानमाला संघले त्यो परम्परा तोडेर नेपाली भाषामा गाउन थाल्यो ।
प्रथम महापरित्राण र बौद्ध सम्मेलन
एकपटक उहाँमा महापरित्राण गर्ने तीव्र इच्छा उत्पन्न भयो । त्यसलाई सम्पन्न गर्न उहाँले अथक परिश्रम गर्नुभयो वातावरण मिलाउने प्रयास गर्नुभयो । तत्कालीन गण्डकी अञ्चलाधीश दानबहादुर शाक्यको अध्यक्षतामा आयोजक समिति गठन भयो र २०२० साल कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म पोखरामा महापरित्राण तथा पहिलो बौद्ध सम्मेलनको भव्य आयोजना गरियो । त्यसबेलासम्म देशमा राष्ट्रिय क्षेत्रीय बौद्ध सम्मेलनको अवधारणा आएको थिएन । त्यति बेला राजा महेन्द्रबाट कारणवशः महापरित्राण र बौद्ध सम्मेलन समारोहमा सरिक हुन असमर्थ भएका कारणले समारोहको सफलताको कामना गरी शुभकामना सन्देश पठाएका थिए । तत्कालीन खाद्य तथा कृषिमन्त्री रवीन्द्रनाथ शर्माले सम्मेलन उद्घाटन गर्नुभएको थियो ।
२०३८ सालमा जापानको राजधानी टोकियोमा विश्वका सबै प्रमुख धर्मावलम्बीहरूले भाग लिएको विश्व शान्ति सम्मेलनमा बुद्ध विहारको तर्फबाट भूतपूर्व उपमन्त्री मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी वसन्तकुमारी गुरुङका साथ धर्मशीला गुरुमा आफै त्यहाँ जानुभएको थियो । त्यहाँ आफ्नो उदार मैत्री भावले गर्दा उहाँले उहाँका नजिक आउने धेरै जापानीहरूको मन जित्नुभएको थियो र थोरै समयमा नै धेरै जापानी मित्र बनाउनु भएको थियो । जापानमा श्रद्धेय गुरु निचिदात्सु फुजी पनि गुरुमा र पोखरेलीबाट प्रभावित हुनुहुन्थ्यो । धर्मशीला गुरुमा २०४२ सालमा बेलायतको ब्याटस पार्कमा निर्मित विश्व शान्ति स्तूपको उद्घाटन समारोहमा पनि मीनबहादुर गुरुङका साथ जानुभएको थियो ।
ध्यान शिविर
बुद्धधर्ममा ध्यानको महत्वलाई मनन गरेर २०४१ सालमा धर्मशीला गुरुमाले पोखरामा एउटा ध्यान शिविरको आयोजना गर्नुभयो । बर्माका भिक्षु ओसीन थोन डोराद्वारा सञ्चालित त्यस ध्यान शिविरमा काठमाण्डौं पोखराका गरेर २५ जना उपासक उपासिकाहरूले भाग लिएका थिए । त्यस ध्यान शिविरले पोखराको बौद्ध समाजलाई ध्यानको केही चिनारी गराइदिएको र केही व्यक्तिहरू त्यस बेलादेखि ध्यान बस्न प्रेरित भएको पनि उल्लेखनीय छ । पोखरामा आयोजित त्यो पहिलो ध्यान शिविर हो ।
उपत्यकाव्यापी बुद्ध पूजाको संयुक्त आयोजना
पोखरामा बौद्ध जात जातिको संख्या बढ्दै गए अनुसार विहार, गोम्बा र चैत्यहरूको संख्या पनि क्रमशः थपिँदै गएको छ । ती सबै गोम्बा, चैत्य र विहारहरूलाई एक सूत्रमा गाँसेर राख्नसके कार्यक्रम नजुध्ने, एक अर्काको बीच मेलमिलाप, सहयोग र समझदारी बढ्ने भएकाले संयुक्त रूपले पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना गर्ने परिकल्पना उहाँले र जापानका भिक्षु मोरियोका सोनीले गर्नुभयो । त्यसलाई साकार रूप दिन धर्मशीला गुरुमाको सभापतित्वमा बुद्ध विहारमा