म्याग्दीका नक्षत्र शेरबहादुर

अजयमिलन श्रेष्ठ २०७९ असोज १ गते १७:३१

नाम मात्रै होइन । काम पनि शेरजस्तो थियो, शेरबहादुर शेरचनको । म्याग्दीको विकासमा शेरबहादुरले थालेका पहलकदमीको तारिफ गरेरै सकिन्न । योबारे आलेख सुरु गर्नुअघि नै पंक्तिकार प्रष्टै छ । नांगो आँखाबाट हेर्दा पनि शेरबहादुरले सुरुआत गरेका कामका फेहरिस्त हालसम्म अविछिन्न चलि रहको छ । शेरबहादुरले हालेको विकासे जगले म्याग्दीको खम्बा हालसम्म अडिइरहेको छ ।

आठ वर्षको उमेरमा पिताको साथ गुमाएका शेरबहादुरका जीवनगाथा त्यसै तारिफ योग्य भएको होइन । जीवनका अति कष्टकर समय पार गर्दै निभाएको सामाजिक भूमिका चानेचुने छैन ।

१९७१ असोज २० गते साविक देवीस्थान गाउँ विकास समिति २, पन्थोक (हाल मालिका गाउँपालिका ५) राज्दाङ, म्याग्दी जन्मे पनि शेरबहादुर राज्दाङको मात्रै छोरा रहेनन् । उनी त सिँगो म्याग्दीकै नक्षत्र बने । बुवा भीमबहादुर र आमा मनसाङमो शेरचनका ६ छोराछोरीमध्ये एक मात्र छोराका रुपमा शेरबहादुर जन्मिए ।

प्रतिकूल परिस्थितिमा पनि उनको पढाइप्रतिको तीव्र चाहना थियो । बाह्र वर्षको उमेरमै बागलुङ गएर त्यहाँको भाषा पाठशालामा अध्ययन गरी साक्षर बने । त्यहाँ जगन्नाथ उपाध्याय र निजका दाइ चन्द्रदत्त उपाध्याय यी दुई भाइले उनलाई शिक्षित बनाए । भाषा पाठशालाको पढाइ यति स्तरीय थियो कि त्यहाँ ‘नेपाली वर्णमाला’ पुस्तकको कोर्स पूरा गरेपछि स्कुलमा सिधै ६ कक्षामा भर्ना हुन मिल्थ्यो । शिक्षाको महत्वलाई राम्ररी बुझेका शेरबहादुरले आफ्ना मितबुवा कृष्णध्वज शेरचनको घरमा बसेर पढेका थिए । उनले प्रारम्भिक ऐन स्रेस्ता र व्यावहारिक लेखनको ज्ञान समेत हासिल गरे ।

म्याग्दीको पश्चिमी भेगको केन्द्रविन्दु मानिने दरबाङ बजार अहिले जुन रुपमा छ, त्यसको आधारशीला निर्माण गर्ने सम्पूर्ण श्रेय २००४ सालअघि नै राजनीतिमा होमिएका शेरबहादुर शेरचनलाई जान्छ ।

थप औपचारिक शिक्षा हासिल गर्न काठमाडौं पुगे । तर, तत्कालीन राणाकालीन एक मात्र दरबार हाइस्कुलमा राणापरिवार र उच्च घरानियाँका सन्तति मात्र पढ्न पाउने । भर्ना हुन नपाएपछि फर्केर आएका थिए । अनौपचारिक शिक्षाका रुपमा आर्जित ज्ञान र शिक्षालाई उनले व्यवहारमा भरपुर उपयोग गरे । आफूमात्रै होइन । अरुलार्ई पनि शिक्षा बाँड्दै पढाइप्रति इच्छुकहरूलाई साक्षर बनाए शेरबहादुरले । उनको हस्तलेखन अत्यन्त आकर्षक थियो भन्छन्, जानकारहरु ।

