दलित मुक्ति आन्दोलनका संस्थापक

गोविन्दबहादुर नेपाली २०७९ असोज १ गते १३:४६

भगत सर्वजीत विश्वकर्माको जन्म हालको गण्डकी प्रदेश, बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ७ (साविकको मूलपानी गाविसको वडा नम्बर ७, गैरागाउँ) मा विसं १९५० साल चैत ११ गते भएको थियो । उनी सानैदेखि विद्रोही स्वाभावका थिए । उनलाई भगत सर्वजीतका अलावा रगरगे कामीको नामबाट पनि चिनिन्थ्यो । घरको गरिबीका कारण कामको खोजीमा उनी सानै उमेरमा भारतको बनारस पुगे । त्यहाँ उनलाई पढ्न मन लाग्यो र उनले भारतको बनारसवाट संस्कृतमा आचार्य गरे ।

Advertisement

अध्ययनकै क्रममा हिन्दू धर्मग्रन्थका वेद, उपनिषद्, पुराण, स्मृति लगायत ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए । अध्ययन सकेपछि उनले आफ्नो नामको अगाडि भगत र पछाडि वृन्ची लेख्न सुरु गरेका थिए । अध्ययनले उनलाई यति खार्‍यो कि धार्मिक ग्रन्थमा कतै पनि उचनिच, ठूलो सानो नभएको र दलित समुदायलाई जातीय भेदभाव र छुवाछुत गरेर अपमानित गर्न नमिल्ने भन्दै तार्किक बहसमा उत्रन थाले । नेपालको दलित आन्दोलनको इतिहासमा जातीय विभेद तथा छुवाछुतका विरुद्धमा (त्यो पनि तत्कालीन कठिन अवस्था र राणा शासनकालमा समाजमा रहेको थिचोमिचो, जात व्यवस्था र छुवाछुतजस्ता कुरीतिविरुद्ध डटेर विरोध गर्नु सानो कुरा थिएन) बहसमा उत्रने र उत्रने सक्ने पहिलो निडर, तार्किक र बौद्धिक नेपाली दलित नेताका रुपमा उनले आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

राणा शासनकै बेला जातीय विभेद तथा छुवाछुतका विरुद्धमा बहसमा उत्रने पहिलो निडर र बौद्धिक नेपाली दलित नेता हुन् भगत सर्वजीत विश्वकर्मा

भारबाट अध्ययन गरी फर्केपछि भगत सर्वजीत विश्वकर्माले समाजमा जागरण अभियान सञ्चालन गर्न थाले । भगत सर्वजीतले आफ्नो छोराको न्वारन वैदिक विधिअनुसार गरे । छोराको न्वारनको पण्डित आफैं बने । आँगनमा जग्गिया बनाइयो । वैदिक न्वारन गरेर भगत सर्वजीतले पहिलोपटक शंख फुके । त्यतिबेला दलितको घरमा शंखको धुन सुन्दा गैरदलितलाई सह्य भएन । उनीहरू उर्लिएर सर्वजीतको घर पुगे । दलित भएर शंख बजाउने ? हाम्रो मानहानि गर्ने ? भन्दै छोराको न्वारन गर्न बनाइएका जग्गिया भत्काइयो र तोडफोड गरियो । उक्त घटनापश्चात आन्दोलन अझ चर्कियो ।