बैठक भयो । त्यस बैठकमा धर्म संघ बुद्ध विहार, मोहरियाटोल, बौद्ध अर्घौ सदन रामघाट, कर्मसिद्ध परम्परा धर्मचक्र द्विपस्य विहार माटेपानी, स्याङ्ग गाधेन छोयखोर्लिङ गोम्बा पृथ्वीचोक, धार्केलिङ गोम्बा छोरेपाटन, ध्ये छ्ये लिङ गोम्बा दीप, भयाङ्ग भ्युप छ्यो लिङ गोम्बा हेम्जा, थकाली समाज, मार्फाली परिवार, ताङवेतानी परिवार र बुद्ध विहार ज्ञानमाला संघका प्रतिनिधिहरू उपस्थित भएर नजिकै आएको २०४१ सालको आषाढ पूर्णिमाको उपलक्ष्यदेखि प्रत्येक वर्ष प्रत्येक विहार गोम्बाले पालैपाले गरेर उपत्यकाव्यापी बुद्ध पूजा आयोजना गर्ने निर्णय गरियो ।
त्यस निर्णय अनुसार पहिलो उपत्यकाव्यापी बुद्ध पूजाको भव्य आयोजना धर्मशीला बुद्ध विहारले गर्यो पोखराका सबै बौद्ध जातजाति र अन्य श्रद्धालु मानिसहरू सम्मिलित भएको एउटा भव्य एवम् विशाल शान्ति पदयात्रा नदीपुरस्थित बुद्ध विहारबाट सुरु भई प्रत्येक गोम्बा विहारको पूजा दर्शन गरी बुद्ध विहारमा नै फर्केर बिसर्जन गरियो । त्यसवेला त्यस शान्ति पदयात्रा आकर्षक बनाउन एवम् सफल पार्नमा जापानका भन्ते मोरियोका सोनीको अथक परिश्रम स्मरणयोग्य छ ।
बुद्धधर्ममा वैशाख पूर्णिमाको जस्तै आषाढ पूर्णिमाको पनि ठूलो महत्व छ । तर, नेपालमा आषाढ पूर्णिमाका दिन यसरी उत्सव गरेर मनाउने चलन छैन । पोखरामा आषाढ पूर्णिमाको महत्व दर्शाएर पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना गर्ने गरिएको छ । त्यसले नयाँ अवधारणा ल्याएको टिप्पणी धेरैले गरेका छन् । यस आयोजनाले एकातिर बुद्ध धर्मको प्रचारमा गति थपिएको छ । अर्कोतिर यसले यहाँका जनजाति आदिवासी बौद्धहरू तथा बिहार र गुम्बाहरू बीचको सम्बन्ध र सम्पर्क अरु गाढा घनिष्ट बनाएको छ । जसले बौद्ध एकतालाई सुदृढ पार्ने काममा ठूलो सघाउ पुर्याएको छ ।
दायक सभा गठन
बुद्ध विहारलाई सुचारु रूपले सञ्चालन गर्दै लैजानका लागि आफ्नै कोष हुनु नितान्त आवश्यक सम्झेर विहारमा एउटा अक्षयकोष खडा गरियो । २०४० सालमा खडा भएको त्यस कोष सञ्चालनका लागि धर्मशीला गुरुमाको संरक्षकत्वमा २०४३ वैशाख ६ गते दायक सभा गठन गरियो । खिलेन्द्रमान बुद्धाचार्यको सभापतित्वमा गठित त्यस दायक सभाको सचिव पुष्करमान बुद्धाचार्य हुनुहुन्थ्यो । दायक सभाले धर्मशीला गुरुमालाई विहार सञ्चालन, सवर्द्धन गर्न तथा अतिथिहरूलाई आतिथ्य प्रदान गर्ने काममा सघाउ पुर्याउने काम गर्दै आएको छ ।
विश्वशान्ति स्तूप निर्माण
