मगर आदिकवि

टीकाराम उदासी २०७९ असोज १ गते १४:०२

मगर भाषामा लोकसाहित्यको विपुल भण्डार र एउटा विशिष्ट परम्परा भएपनि लेखन साहित्यको परम्परा भने धेरै लामो देखिँदैन । खासगरी २००७ सालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि मात्र केही मगर युवाहरू आफ्नो भाषा, संस्कृतिको संरक्षण तथा साहित्यको सिर्जनातर्फ अग्रसर भएको देखिन्छन् ।

Advertisement

मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगरले मगर भाषामा गीतिकविताहरू सिर्जना गरेर गाउँगाउँमा गाउँदै हिँडेको इतिहास छ । तर प्रकाशनका अभावमा ती सामग्री त्यत्तिकै थन्किए । प्रकाशनका दृष्टिले भने विराटनगरका साहित्यकार बालकृष्ण (रूपावासी) पोखरेलको नाम सबैभन्दा अगाडि आउँछ । सर्वप्रथम उनले नै मगर भाषामा गीतिकविताको संग्रह कानुङ लाम (२००९) प्रकाशित गरेको भेटिन्छ । यसबाहेक उनले मगर भाषामा अन्य कुनै रचना प्रकाशित गरेको जानकारी प्राप्त छैन ।

जीतबहादुर सिंजाली र रेखबहादुर थापाले मगर कविताको वैचारिक नेतृत्व गरेका छन् । मगर भाषाको कवितायात्रा यी आदिकविकै पदचिह्न पछ्याउँदै बढिरहेको छ ।

Advertisement

यसरी २००७ सालको राजनीतिक परिवर्तनपछि नै मगर भाषामा साहित्य सिर्जना र प्रकाशनको सिलसिला प्रारम्भ भएको स्पष्ट छ । त्यसपछि २०१६/०१७ सालमा मगर भाषाका आदिकविका रूपमा स्थापित दुई प्रतिभा जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको संयुक्त कवितासंग्रह मगर भासाङ ल्हिङ ड टुक्काऔं किताब प्रकाशित भएको पाइन्छ । मगर भाषासाहित्यको प्रकाशन प्रारम्भ भएको पनि सात दशक बढी भइसकेको छ । यस समयावधिमा मगर भाषासाहित्यको सिर्जना क्षेत्र धेरै समृद्ध भएको विदितै छ । यहाँ मगर भाषामा विद्यमान कविता परम्पराको सामान्य उल्लेख गर्दै त्यसमा मगर भाषाका आदिकविहरू जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरले गरेको योगदानका बारेमा केही प्रकाश पार्ने कोसिस गरिएको छ ।

मगर भाषासाहित्यमा सबैभन्दा समृद्ध विधा कविता हो । अन्य विधाका तुलनामा कविताहरू धेरै लेखिएका छन् र कविता कृति प्रकाशनको सूची पनि लामै छ । आदिकवि जीतबहादुरले फुटकर रूपमा मगर भाषाका गीत र कविता लेखेर गाउँदै हिँडेका थिए तर तीनले प्रकाशनको अवसर पाएनन् (उदासी, २०७६-२४)। प्रकाशनका सन्दर्भमा भने सर्वप्रथम विमातृभाषी बालकृष्ण रूपावासी (पोखरेल) को कानुङ लाम (नयाँ बाटो, २००९) मगर भाषाको पहिलो गीति कवितासंग्रह हो ।

Advertisement

त्यसपछि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको मगराँती भाषाङ ल्हिङ ड टुक्काऔ कीटाब (मगराती भाषामा गीत तथा टुक्काको किताब) प्रकाशित भयो । यसको दोस्रो संस्करण २०४८ सालमा कानुङ गुमष्ठाका लागि लोकबहादुर थापा मगरले प्रकाशित गरेका छन् । यी कृति प्रकाशित भएको लामो अन्तरालपछि मात्र जीतबहादुर खपाङ्गीको समालिङ (२०४५) नामक कवितासंग्रह प्रकाशित भएको देखिन्छ । २०४६ सालको परिवर्तनअघि मगर भाषामा निकै सीमित कृतिहरू प्रकाशित भएका छन्, पत्रपत्रिकामा पनि कम रचना मगर भाषामा छापिएका छन् ।