साविक ओखरबोट गाउँ विकास समिति ८ (हालको मालिका गाउँपालिका ४) ओखरबोट निवासी दिलबहादुर र मनकुमारी तुलाचनका छोरी लालकुमारीसँग १९८२ मा दाम्पत्य जीवनमा बाँधिएका शेरबहादुर दम्पतीबाट कुनै सन्तान जन्मिएनन् । उनले आफ्नै साली सरदेवीसँग २००६ सालमा दोस्रो विवाह गरे । सरदेवीको कोखबाट लगालग छोरा ओमप्रकाश र लक्ष्मीको जन्म भयो ।

बिपीको प्रभावले राजनीतिक यात्रा
शेरबहादुरको राजनीतिक थालनी २००४ देखि नै भएको हो । बिपीसँग भारतमा भएको भेटले निकै प्रभावित शेरबहादुर अन्तत : नेपाली कांग्रेसमा आबद्ध भए । नेपाली राजनीतिमा सक्रिय रुपमा लागे शेरबहादुर । बागलुङका ओमप्रसाद थकालीसँग उनको व्यापारिक र व्यक्तिगत सम्बन्ध थियो । थकाली कांग्रेसका धौलागिरिकै अग्रणी नेता थिए । त्यसकारण उनीसँगको सम्बन्धले उनको क्रियाशीलता र गतिविधि झनै बढ्यो राजनीतिमा । ओमप्रसाद थकालीले आफूले पाउने पार्टीका हरेक सूचना उनलाई भेटघाटमा वा चिठ्ठीमार्फत जानकारी गराउँथे । जुनकुनै ठाउँमा गरिने पार्टीको सभा, सम्मेलन, भेला वा बैठकहरूमा शेरबहादुर शेरचनले उत्सुकतापूर्वक भाग लिन जान्थे ।

पश्चिम म्याग्दीको केन्द्रबिन्दु दरबाङ बजारमा अवस्थित जनप्रिय माध्यमिक विद्यालयको स्थापना एवं विकासमा शेरबहादुर शेरचनको योगदान अतुलनीय छ । २००७ साल फागुन ७ गते प्रजातन्त्रको अभ्यूदय भयो । जहानियाँ राणाशासनको अन्त्यपछि हरेक गाउँठाउँमा विद्यालय स्थापना गर्ने काममा कांग्रेस नेता – कार्यकर्ताहरू जुर्मुराए । शेरबहादुर शेरचनको अगुवाइमा दरबाङ बजार लगायत त्यस भेकका केही गाउँमा विद्यालय सञ्चालन भयो । २००८ पुसमा स्वीकृति लिई दरबाङमा उनले जनप्रिय मिडिल स्कुलको स्थापना गरे । शेरबहादुरको शिक्षामा गरेको यो योगदानले उनलाई श्यामलाल रोका (दिच्याम), थमन पुन (रुन्मा), दिर्घनारायण भट्टचन (रुम), नन्दबहादुर तुलाचन (दरबाङ) आदिले सहयोग पु–याए। भवन निर्माणका लागि आवश्यक यथेष्ट जग्गाको प्रबन्ध गर्नुका साथै वरपरका अन्य गाउँलेहरूको समेत सहयोग र समर्थन जुटाई विद्यालय भवन निर्माण कार्य समेत उनकै अग्रसरताको उपज थियो । उक्त विद्यालयलाई स्तरोन्नति गर्दै २०२४ सालमा माध्यमिक विद्यालय बनाउन र विद्यालयको शैक्षिक उन्नति एवम् भौतिक विकास गर्ने काममा उनको योगदान अतुलनीय र अविस्मरणीय बनेको छ ।