बौद्ध गतिविधिहरूको चर्चा गर्दा पोखरा फेवा तालपारिको अनदु थुम्कीमा २०३० सालमा निर्माण भइरहेको विश्वशान्ति स्तूपको कुरा बिर्सन सकिँदैन । एकपटक जापानका श्रद्धेय गुरुज्यू निचिदात्सु फजीसँग काठमाण्डौं निवासी पूर्व सहायक मन्त्री प्रेमबहादुर शाक्य मार्फत धर्मशीला गुरुमाको भेटघाट हुन्छ । संसारभरि विश्वशान्ति स्तूपको निर्माण गर्दै हिँड्नु भएका, आणविक हातहतियारको विरुद्धमा विश्वभर पदयात्रा गर्दै हिँड्नु भएका, शान्तिकामी बयोवृद्ध गुरुज्यूले पोखरामा पनि शान्ति स्तूपको निर्माण भए बुद्धधर्मको विकासमा महत्वपूर्ण योगदान हुने र त्यसमा आफूले पनि सक्दो आर्थिक प्राविधिक सहयोग दिने विचार प्रकट गर्नुभयो । गुरुज्यूको त्यस भनाइले धर्मशीला गुरुमाको मनमा गहिरो छाप पर्यो । फेरि पोखराका लागि त्यो एक ठूलो गौरवको कुरा हुने भएकाले धर्मशीला गुरुमा त्यसमा एकदमै तत्परतासाथ लाग्नुभयो र विभिन्न उपयुक्त ठाउँहरू देखाउनु भयो त्यसरी देखाइएका ठाउँहरू मध्ये अनदु डाँडाको थुम्की सबभन्दा उपयुक्त मानियो ।
त्यो थुम्कीको केही भाग मीनबहादुर गुरुङको थियो । श्रद्धेय गुरुज्यूको सहयोग तथा मीनबहादुर गुरुङको अथक परिश्रमले उहाँको आफ्नै जग्गा अनदु थुम्कीमा विश्वशान्ति स्तूपको निर्माण सुरु भयो । सबभन्दा पहिला त्यहाँ ठूलो एउटा प्रार्थना हल तयार गरियो । पाहुना घर र गुरुका लागि अर्को बिहार गरेर तीनवटा भवनहरू तयार गरिए । त्यस ठाउँमा स्थापना गर्न पाटनमा बनाइएको ढलोटको सिद्धार्थको जन्ममूर्ति ल्याइयो । सार्वजनिक रूपले त्यो जन्ममूर्तिलाई बजार परिक्रमा गरेर फेवाताल पारी लगी नवनिर्मित प्रार्थना हलमा २०३० मार्ग १३ गतेका दिन अनावरण गरि विधिवत् स्थापना गरियो । त्यसले बौद्ध जगतमा ठूलो उत्साह उमंगको लहर ल्यायो । बौद्धहरूका लागि एउटा तीर्थस्थल थपियो । नेपालमा पहिलो शान्ति स्तूप पाएकाले पोखरा हर्षले गद्गद् भयो ।
त्यस किसिमले जताततैबाट प्रशंसा भएको बेलामा ३५ फिट अग्लो शान्ति स्तूपमाथि बज्रपात भयो । शान्ति स्तूपका निर्माता मीनबहादुर गुरुङलाई प्रशासनले विसं २०३१ साल साउन ४ गते सुरक्षा कानुन अन्तर्गत जेलमा राख्यो । थुन्नुको कारण राजनीति हो भन्ने बाहिर हल्ला चलाइयो । फेरी केही पछि राजनीतिमा संलग्न नभएका उहाँका पुत्र कृष्णबहादुर गुरुङलाई पनि अप्रत्याशित रूपले २०३१ कात्तिक २६ गतेका दिनदेखि थुनियो । र ६ महिनाको लागि बेसीशहर लमजुङ जेलमा पठाइयो । शान्ति स्तूप भत्काउने बैठक भयो । भत्काउनुको कारणको खोजी भयो । अनि नगर योजना कार्यान्वयन समितिको स्वीकृति नलिई बनाइएको आरोप जबर्जस्ती लगाइयो । त्यसबेला त्यो ठाउँ नगर योजना क्षेत्रभित्र पनि पर्दैनथ्यो ।
नगर योजनाभित्र नपरेको र नगर योजना लागु हुनुभन्दा पहिले नै निर्माण भई बुद्धमूर्ति समेत स्थापना भएको ठाउँमा नगर योजनाको स्वीकृति नलिएको भन्ने आरोप लगाइयो । जब कि गाउँ पञ्चायत क्षेत्रमा त्यसबेला घर आदि बनाउन कुनै स्वीकृत लिनुपर्ने प्रावधान नै थिएन । प्रशासनले जबर्जस्ती आफ्नो मान्छे लगाएर निर्ममतापूर्वक त्यहाँका तीनैवटा भवनहरू, निर्माण भइरहेको शान्ति स्तूप भत्काइदियो ।