२०४६ पछि भने मगर साहित्यको क्षेत्रमा पनि नवजागरणको युग प्रारम्भ भएको पाइन्छ । त्यसले फुटकर लेखनमा मात्र नभएर पुस्तकाकार कृति प्रकाशनमा पनि विस्तारै तीव्रता पायो । यस अवधिमा प्रकाशित कवितासंग्रहहरूमा २०४८ सालमा शिवलाल थापा मगरको ग्याहोट लेख छान्नी, वैरागी नाता मगरको छीलीकुङ पुरुङ तथा २०४९ सालमा देवी ओमटाकी मगरको कानुङ मगरकुङ ल्हीङ र माहाङ थप्प वली देवीफुङ सास्तर छन् । २०५० सालमा खड्कबहादुर आले मगरको सेन टाहके ?, गौमाया थापा मगरको मगर ढूटो झाम्रे लीङ्को, रुद्रबहादुर हितान मगरको लाङ्घाके आरमीट्नाङ, लोकबहादुर थापा मगर (झुस्या मगर) को रङ्सीचकुङ लीङ प्रकाशित छन् ।

२०५१ सालमा रेखबहादुर थापा मगरको फून्च ठलके तथा २०५३ सालमा सन्तोष बुढा मगरको मोई प्रकाशित भएको पाइन्छ । २०५५ सालमा बमकुमारी बुढा मगरको जीतहार (केही मगर भाषाका कवितासहित), सञ्जोग लाफा मगरको जीब—सीम र रुद्र सन्देश मगरको बीकोलेसा जस्ता कवितासंग्रह पनि प्रकाशित छन् । २०५७ सालमा लोकबहादुर थापा मगरको बूढो ईम तथा २०५८ सालमा उजीर राना मगरको माम्ह्याक्नी प्रकाशित छन् । २०४९ सालमा वैरागी नाता मगरको मोईओ मीराप नामक खण्डकाव्य प्रकाशित भएको छ । यो मगर भाषाको पहिलो खण्डकाव्य हो । यसबाट मगर भाषाको काव्यिक सिर्जना यात्राले फुटकरबाट मझौला स्तरमा प्रवेश गरेको देखिन्छ । यसरी ५०को दशकमा पहिलेभन्दा मगर भाषाका कविता कृतिहरू धेरै प्रकाशित भएका छन् ।

६० दशकमा आएर मगर भाषासाहित्यमा फुटकर कवितासंग्रहको प्रकाशन क्रम अझै बढेको देखिन्छ । २०६१ सालमा वैरागी नाता मगरको लीस, उमेश थापा मगर (लाटो मगर) को ऊमेसो सिर्जनाको नामक मगर भाषाका कवितासंग्रह प्रकाशित भए । २०६२ मा जीवन रोका मगर र तारामान माझिलीको संयुक्त संग्रह गीन्मी ङा ता कोस्याली पनि प्रकाशित भएको थियो । २०६३ सालमा जीतबहादुर सिंजाली मगरका ल्हेस्म राहानाङ, पुनरागमन, गोलभाव र गमन गरी चारवटा संग्रह प्रकाशित भए । मीन थापा मगर मुक्मीको जीहच ङऊ लीस पनि प्रकाशित भएको थियो । २०६४ सालमा मेकबहादुर पुन मगर मेजनको भड्को सच्को, उजीर राना मगरको ए डाजेई डईको, पूर्ण थापा मगर सुगाको ङा मगर, बेगबहादुर आले मगर नाम्खानको मीक्डीयाङ फोर्झोच रीक्मा प्रकाशित भए ।