शेरबहादुर शेरचनको मन–मस्तिष्क सधैं जनहितकारी विषयमै केन्द्रित रहन्थ्यो । उनले तत्कालीन अवस्थामा प्रचलित चौपाजे प्रथालाई विकसित स्वरुपमा रुपान्तरित गर्दै धर्मभकारी पद्दतिको प्रचलन आरम्भ गरे । सुुरुआतमा आवश्यक अनाजको कोष आफैंले जम्मा गर्दै उनले आफ्नै घरमा सञ्चित गरेको उक्त धर्मभकारीको सञ्चालन अत्यन्त नमूनायोग्य थियो । अन्न अनाजको संकलन, सञ्चिति र वितरण प्रणाली साह्रै प्रभावकारी लाग्ने उक्त पद्दति अनुरुप सबै घरकुरियाबाट बाली भिœयाउँदा तोकिए अनुसारको अन्न धर्मभकारीमा जम्मा गरिन्थ्यो । नियमानुसार निरुपण वितरण हुन्थ्यो । अनिकाल वा भोकमरीको समयमा त्यसलाई सदुपयोग गर्दा अति उपयोगी हुने, काम गरेर खान नपुग्नेले लाने र आर्जन गरेपछि उसले तिर्ने हुँदा सो काम पनि सामाजिक हितमै केन्द्रित थियो । तर यो अभियानले निरन्तरता पाउन भने सकेन ।

शेरबहादुरका सामाजिक पहल कदमी थुप्रै छन् । त्यसमध्ये २०१२ सालमा दरबाङ बजारमा प्रहरी चौकीको स्थापना गराएका थिए । त्यस भेगको केन्द्र मानिएको दरबाङमा प्रहरी चौकीको स्थापना गराएर जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उनको कार्य अत्यन्त दुरदर्शी सोच थियो । उक्त चौकी भवन निर्माणका लागि उनले निशुल्क रुपमा जग्गा प्रदान गरेका समेत थिए । तर विविध कारणले उक्त जग्गामा भवन बनेन । अन्ततोगत्वा उक्त चौकीको स्तरोन्नति हुँदै हाल इलाका प्रहरी कार्यालयको रुपमा स्थापित छ ।

२०१४ जेठ १० मा विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो । बिपीलाई सभापति चुन्दै उक्त अधिवेशनले आमनिर्वाचन गराउन गरिएको ढिलाइ र आलटालका विरुद्धमा दबाब दिन सत्याग्रह गर्ने निर्णयसमेत ग¥यो । नेपाली कांग्रेसले ‘संविधान सभाको चुनावको तिथि तोकियोस्’ भन्ने प्रमुख माग सहित २०१४ साल मंसिर २२ मा तेस्रो सत्याग्रहका रुपमा सुरु गरेको उक्त ‘भद्र अवज्ञा आन्दोलन’मा म्याग्दीबाट शेरबहादुर शेरचन लगायत कांग्रेस कार्यकर्ता हरिनारायण भट्टचन, डेकबहादुर बानियाँ, चन्द्रशेखर श्रेष्ठ, झलकबहादुर बानियाँ, नन्दबहादुर तुलाचन, नरबहादुर तुलाचन आदिले सहभागिता जनाएका थिए ।

त्यतिबेला चिठ्ठीपत्रको आदानप्रदान नै सञ्चारको प्रभावकारी र उपयोगी माध्यम थियो । उनले व्यक्तिगत रुपमा वितरण प्रणालीको व्यवस्था गरेरै चिठ्ठी पत्र आदानप्रदानको प्रबन्ध मिलाएका थिए । विकासको पूर्वाधारका रुपमा मानिने सञ्चारको महत्वलाई बोध गरेका शेरबहादुर शेरचनले २०१५ सालमा दरबाङ बजारमा हुलाकको स्थापना गरे । हुलाक भवन निर्माणका लागि निशुल्क जग्गा दान गरेका शेरचनले आफ्नै अग्रसरतामा भवन समेत बनाए । उक्त हुलाकको स्थापनाले त्यस भेगका धेरै जनताहरू लाभान्वित भएका थिए । उक्त हुलाक छोटी हुलाक कार्यालयका रुपमा परिणत हुँदै हाल इलाका हुलाक कार्यालयका रुपमा सञ्चालित छ ।