आन्दोलनकै क्रममा भगत सर्वजीतले कामीहरुले आरनको टुँडो भाँच्ने, दमैहरुले कपडा सिलाउने कल बन्द गर्ने तथा सार्कीहरुको जुत्ता सिलाउने छालाको काम बन्द गर्ने जस्ता पेसा बहिष्कार र आम हड्ताल घोषणा गरेर समाजमा नयाँ जागरण सुरु गरेका थिए । ‘हामीले गरेको कामले तिमीलाई सजिलो हुने, हामीलाई तिमीले पल्लो छेउ बार्ने ?’ भन्दै ‘कामीले कमाउँदै नकमाउने, दमैले सिउँदै नसिउने, सार्कीले जुत्ता लाउनै नदिने’ र गैरदलित समुदायलाई झुक्न बाध्य पार्ने र समाजमा जागरण फैलाउनु आन्दोलनको मूल उद्देश्य थियो । आन्दोलनको प्रतिकारमा गैरदलित समुदाय पनि उत्रिरहे, प्रहरी प्रशासन पनि आन्दोलनलाई दमन गर्न लागिरह्यो, तर आन्दोलन रोकिएन । आन्दोलनको बाछिटा छिमेकी जिल्लामा समेत पुग्यो ।

Advertisement

पर्वत, म्याग्दीका दलित समुदाय पनि जागरुक बने । बागलुङको भालुमारे भन्ने ठाउँमा रहेको एउटा ठूलो चौरमा बागलुङ, पर्वत र म्याग्दीका सचेत दलित समुदायका व्यक्तिहरु जम्मा भए । सचेत, शिक्षित र संगठित शक्तिको माध्यमबाट मात्र दलित मुक्ति आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षमा रहेका उनले सोही भेलाबाट विसं १९९७ सालमा ‘विश्व सर्वजन संंघ’ नामक संस्थाको घोषणा गरे । जुन संगठन नेपालको दलित मुक्ति आन्दोलनको इतिहासमा पहिलो दलित संगठन र उनलाई नेपालको संगठित दलित मुक्ति आन्दोलनको संस्थापक नेता मानिन्छ ।

त्यसबेला दलित समुदायले नयाँ कपडा लगाउन पाउने थिएनन् । कथित उपल्लो जातसँग छोइए छिटो हालिन्थ्यो । बाटो हिँड्दा पनि कथित दलित समुदायका व्यक्ति ५ मिटर टाढैबाट हिँड्नुपथ्र्याे । धार्मिक क्रियाकलाप गर्न रोक थियो । कुनै धार्मिक अनुष्ठानमा कुनै मन्त्र वा ज्ञान सुन्न र प्रसाद खान दिइँदैनथ्यो । धार्मिक र सांस्कृतिक विभेद थियो । आर्थिक तथा शैक्षिक रुपमा उत्पीडित दलित समुदायमाथि दासता थोपरिएको थियो । त्यस्तो बेला उनले आँटका साथ जागरण अभियान चलाए ।
विश्वकर्माले दलित समुदायमाथिको चरम आर्थिक श्रम शोषणका विरुद्धमा आन्दोलनको सञ्चालन गरे ।

त्यतिबेला समाजमा बालीघरे प्रथा व्यापक थियो, जसकारण दलितहरु श्रम शोषणमा पर्थे । दलित समुदायका मान्छेले श्रमको नगद मूल्य पाउँदैनथे । दलितले आफ्नो श्रमको मूल्य बालीको सट्टा नगदमा पाउनुपर्द भन्ने माग राखेर भगत सर्वजीतले आन्दोलनको सुरुवात गरे । त्यतिबेला गाउँको धुवाँखोला पोखरीमा जनै मन्त्रने गरिन्थ्यो । भगत सर्वजीतले आफूलाई पनि जनै मन्त्रन दिनुपर्छ भने । उनलाई मन्त्र पनि आउँथ्यो । स्थानीय पण्डितले उनको कुरा मानेनन् । पण्डितले नमानेपछि सर्वजीतले अहिले विश्वकर्मा माध्यमिक विद्यालय भएको ठाउँभन्दा तलतिर खेतमा पोखरी बनाएर त्यहीँ जनै मन्त्रेका थिए । उनले तत्कालीन श्री ३ सरकारसँग आफूहरूले तीनसुते जनै लगाउन पाउनुपर्छ भनेर माग राखे ।