२०६५ सालमा जीतबहादुर सिंजाली मगरको नयाँ मोड (नेपालीसहित मगर भाषाका केही कविता), यस्तै शिवलाल थापा मगरको सहीडकुङ मानाम, प्रेमप्रकाश मायालुको युङ्ला रो, २०६६ सालमा हरिकला थापा मगर हरिताको मीफुरुङ, भक्तिमाया पुलामी मगर (बियम पुलामी मगर मिकिम) को रोह मोईढुटकी, गणेश पहराईको ओर्गे मी मी याङ्लो र पूर्णबहादुर राना मगरको नाङ सेन राहाले प्रकाशित छन् । २०६७ सालमा बिष्णुकुमार सिङ्जालीको बडाप, २०६८ मा व्योमजी अवतारको च्वाँसिव परी, ईर्धासी झाँक्री मगरको ङा ङाकाष्टला यमर र केबी थापा नाम्जाली भुरुङ मगरको म्हे जस्ता कविता कृतिहरू प्रकाशित भएका देखिन्छन् ।

२०६९ सालमा धीरेन्द्र थापा किसानीको मीगुरके झोर्ले ङा, २०७० सालमा लक्ष्मण घर्ती मगरको रिहित्ला र २०७१ सालमा हरिकला थापा मगर हरिताको खासिङ प्रकाशित छन् । साथै २०७२ सालमा हिरामती राना सिंजालीले सम्पादन गरेको मगर रीकाहारीकुङ रील्हीङको पनि प्रकाशन भएको छ । यसै साल धीरेन्द्र थापा किसानीको आसको सिया टा र मित्रलाल रोम्खानी मगरको जेई जन् इङ्न्या जस्ता कवितासंग्रह प्रकाशित भएका छन् ।

७० को दशकमा पनि मगर भाषाका कवितासंग्रहहरू प्रकाशित भएर पाठकसमक्ष आइरहेका छन् । २०७१ सालमा जनक माकिम मगर मीमीकको नम्खान छ्योट आरीलीङ र २०७४ मा टङ्कबहादुर झाँक्ती मगर (समीप वैरागी)को हुरो युङ प्रकाशित छन् । यस वर्ष काइके भाषामा पहिलो कवितासंग्रह प्रकाशित भएको छ । जगबहादुर बुढा मगरको तिजुरोङ्बा (मगर काइके÷पोइके भाषा) नामक कविता कृतिमा काइके भाषी मगरहरूको भूगोल, संस्कृति र जनजीवनलाई विषय बनाइएको छ । उनले काइके भाषामा फुटकर कथा पनि लेखेका छन् । साथै २०७८ सालमा उनले पहिलोपल्ट काइके भाषाको गीत रचना गरी आफैंले गाएका पनि छन् । (उदासी, २०७८:८८ )

मगर साहित्यमा जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरलाई आदिकविको उपाधि दिइएको छ । खासगरी मगर कविताको प्रारम्भिक अवस्थामा उनीहरूले गरेको ऐतिहासिक योगदानका आधारमा यी दुई कविलाई मगर समुदायले आदिकविका रूपमा स्वीकार गरेको हो । मगर कविताको प्रारम्भिक यात्रामा उनीहरूले गरेको कर्म र त्यसले समग्र मगर साहित्यको उत्थानमा गरेको योगदान अनुकरणीय छ ।

जीतबहादुर सिंजाली मगर
जीतबहादुर सिंजाली मगरको जन्म गुल्मीको सुगुँरेपानी ग्याझामा भएको थियो, भलै उनको पुख्र्यौली घर स्याङ्जामा पर्छ । उनको जन्म विसं १९८८ साल जेठमा भएको हो । सञ्जोग लाफा मगरले उनको जन्म जेठ १८ गते भएको उल्लेख गरेका छन् (लाफा मगर, २०७२-२४) । जीतबहादुर सिंजालीले सर्वप्रथम साथी रेखबहादुर थापा मगरसँग मिलेर मगराँती भासाङ् ल्हिङ ड टुक्काऔ किटाब (विं.२०१६/१७ तिर) प्रकाशित गरे । त्यसपछि उनले मगर भाषाका शुरुऔ किटाब (२०१९ सालतिर) पनि लेखेर प्रकाशित गरे । लामो समय अप्राप्य यी पुस्तकको दोस्रो संस्करण पछि २०४८ सालमा लोकबहादुर थापा मगरको सक्रियतामा निस्केका छन् ।