२०१५ सालको निर्वाचनमा शेरबहादुर शेरचनको महत्वपूर्ण भूमिका थियो । १०९ निर्वाचन क्षेत्र तोकिएको तत्कलिन ३५ मध्येको एक बागलुङ जिल्लालाई ३ क्षेत्रमा बाडिएको थियो । बागलुङ दक्षिण– पश्चिम (८६ नं.), बागलुङ उत्तर (८७ नं.) र बागलुङ (८८ नं.)। तत्कालिन यस क्षेत्र (८७ नं.) बाट नेपाली कांग्रेसका तर्फबाट योगेन्द्रमान शेरचन उम्मेदवार बनेका थिए । उनलाई विजयी बनाउन शेरबहादुर शेरचन अहोरात्र खटेका थिए । यद्यपि उनी स्वयं पनि सम्भावित उम्मेदवार थिए । पार्टी टिकट दिएन । तर शिक्षित विद्वान योगेन्द्रमान शेरचनलाई समर्थन गरेर शेरबहादुरले इमान्दारीका साथै त्याग र अनुशासनको राम्रो उदाहरण पेस गरेका थिए ।

८७ नम्बर निर्वाचन क्षेत्र समितिका सभापति समेत रहेका शेरबहादुर शेरचनको गृह मतदान केन्द्र ‘दर्बाङ स्कुल घर’ बुथमा खसेको कुल ८६० मतमध्ये १३ मत बदर भई ८४७ सदर मतमध्ये नेपाली कांग्रेसको रूख चिह्नमा ६९९ मत परेको थियो । उक्त बुथबाट नेपाल राष्ट्रिय गोरखा परिषद्का दीपबहादुर खड्का (झोपडी चिह्न) लाई ७२ मत, स्वतन्त्र उम्मेदवार सुब्बा ललितमान शेरचन (घोडा चिह्न) लाई ४५ मत, संयुक्त प्रजातन्त्र पार्टीका पृथुबम मल्ल (धानको बाला) लाई २२ मत र स्वतन्त्र उम्मेदवार हीराबहादुर खड्का (चरा चिह्न) लाई ९ मत परेको थियो ।

उल्लिखित मत परिणाम अनुसार दर्बाङ मतदान केन्द्रमा नेपाली कांग्रेसलाई अत्यधिक मत पर्नुका साथै समग्रमा त्यस भेकमा कांग्रेसको पक्षमा अधिक मत प्राप्तिले एकातर्फ आफ्नो ठाउँ र वरपर शेरबहादुर शेरचनको प्रभाव राम्रो रहेको प्रमाणित हुन्छ । आफूले टिकट नपाउँदा पनि पार्टीप्रतिको निष्ठा र पार्टीका उम्मेदवारलाई मत दिलाउन देखाएको तत्परता समेत शेरबहादुरसँग रहेको पुष्टि हुन्छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा बिपी कोइराला र गिरिजाप्रसाद कोइराला दरबाङसम्म जानु र उनकै घरमा बस्नुलाई एउटा ऐतिहासिक, महत्वपूर्ण र अविस्मरणीय घटनाका रुपमा लिने गरिन्छ । २०१५ सालको निर्वाचनमा तत्कालीन ८७ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका योगेन्द्रमान शेरचनलाई विजयी गराउन शेरबहादुर शेरचनको महत्वपूर्ण भूमिका थियो । विजयी सांसद शेरचन २०१६ जेठ १३ गते गठित मन्त्री मण्डलमा ग्राम विकास उपमन्त्री बनेका थिए ।