आखिरमा सरकारले लालमोहर लगाएर माग पूरा गर्न बाध्य भएको थियो । यसरी बागलुङका दलित व्यक्तिले जनै लगाउन सुरू गरे, जुन अहिले पनि जारी छ । तत्कालीन समयमा दलित समुदायका बेहुला–बेहुली डोली चढ्न पाउँदैनथे । सोली बोक्न पाउँदैनथे । भगत सर्वजीतले सञ्चालन गरेको आन्दोलको कारण सबै सराबरी भन्दै पानीको छोइछिटो हाल्न नपाउने व्यवस्था गरेको थियो भने सोली बोक्न नपाउने र डोली चढ्न नपाउने व्यवस्था खारेज गरेको थियो ।

त्यतिबेला बागलुङका दलित समुदायले राणा शासकको उर्दी अनुसार निशुल्क रुपमा जंगलमा कोइला बनाउनुपर्ने र उक्त कोइला बोकेर गुल्मीको टक्सार पु¥याउनुपर्ने थियो । ती कोइला गुल्मीको टक्सारमा भाँडा बनाउन प्रयोग हुन्थ्यो । भगत सर्वजीतले निशुल्क कोइला बनाउन र बोक्न बन्द गरिदिएका थिए । जेल बस्दा वडाहाकिमले भगत सर्वजीतसँग नामुद पण्डितहरु भिडाउँथे । उनीसँग वैदिक बहसमा नामुद पण्डित पनि टिक्दैनथे । दलित समुदायको मुक्ति र मर्यादा सहित आत्मसम्मान हुनुपर्ने, सौली डोली, भातभान्सा सबै सरोबरी हुनुपर्ने, दलित समुदायले पनि जनै धारण गर्न पाउनुपर्ने र शिक्षा पाउनुपर्ने विषयमा उनले धर्ममा भएका सबै व्यवस्थाका फेहरिस्त बताउँदा पण्डितहरु चुप रहन बाध्य हुन्थे ।

बागलुङको ओमप्रसादको चौतारीमा विभिन्न श्लोकसहित पर्चा छापेर बाँड्दै आन्दोलनको सुरुवात गरेका थिए । ‘बटौलीको बजारमा लाह छ कि छैन, दहीको ठेकी सरोबरी थाहा छ कि छैन’ जस्ता गद्यात्मक गीत लेखेर सबै मान्छे एकै हो भन्ने सन्देश समेत जोडदार रुपमा उठाएका थिए ।

विश्वकर्मा प्रावि स्थापना
आन्दोलन र जागरण अभियानकै क्रममा दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको बुझाउन बालबालिकालाई पढाउनुपर्छ भन्ने भगत सर्वजीतलाई लाग्यो । दलित समुदायका छोराछोरीलाई शिक्षित बनाउन उनले आन्दोलनकै कार्यक्रमका रूपमा स्कुल खोल्ने निर्णय लिए । दलित समुदायले नपढ्दासम्म कुनै किसिमको शास्त्रार्थ गर्न सकिँदैन भन्ने कुरा उनले गाउँलेलाई सम्झाए । भारतबाट शिक्षार्जन गरी फर्केका सहयोद्धाहरु हिक्मतसिंह विश्वकर्मा, लक्ष्मीनारायण विश्वकर्मा, मनविर विश्वकर्मा, र रामशरण विश्वकर्माको सहयोगमा गैरागाउँको भालुमारेमा २००७ मा विश्वकर्मा प्रावि स्थापना गरेका थिए ।

दलित समुदायबीच शैक्षिक जागरण बढाउने उद्देश्यले स्थापित गरिएको विद्यालय हाल विश्वकर्मा उच्च माविका रुपमा जिल्लामा उच्च शैक्षिक प्रगति गर्ने विद्यालय हो । विद्यालय परिसरमा भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठान, बागलुङले निर्माण गरेको भगत सर्वजीत विश्वकर्माको सालिक छ ।