रेखबहादुरसँग मिलेर प्रकाशित गरेको पुस्तकमा उनका गीति शैलीका कविता छन् । यसभित्र जम्मा २० वटा फुटकर रचना छन् । तीमध्ये केही रेखबहादुरले लेखेका र अधिकांश जीतबहादुर आफैंले लेखेका थिए । उनको दोस्रो पुस्तक भने बालबालिकालाई मगर भाषामा पठनपाठन गराउने उद्देश्यले लेखिएको थियो तर आफ्नो घुमन्ते जीवनशैली र तत्कालीन प्रतिकूल राजनीतिक वातावरणका कारणले उनको इच्छा पूरा हुन सकेन । यो किताब आफूले शिक्षण गरेको रोल्पाको एक विद्यालयमा चाहिँ उनले आफैं पढाएको बताएका थिए (उदासी, २०७६-३६) ।

उनले २०२४ सालदेखि रोल्पा र २०२७ सालदेखि हालको दाङ राजपुर गाउँपालिका—६, खाङ्रा नाकामा स्थायी बसोबास गरेको पाइन्छ । सिञ्जालीको निधन २०७५ पुस ८ गते सडक दुर्घटनामा परेर कपिलवस्तुमा भएको हो । औपचारिक रूपले तत्कालीन दरबार हाइस्कुलबाट १० कक्षा उत्तीर्ण गरी काठमाडौं नेसनल कलेज (हालको शंकरदेव क्याम्पस) बाट अंग्रेजी मूल विषय लिएर आईए उत्तीर्ण गरेर विभिन्न ठाउँमा शिक्षण गर्दै हिँडेका सिंजालीले जीवनको प्रायः पूरै समय सामाजिक सेवामा व्यतीत गरेका थिए ।

तत्कालीन समयमा प्रकाशनको अवसर नपाएका सिंजालीका मगर भाषाका गीतकविताहरू धेरै मगर गाउँबस्तीहरूमा पुगेका थिए । उनले नै सर्वप्रथम मगर भाषाको संरक्षण र विकास, मगर साहित्यको उत्थान तथा मगर समुदायको जागरणका लागि सचेत जमर्को गरेका थिए । लामो समय सिर्जनाको संसारबाट गुमनामजस्ता देखिएका सिंजालीले जीवनको पछिल्लो अवधिमा भने धेरै कृतिहरू प्रकाशित गरेका छन् । उनका ल्हेस्म राहानाङ (२०६३), पुनरागमन (२०६३), गमन (२०६५), गोलभाव (२०६५ नेपाली र मगर भाषाका कविता), बुद्धदर्शन (मगर र नेपाली भाषाका निबन्ध) जस्ता कृतिहरू प्रकाशित छन् । यसैगरी सन्तुलन, नयाँ बाटो, शिक्षा, नयाँ मोड, प्रकाश, सुकुम्बासीजस्ता नेपाली भाषाका लेखरचनाका कृति प्रकाशित भएका देखिन्छन् ।

सिंजालीको ल्हेस्म राहानाङ (२०६३) मगर भाषाको कवितासंग्रह हो । यसभित्र उनका मगर भाषाका ३५ वटा कविता छन् । उनको गमन (२०६५) मगर भाषाको अर्को कवितासंग्रह हो । त्यसैगरी उनको अर्को कृति गोलभावभित्र २५ वटा नेपाली कवितासहित २० वटा मगर भाषाका कविता छन् । उनको नयाँ मोड नामक निबन्धमा पनि केही कविता छन् । उनका केही फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन् तर ती सबैको समग्र खोज र अध्ययन भने हुनसकेको छैन । राप्तीको जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद् (२०३४) ले नियमित रूपमा प्रकाशित गर्दै आइरहेको अन्तध्र्वनि साहित्यिक त्रैमासिक पत्रिकाको २०६६ साउन–असोज अंक राप्तीका भाषा विशेषांकका रूपमा प्रकाशित भएको छ । यसमा सिंजालीका दुईवटा फुटकर मगर भाषा (ढुँट) का कविताका साथै उनीसम्बन्धी सामग्री पनि प्रकाशित भएको छ (अन्तध्र्वनि, २०६६)।