नेपाल ७५ जिल्लामा विभाजन हुनु अघि ३५ जिल्ला थियो । वीर शमशेरकै पाला (विस १९५२) देखि गरिएको प्रशासनिक विभाजन अन्तर्गत विभाजन अन्तर्गत पहाडतर्फका तहसिलहरूमा तहसिलहरूमा तहसिलहरूमा बागलुङ जिल्ला कायम थियो । त्यतिबेला बाइसे चौबीसे कालका गलकोट र पर्वत राज्यले चर्चेको भूभाग मिलाएर बागलुङ जिल्ला बनाइएको थियो । नेपाली कांग्रेसको दुइतिहाइ बहुमतीय सरकारको गठन पछि शेरबहादुर शेरचन बागलुङ जिल्लाको जिल्ला विकास अधिकारी (डिस्ट्रिक डेभ्लपमेन्ट अफिसर) मा नियुक्त गरिएका थिए ।

२०१७ पुस १ गतेको घटना लगत्तै तत्कालीन बागलुङ जिल्ला विकास अधिकारी रहेका शेरबहादुर शेरचनलाई पनि नजरबन्दी बनाइयो । उनलाई तत्कालीन सुरक्षा कानुन अन्तर्गत बागलुङ कारागारमा कैद गरियो ।

जनहितकारी कार्यको थालनी र सञ्चालन नै शेरबहादुर शेरचनको एकमात्र ध्येय र अभिष्ट रहन्थ्यो । बाटोघाटोको असहज परिस्थितिले त्यस भेगका जनताको जीवनस्तर कष्टकर थियो । अत्यावश्यकीय वस्तुहरूको सहज आपूर्तिका लागि उनले एउटा सहकारी संस्थाको स्थापना गरे । ‘कल्याणकारी बहुमुखी सहकारी संस्था’ नामाकरण गरिएको उक्त संस्थाले दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गथ्यो । जनतालाई सुपथ मूल्यमा सामग्री वितरण नमूनीय र उदाहरणीय काम थियो ।

दरबाङ भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने चिन्तन मननका साथ शेरचनले दरबाङमा २०१९ मा सोल्जर बोर्ड डिस्पेन्सरीको स्थापना गराए । उनको सक्रियतामा भूपू सैनिकहरूलाई संगठित गराएर स्थापित उक्त डिस्पेन्सरीलाई भारत सरकारको सहयोग रहेको थियो । डिस्पेन्सरीमा कार्यरत जनशक्तिका रुपमा एक जना कम्पाउन्डर र एक जना पियनको दरबन्दी कायम गरी सोको तलब समेत सोल्जर बोर्डबाट नै निकासा भई आउने गथ्र्यो ।

यसरी स्वास्थ्य सेवा प्रदायकको आधारशिला बनेको सोही संस्था रुपान्तरण हुदै दरबाङ हेल्थ पोष्टका रूपमा स्थापित भएको हो । २०४६ को राजनीतिक परिवर्तनपछि गठित नेपाली कांग्रेसको बहुमतीय सरकारको स्वास्थ्य नीति बमोजिम तत्कालीन हरेक गाउँ विकास समितिमा स्वास्थ्य उपचौकी र तत्कालीन हरेक निर्वाचन क्षेत्रहरूमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा रुपान्तरित भई सञ्चालित सो स्वास्थ्य संस्थाले त्यस भेगका जनतालाई सेवा पु¥याउँदै आएको छ ।

२०२१ सालमा प्रकाश मिडिल स्कुललाई हाई स्कूलका रुपमा स्तरोन्नति गरिएपछि उक्त विद्यालयको सञ्चालनका लागि २०२२ कात्तिक ५ गते गठित सञ्चालक समितिमा शेरबहादुर शेरचन सदस्य थिए । तत्कालीन जिल्ला पञ्चायत सभापति भीमप्रसाद गौचन सभापति र नरबहादुर श्रेष्ठ सेक्रेटरी रहेर गठित उक्त सञ्चालक समितिमा उनी लगायत दीर्घनारायण भट्टचन (रुम), बिलबहादुर कार्की (घतान) र तत्कालिन प्रधानाध्यापक प्रयागमान श्रेष्ठ थिए । यसैबीच जिल्ला पञ्चायतको निर्वाचन भई जिल्ला पञ्चायत सभापतिमा भेषनाथ शर्मा निर्वाचित भएपछि उनी पनि समितिमा समाहित गरिए । यसरी जिल्लाका अग्रणी शिक्षाप्रेमी समाजसेवी व्यक्तित्वहरूलाई समेटेर गठन गरिएको सदरमुकाममा सञ्चालित जिल्लाकै पहिलो हाइस्कुलको सञ्चालक समितिमा रहेर समेत उनले योगदान पु¥याएका थिए ।