कठोर जेल जीवन र यातना
भगत सर्वजीतका क्रान्तिकारी कदमलाई तत्कालीन वर्णवादी समाजले पचाउन सक्ने कुरै भएन । तसर्थ, उनी विरुद्ध उच्चजातीय अहंकारवादी पण्डित, ठूलाबडा भनिनेबाट निरन्तर रुपमा ठूलो षडयन्त्र हुन्थ्यो । उनको घरगोठ, मन्दिर र विद्यालय समेत तोडफोड गरी उनीमाथि सांघातिक आक्रमण गरिन्थ्यो । उनलाई गद्यी ताकेको, व्यवस्था र समाज विरोधी काम गरेको लगायतका आरोप लगाउँदै तत्कालीन सरकारले चरम यातनासहित पटकपटक जेलमा थुनेको थियो । अन्तिमपटक उनलाई पाल्पा जेलमा १७ महिनासम्म ठेड्का ठोकी अति कठोर यातना दिइएको थियो । यातनाका कारण उनका अगाडिका दाँतहरु सबै झरेका थिए ।

इतिहास अध्ययन गर्दा बागलुङबाट उनलाई थुन्न रातारात हिँडाएर पाल्पा गौंडा पठाइएको थियो । सो क्रममा प्रहरीले उनको मुखमा बुट बजाथ्र्यो । पाल्पा पुर्‍याएपछि भगत सर्वजीतलाई ‘तँ को होस् ?’ भन्दै सोधिएको थियो । जवाफमा उनले ‘म भगत सर्वजीत विश्वकर्मा’ हो भनेपछि प्रहरीले ‘तँ कामी होस्’ भनेर मुखमा बुटले हिर्काए । उनको मुखबाट रगत बगेको हुन्थ्यो । उनका हात बाँधिएका हुन्थे । खुट्टामा ठेड्का लगाइएको हुन्थ्यो । तर उनी यातनाबाट विचलित भएनन् । बरु उल्टै ‘कामी भनेर कुन गीता, कुन वेद, कुन उपनिषद्मा छ ?’ भनेर प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिलाई ठाडै चुनौती दिन्थे ।

प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिसँग ‘छुवाछुत कहाँ छ ? सानो जात र ठूलो जात भनेर हिन्दु धर्मको कुन ग्रन्थमा लेखिएको छ ? यसबारे नेपालका पण्डितसँग शास्त्रार्थ गर्न सकिनँ भने म यहीँ आत्महत्या गर्छु’ भन्थे । त्यसपछि तत्कालीन श्री ३ सरकारले भगत सर्वजीतसँग शास्त्रार्थ गर्न काठमाडौंबाट पण्डित पठाएका थिए । शास्त्रार्थका क्रममा ‘मलाई कामी भन्न पाइँदैन । म ‘वृन्ची’ उपाध्याय हुँ । तिमीहरूजस्तै म पनि ब्राह्मण हुँ । हामीले तीनसुते जनै लगाउन पाउनुपर्छ । विश्वकर्मा भनेको विश्वको पूजा गर्ने मान्छे हो । तल्लो जात भनेर कुन पुराणमा लेखेको छ, देखाउनुपर्छ’ भनेपछि भगत सर्वजीतका सामु राणाका पण्डित नाजवाफ भएका थिए । हार खाएर उनलाई जेलमुक्त गरियो । जेलबाट छुटेर उनी बनारस लागे । त्यहाँ उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । बनारसबाटै उनले गाउँमा पर्चा पठाउँथे ।

भगत सर्वजीतका एक छोरा थिए । आन्दोलनलाई अझै सशक्त रुपमा अघि बढाउन उनी छोरा सहित भारतमा निर्वासित भएका थिए । निर्वासनमै रहेको बेला उनको भारतको बनारसमा २०१२ सालमा ६२ वर्षको उमेरमा निधन भएको थियो ।