केही महिनापछि २०३१ साल कात्तिक महिनाको ५ गते श्री ५ को सरकारले दिएको १२/१५ फिटसम्म उचाइको शान्ति स्तूप निर्माण गर्ने स्वीकृति पत्र लिएर भिक्षु सुदर्शन र लोकदर्शन बज्राचार्य पोखरा आउनुभयो । तर त्यस बेलासम्म मीनबहादुर गुरुङ जेलमै हुनु भएकाले उहाँको अनुपस्थितिमा, उहाँकै जमिनमा र उहाँको मञ्जुरी बिना शान्ति स्तूप बनाउन उपयुक्त नहुने भएकाले तथा त्यति ठूलो योजनाको साटो सानो स्तूप निर्माण गर्ने काम त्यत्ति उत्साहप्रद नभएकाले त्यो स्वीकृति पत्रलाई स्वीकार गरिएन । लामो समयको संघर्षपछि २०४९ भदौ महिनामा पुनर्निर्माण गर्ने स्वीकृति पाएपछि निर्माण सुचारु भई २०५६ साल कात्तिक १३ गते विश्व शान्ति स्तूप उद्घाटन गरियो ।
अभय उपचार केन्द्र स्थापना
धर्मशीला गुरुमाले जापानीले प्रतिपादन गरको बिरामीलाई उपचार गर्ने एउटा विधि ‘जोरे हो पनि सिक्नु भएको थियो । यो ‘जोरे हो’ विधि बुद्ध धर्ममा आधारित भएको र त्यसबाट सरल र सस्तो किसिमले औषधोपचार हुने देखिएकाले उहाँले बुद्ध विहारमा त्यसको शाखा अभय उपचार केन्द्र’ २०४० सालमा स्थापना गर्नुभएको थियो । त्यो उपचार केन्द्र निकै उपयोगी र लोकप्रिय हुँदै गएको थियो र धैरै बिरामीहरूले उपचार पाइरहेका छन् । त्यस केन्द्र सञ्चालनार्थ एउटा सञ्चालक समिति गठन गरिएको थियो । जसको सभापति हीराभक्त ताम्राकार र सचिवमा गोविन्द ताम्राकार हुनुहुन्छ ।
धर्मोदय सभा
बुद्ध धर्मको प्रचार गर्ने तथा विभिन्न सम्प्रदायहरूका बीच समन्वय कायम राख्ने अभिप्रायले पोखरामा धर्मोदय सभाको एउटा शाखा पनि गठन गरिएको छ । त्यो शाखा खेल्न गुरुमाको अथक परिश्रम रहेको छ । २०४४ कात्तिक २५ गते मुख अष्टमीको दिन सभा गठन भएको थियो । यस शाखाले जेबी पात्रो, निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण, प्रवचन गोष्ठीको आयोजना गर्ने आदि काम गर्दै आएको छ ।
बौद्ध उपासिका संघ
धर्मशीला गुरुमाको अधुरो काम कुरा पूरा गर्ने अभिप्रायले उहाँको शेषपछि केही महिलाहरू अग्रसर हुनु भयो । विहारमा मिति २०४५ साल मंसिर ४ गते हरिबोधनी एकादशी गुरुमाको दोस्रो पुण्य तिथिको दिनमा बौद्ध उपासिका संघ स्थापित गरिएको छ । त्यस संघको सभापति श्रीमती उत्तरकुमारी पालिखे हुनुहुन्थ्यो । संघको गठन पश्चात महिलाहरूको संगठित शक्ति पनि बुद्ध धर्मको प्रचारमा लाग्ने र त्यसबाट विहारको काम कुराहरूमा ठूलो सघाउ पुगेको छ ।
…
समय बिते अनुसार क्यान्सर रोगले ग्रस्त पार्दै लग्यो । राम्ररी हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्नुभयो । उपासक उपासिकाहरू, श्रद्धालुहरू, उहाँका नयाँ पुराना साथीहरू बाहिर जे जस्तो कुरा सुनेर आएका भएपनि उहाँ र उहाँको मनोबल देखेर आश्चर्य चकित हुन्थे । धर्मशीला गुरुमाको उपचार २०४३ साल आश्विन १३ गतेदेखि कात्तिक ८ गतेसम्म जापानको राजधानी टोकियो स्थित दि शुको–काइ इलेक्ट्रोकेमिकल १८ एन्ड क्यान्सर इन्स्टिच्यूटमा गरियो । धर्मशीला गुरुमालाई केही आराम भएको खबर प्राप्त भयो । त्यो खबर सुनेर सम्बन्धितहरू सबै हर्षित भए, आनन्दित भए । तर कुनै पनि आधुनिकतम् औषधि र आधुनिकतम् उपचार विधिले उहाँलाई निको पार्न सकेनन् । उहाँलाई नेपाल फर्काइयो ।