शेरबहादुर शेरचन म्याग्दी जिल्लामा नेपाली कांग्रेसका अग्रणी नेता हुन् । तत्कालीन राजा महेन्द्रले ०१७ पुसमा दलविहीन पञ्चायती व्यवस्थाको स्थापना गरी दलहरू माथि प्रतिबन्ध लगाएपछि कांग्रेसको संगठन छिन्नभिन्न हुन पुग्यो ।

यस्तो प्रतिकूल परिस्थितिमा कांग्रेस कार्यकर्ता शेरबहादुर शेरचन लगायत यस जिल्लाका सात जनाले भित्री तवरले समिति गठन गरी पार्टीलाई अत्यन्त गोप्य रुपमा सञ्चालन गरेका थिए । तत्कालीन प्रतिबन्धित अवस्थामा योगदान पु¥याउनेमा शेरबहादुर शेरचन, हरिनारायण भट्टचन, डेकबहादुर बानियाँ, दीर्घनारायण भट्टचन, झकबहादुर शेरचन, लक्ष्मीप्रसाद श्रेष्ठ र चन्द्रशेखर श्रेष्ठ थिए । यसरी असहज स्थितिको सामना गर्दै जोखिम मोलेर पार्टी संगठनलाई जीवन्त राख्ने काम गरेको अभिलेखनकासाथ शेरचन लगायत उलमलिखित सात जनालाई म्याग्दी कांग्रेसले आफ्नो इतिहासमा अग्रणी नेताका रुपमा सम्मान गरेको छ ।

शेरचनले २०१८ देखि ०३५ सालसम्म २ पटकसम्म दरबाङ गाउँ पञ्चायतको प्रधानपञ्च भई काम गरेका थिए । म्याग्दी पञ्चायतको सदस्य समेत बनेका उनी नेपाल किसान संगठनको जिल्ला सभापति र सोही संगठनको केन्द्रीय सदस्य समेत भएका थिए । उनको कार्यकालमा दरबाङमा सम्पन्न भ्यासेक्टोमी क्याम्प उदाहरणीय र अविस्मरणीय छ, अमेरिकी प्रोजेक्ट अन्तर्गत गरिएको सो क्याम्प त्यस भेकमा गरिएको परिवार नियोजन सम्बन्धी पहिलो काम थियो ।

२०३६ सालको जनमतसंग्रहमा उनी बहुदलको पक्षमा सक्रिय रहे । अस्वस्थताको बाबजुद् उनी बहुदलको प्रचारप्रसारमा अहोरात्र खटे । अशक्त भई हिड्न नसक्ने अवस्थामा पनि उनी घोडा चढेर विभिन्न गाउँठाउँमा गएका थिए । बहुदलको समर्थनमा जनमत जुटाउन त्यस भेकमा कार्यकर्ता परिचालन गर्ने काममा उनले कुनै कसर बाँकी राखेनन् । म्याग्दीको पश्चिमी भेगमा उनले निर्माण गरेको प्रजातान्त्रिक विचारधाराको प्रभाव एवं चुनावी अभियानमा बहुदलको पक्षमा माहोल निर्माण गरिएकै कारण जनमतसंग्रहमा त्यस भेगका जनताले बहुदलको पक्षमा मतदान गरेका थिए । जिल्लामै ११०४९ मत प्राप्त गरेको बहुदलको यस भेग (हालको मालिका र धवलागिरि गाउँपालिका)कै मत ५३२७ थियो त्यसबखत ।

