कवाडीखाना बस्तीबाहिर सार्न पोखरा महानगरको अनुरोध

समाधान संवाददाता २०७९ असोज १ गते १५:४३

पोखरा ।
अहिले नेपालभर डेंगुको संक्रमण बढ्दो छ । त्यसबाट कास्की पनि अछुतो रहन सकेको छैन । पछिल्लो तथ्यांक अनुसार कास्कीमा ५३ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार डेंगुको संक्रमण देखिएका केही बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य कार्यालय कास्कीले डेंगुबाट बच्न विभिन्न खाले कार्यक्रमअघि सारेको छ ।

डेंगु नियन्त्रणमा मन्त्रालयदेखि स्थानीय तहसम्म लागिपरेका छन् । संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले तयारीमा लाग्न सबैलाई आग्रह गरेको छ । डेंगु हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ रहेको उल्लेख गर्दै लामखुट्टेको टोकाइबाट जोगिन सरसफाइमा ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको निष्कर्ष निकालेको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको जनाएको हो । साथै, कवाडी संकलनमा आवद्ध व्यवसायीलाई केन्द्रहरु बजार क्षेत्रबाट बाहिर सर्न आग्रहसमेत गरिएको छ । ३५ दिने सूचना जारी गर्दै महानगरले केन्द्रलाई मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न आग्रह गरेको हो ।

Advertisement

‘महानगरपालिकाको मुख्य आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रबाट यो रोग फैलन ठूलो मद्दत पुगिरहेको साथै विभिन्न महामारी फैलिनुमा अव्यवस्थित कवाडी संकलन केन्द्र मुख्य कारकका रुपमा रहेको पाइएकाले मुख्य आवास क्षेत्रको कम्तीमा ५ सय मिटर बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय सञ्चालकहरुलाई हार्दिक अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

कवाडी व्यवसायीसँग भएका सम्झौता संशोधन गर्न घर÷जग्गाधनीलाई समेत महानगरले आग्रह गरेको छ । ‘घर÷जग्गा धनीलाई पनि आफ्नो घर जग्गामा सञ्चालन भएका कवाडी व्यवसायीलाई त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्न सम्झौता अवधि जतिसुकै भएको भएता पनि सोही अनुसार सम्झौता संशोधन गर्न आग्रह छ,’ महानगरको सूचनामा उल्लेख छ ।

Advertisement

३५ दिनभित्र मुख्य आवास क्षेत्रबाट व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुन अनुसार कारवाही हुनेसमेत महानगरपालिकाले जनाएको छ । कवाडी संकलन केन्द्र, गोदामहरु तथा आफ्नो घर व्यवसाय वरपर क्षेत्रका पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम तथा टिनका भाँडा, टायर, गमला लगायतका पानी जम्ने स्थानलाई नष्ट गर्ने कार्यमा लाग्न सबैलाई महानगरले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छ । प्रदेशका १० वटा जिल्लामा बिहीबारसम्म ३ सय हाराहारीमा डेंगु संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठले जानकारी दिए । मन्त्रालय डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमअघि सारिएको प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा खड्काका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा डेंगु संक्रमण हुनेको संख्या बढ्दो छ । डेंगु संक्रमणका कारण गोरखामा २ जनाको मृत्यु भएको छ । पालुटार नगरपालिकाकी २७ वर्षीय महिला र गोरखा नगरपालिकाकी ७ वर्षीया बालिकाको डेंगु संक्रमणबाट मृत्यु भएको प्रमुख डा खड्काले बताए । ‘उनीहरु बिरामी भएपछि गोरखा अस्पताल भर्ना भएका थिए, गत हप्ता डेंगु देखा परेको थियो । थप उपचारका लागि काठमाडौं रिफर गरेका थियौँ । त्यहाँ उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो,’ उनले भने । गोरखामा हालसम्म ५८ जना डेंगुका बिरामी भेटिएका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै डेंगुका बिरामी तनहुँमा फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा ८८ जना डेंगुको बिरामी फेला परेका हु । ‘हालसम्म ८८ जना डेंगुका बिरामी फेला परेका छन्, केही निको भएर डिस्चार्ज भएका छन्, केही उपचारका क्रममा अस्पतालनमा छन्, डेंगुबाट बच्न जनचेतना जगाउने कार्यक्रमअघि बढाएका छौँ,’ स्वास्थ्य कार्यालय तनहुँका शंकर अधिकारीले भने ।

तपाईको प्रतिक्रिया