जीतबहादुरका कविताहरूमा वैयक्तिक कुण्ठा र गुनासाभन्दा चेतनायुक्त सामाजिक सरोकार, जनपक्षीय चिन्तन र सामाजिक परिवर्तनका भावहरू समेटिएका छन् । उनका कवितामा सामाजिक असमानता, विभेद तथा अन्यायप्रति तीव्र आक्रोश र विद्रोहका स्वरले स्थान पाएका छन् । साथै उनका कतिपय कवितामा जातीय उत्पीडनका पीडा र शान्ति सन्देशका आवाजहरू पनि व्यक्त भएका छन् । उनको कवितामा प्रगतिशील स्वर र जीवनवादी दृष्टिले उच्च प्राथमिकता पाएको छ ।

रेखबहादुर थापा मगर
रेखबहादुर थापा मगर जीतबहादुर सिंजाली मगरका सहयात्री कवि हुन् । उनलाई पनि मगर भाषासाहित्यको आदिकवि उपाधि दिइएको छ । तनहुँमा जन्मेका थापा पछि बसाईं सरेर नवलपरासी पुगेको थियो । मगरको मृत्यु विसं २०६१ असार २९ गते भएको हो ।

भारतीय सेनामा छँदा उनले तेन्जिङ शेर्पासँग हिमाल आरोहण र स्केटिङसम्बन्धी तालिम लिएका थिए । अवकाशपछि उनीहरु नवलपरासीमै बसे । २०५१ सालमा फून्च—ठलके (जन्मभूमिलाई) नामक मगर भाषाको कवितासंग्रह प्रकाशित गरे । साथै लाफा मासिकको पूर्णाङ्क सातामा उनको कानुङ नेपाल (हाम्रो नेपाल) नामक कवितासंग्रह शीघ्र प्रकाशन गरेरै सूचना आएपनि पाठकले पढ्न पाएनन् । लाफा मासिकमा प्रकाशित उनका २०५० भदौ २८ र असोज ४ गतेका पत्रानुसार उनले भनेका छन् – केही वर्षअघि आदिकवि श्री जीतबहादुर सिंजाली मगरज्यूको मगर भाषाको पहिलो किताबको जन्ममा हामी केही व्यक्तिहरू सहयोगीको रूपमा थियौं (थापा, २०५०- १९) । थापा मगरको यस भनाइबाट पनि उनी जीतबहादुर सिंजालीका सहकर्मी कवि थिए भन्ने पुष्टि हुन आउँछ ।

थापा मगरका कविताहरूमा मूलतः जातीय जागरण, सामाजिक सरोकार र जीवनका आशानिराशाहरू व्यक्त गरिएका छन् । यसका साथै उनका कवितामा शान्तिको सन्देश, जातीय गौरव र समाज सुधारका भावहरूले पनि उत्तिकै स्थान पाएका छन् । उनी मूलतः समाज सुधार र जातीय जागरणलाई प्राथमिकता दिएर कविता लेख्ने कवि हुन् ।

सामाजिक जागरणको पृष्ठभूमिमा मगर भाषासाहित्यको औपचारिक यात्रा प्रारम्भ भएको हो । जीतबहादुर सिंजाली मगर त्यस यात्राका प्रतिभाशाली काव्यस्रष्टा हुन् । रेखबहादुर थापा मगर पनि उनका विश्वासिला सहयात्री हुन् । मगर भाषासाहित्यको पृष्ठभूमि निर्माणमा यी दुई प्रतिभाको योगदान ऐतिहासिक छ । बालकृष्ण रूपावासीको कविताकृतिबाट प्रारम्भ भएको मगर भाषाको कविता प्रकाशन परम्परामा जीतबहादुर सिंजाली र रेखबहादुर थापाको आगमनले नयाँ गति प्रदान गरेको भए तापनि २०४६ साल अघिसम्म तीनवटा मात्र कविता कृति देखिनु चाहिँ चिन्ताको विषय हो ।

यी दुई आदिकविले मगर कविताको क्षेत्रमा ऐतिहासिक योगदान गर्नुका साथै लामो कालखण्डसम्म वैचारिक नेतृत्व पनि गरेका छन् । आजको मगर भाषाको कवितायात्रा मूलतः यी आदिकविकै पदचिह्न पछ्याउँदै अगाडि बढिरहेको छ भन्दा अत्युक्ति हुँदैन ।

तपाईको प्रतिक्रिया