गुरुमाको प्रकृति नराम्ररी बिग्रियो । धर्मशीला गुरुमा सदाका लागि आफ्नो जीवनको पूर्णविराम गरेर, बुद्ध विहारलाई निस्तब्ध र शून्य पारेर, सबै उपासक–उपासिकाहरूलाई यस भवसागरमा छाडेर, जीवन पर्यन्त गरेको सम्पूर्ण कीर्तिहरूलाई अमर पारेर जानुभयो एक्लै, केवल आफू एक्लै जानुभयो । २०४३ साल कात्तिक २६ गते हरिबोधनी एकादशी आफ्नै जन्मबार बुधबारका दिन बौद्ध जगतबाट एक यस्तो तेजिलो दियो निस्तब्ध भयो, जसले बुद्ध विहारको हाताभित्र मात्र होइन, बौद्ध जगतमा मात्र होइन, यहाँको शैक्षिक, सामाजिक, विकास, निर्माण, राजनीति लगायत जीवनका हरेक क्षेत्रमा ज्योति प्रज्वलित पारिराख्नु भएको थियो ।
सबैको हृदय जितेर बस्नुभएका, सबैको स्नेह पाएर रहनु भएका धर्मशीला गुरुमाको असामयिक निधनले यस क्षेत्रका सबै सबैलाई शोकाकुल पारेको थियो । यस्तैमा चिनी गुरुमाले धर्मशीला गुरुमाको शान्तिका लागि, निर्वाणका लागि बुद्ध पूजामा सम्मिलित हुन सबैलाई आग्रह गर्नुभयो । भाव विह्वल मुद्रामा बुद्ध पूजा सम्पन्न भयो ।
गुरुमाको नाममा भएका कार्यहरू
बुद्ध विहार परिवारले उहाँको कीर्तिहरू अक्षुण्ण राख्न तथा उहाँलाई अमर बनाई राख्न विभिन्न निर्णयहरू लिएका थिए । मिति २०४३ चैत १३ गते बुद्धबिहार परिवारको बैठकले उहाँले स्थापना गर्नुभएको विहारको नाम परिवर्तन गरी धर्मशीला बुद्ध विहार राख्ने निर्णय ग¥यो । उहाँका नातेदारहरू, अन्य उपासक उपासिकाहरूले उहाँको मुखाकृति सधैं सबैको स्मरणमा आइरहोस् भनेर विहारको प्रांगणमा उहाँको शालिक स्थापना गरेर अमर बनाउने अर्को प्रयास गरे ।
अनागारिका कर्मशीलाले उहाँको सम्मान र स्मृतिमा उहाँकै नामबाट २०५८ साल कात्तिक ११ गते हरिबोधनी एकादशीकै दिन उहाँको १५औं पुण्य तिथिका दिन धर्मशीला विद्वतवृत्तिको व्यवस्था गरिदिनु भयो । त्यस विद्वतवृत्तिलाई व्यवस्थित गर्न २०५९ कात्तिक १ गते भिक्षु श्रद्धानन्दको संयोजकत्वमा धर्मशीला विद्वत वृत्ति व्यवस्थापन समिति गठन गरिएको छ । यसरी आज धर्मशीला बुद्ध विहारमा धर्मशीला गुरुमा हुनुहुन्न तापनि यताउता जताततै उहाँकै प्रतिछायाँहरू देखिन्छन् । उहाँकै शाश्वत पदचिन्हहरू भेटिएको अनुभूति हुन्छ । उहाँका अमर कीर्तिहरूले केही भनिरहेका आभास हुन्छ । गुरुमाको भौतिक शरीर अब हाम्रो बीच नभए पनि उहाँका ती अमर कीर्तिहरूले यत्रतत्र देखिने उहाँका प्रतिछायाहरूले तथा उहाँका ती शाश्वत पदचिन्हहरूले सदा सर्वदा बौद्ध धर्मको अधिवृद्धि गर्न तथा गराउन सामाजिक रचनात्मक कार्यहरू सम्पादन गर्न गराउन प्रेरित र प्रोत्साहित गरिराखेका छन् ।
समाप्त
तपाईको प्रतिक्रिया