तत्कालीन ३२ गाउँ पञ्चायत मध्ये बहुदलको बढी मत आएको ९ वटामा उत्तरी भेगका दोवा र भुरुङ तातोपानी बाहेक बाँकी सबै यही भेगका थिए । अर्थात्, दरबाङ लगायत रुम (निस्कोट समेत), ओखरबोट, देविस्थान, ताकम, मुना (मुदी, लुलाङ र गुर्जा समेत) र मराङ (विम समेत) यी ७ वटै तत्कालिन गाउँ पञ्चायत, हालका १२ वटा वडाहरूमा बहुदलको मत बढी थिए । यसरी मल्कबाङ बाहेकका हालका यी दुई गाउँपालिका अन्तर्गतका सबै गाउँहरूमा बहुदलको पक्षमा बढी मत आएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कि, शेरबहादुर शेरचन लगायत अग्रणी नेताको कुशल नेतृत्वदायी भूमिकाको परिणामस्वरूप यस भेगका जनताले आफूलाई बहुदलवादीमा समाहित गरेका थिए ।

म्याग्दीको माटोमा जन्मिएर यति धेरै गुन लगाउने गुनी नेता शेरबहादुर २०४४ असार २ गते दरबाङस्थित आफ्नै निवासमा अस्ताए । दमका बिरामी शेरबहादुरलाई स्वासप्रस्वास सम्बन्धी समस्याबाट ग्रस्त थिए । नियमित रूपमा औषधी सेवन गर्थे । काठमाडौंको कालीमाटीस्थित क्षयरोग अस्पतालमा बेला बेलामा उपचार गराउने उनको निधन दम रोगकै कारणले गर्दा भएको थियो ।

शेरबहादुर शेरचनले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि उज्यालो दरबाङको परिकल्पनाको दियोलाई निभ्न दिएनन् । यद्यपि दरबाङमा उच्च शिक्षालयको स्थापना र दरबाङसम्म मोटरबाटो निर्माणको सपनाले उनको जीवनकालमै पूर्णता पाउन सकेनन् । उनकै परिकल्पनाको गोरेटोमार्फत दरबाङका साथै त्यस भेगले नै वर्तमानमा ती सुविधाहरू उपयोग गर्न पाइरहेका छन् ।

कल्पनाशील र दूरदर्शी शेरबहादुर सदैव केही न केही रचनात्मक काममा लागिरहने स्वभाव थियो । बेनी–दरबाङ बाटोको परिकल्पनाकार तत्कालिन जिल्ला पञ्चायत सभापति डेकबहादुर बानियाँ र शेरबहादुर शेरचन नै थिए । बानियाँ जिल्ला पञ्चायत सभापति भएपछि सदरमुकाम बेनी बजारदेखि दरबाङ जाने घोडेटो बाटो निर्माण कार्यको थालनी गरिएको थियो । दरबाङदेखि बेनीतर्फ मोटरबाटोको परिकल्पना गर्दै शेरबहादुर शेरचनले स्थानीय जनशक्ति र श्रम परिचालन गरी चौडा घोडेटो बाटो बनाए । यही बाटोलाई हालको मोटर बाटोको पृष्ठभूमिका रूपमा लिन सकिन्छ ।

म्याग्दीको पश्चिमी भेगको केन्द्रविन्दु मानिने दरबाङ बजार अहिले जुन रुपमा छ, त्यसको आधारशीला निर्माण गर्ने सम्पूर्ण श्रेय शेरबहादुर शेरचनलाई नै जान्छ । यहाँको बाटो, चौतारा, बजार, पाखा पखेराले अझैं पनि शेरबहादुरलाई सम्झिइरहन्छ ।

तपाईको प्रतिक्रिया