भगत सर्वजीतप्रति सम्मान
नेकपा (एमाले) का नेता एवं नेपालका दलित मुक्ति आन्दोलनका अग्रज व्यक्तित्व छविलाल विश्वकर्माको पहलमा २०४६ सालमा भगत सर्वजीत प्रतिष्ठानको स्थापना भएको थियो । उनकै नेतृत्व र संरक्षकत्वमा अहिले प्रतिष्ठान क्रियाशील छ । बुटवलमा प्रतिष्ठानको आफ्नै भवन निर्माण भएको छ भने एम्बुलेन्स सेवा सञ्चालनमा छ । बुटवलमा सर्वजीत पार्क बनाइएको छ । भैरहवामा उनको सालिक स्थापना गरिएको छ । बागलुङमा पनि विश्वकर्मा माविको प्रांगणमा भगत सर्वजीतको सालिक स्थापना गरिएको छ ।

मुक्ति समाज नेपालले झापामा उनको अर्धकदको सालिक निर्माण भएको छ । नेकपा एमाले नेतृत्वको सरकारका तत्कालीन सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले हुलाक सेवा विभागबाट भगत सर्वजीतको मुहार चित्रांकित हुलाक टिकटमा टाँचा लगाउने काम गरे । केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्री हुँदा पर्यटन तथा संस्कृति मन्त्री आनन्द पोखरेलले भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कारको स्थापना गरे । सोही सरकारका पालामा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा भगत सर्वजीत शिल्प विकास केन्द्र स्थापना गरी दलित समुदायको परम्परागत पेसाको आधुनिकीकरण गर्न करिब ५० लाखको बजेट विनियोजन भएको थियो । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारले दलित समुदायका परम्परागत पेसाको आधुनिकीकरण र व्यवसायीकरण गर्दै दलित समुदायको आर्थिक समृद्धि गराउने उद्देश्यले भगत सर्वजीत विश्वकर्मा सिप विकास कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो ।
भगत सर्वजीतका अनुयायीहरु पद्मसिंह विश्वकर्मा र ओमबहादुर विश्वकर्माको विशेष पहलमा बागलुङमा पनि भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको स्थापना भई क्रियाशील छ । भगत सर्वजीतका नाममा क्यालेन्डर, पोस्टर तथा विभिन्न योगदान झल्काउने अपिल, लेखहरु तथा स्मारिका प्रकाशित छन् । पछिल्लो समय भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुति, दलित महिला केन्द्रको निर्माण र दिनेश डिसीको निर्देशनमा भगत सर्वजीत विश्वकर्माको जीवनीमा आधारित फिल्म ‘सर्वजीत’ निर्माण हुँदैछ ।
अन्त्यमा
नेपालको दलित मुक्ति आन्दोलनले आज जुन खालका संवैधानिक र कानुनी उपलब्धि हाँसिल गरेको छ, भगत सर्वजीत विश्वकर्माले विजारोपण गरेको आन्दोलन, जागरण र उनले देखेको सपनाको ऐतिहासिक विरासतको जगमा मात्र सम्भव भएको हो । दलित आन्दोलनको अबको कार्यदिशा प्राप्त उपलब्धिलाई नेपाली उत्पीडित दलित समुदायका जनताको जीवनसँग जोड्दै थप उपलब्धि हाँसिल गर्ने र आन्दोलनलाई सारपूर्ण निष्कर्षमा पु¥याउन सकिन्छ ? भन्ने नै हो । भगत सर्वजीतको आन्दोलनप्रति त्याग, समर्पण, निष्ठा, क्रान्तिकारिताले निरन्तर हामीलाई मार्गनिर्देश गरिरहने छ । यस अर्थमा नेपालको संगठित दलित मुक्ति आन्दोलनका संस्थापक, एक निडर र क्रान्तिकारी योद्धा, समग्र मुक्ति आन्दोलनका पथप्रदर्शक, प्रेरणाका स्रोत भगत सर्वजीत विश्वकर्मा उर्फ वृन्चीप्रति उच्च सम्मान अनि कालजयी सलाम छ ।

तपाईको प्रतिक्रिया