लोकजीवनका अभियन्ता अलि मियाँ

समाधान संवाददाता २०७९ असोज १ गते १७:४७

नेपाली भाषा साहित्यमा गण्डकीबाट प्रतिनिधित्व गर्ने आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई त्रिमूर्ति भनेर सम्बोधन गरिन्छ । यस्तै, नेपाली लोकसंस्कृति, लोकगीत, लोकसंगीत र प्रचुर गायनको क्षेत्रमा गण्डकीको माटोले अर्को पाटोमा लोककवि अलि मियाँ, जनकविकेशरी धर्मराज थापा र लोकगायक झलकमान गन्धर्वलाई जन्माएको छ ।

त्यसैले, प्रतिभा जन्मनु सहज र सारको कुरा होइन किन्तु संयोगको कुरा पनि हो । लोककवि अलि मियाँ यस क्षेत्रका अभियन्ता नै हुन् । यस दृष्टान्तमा एक संवेदनशील लोककवि, लोकगायक अलि मियाँसित बहुमुखी व्यवधानलाई पाचन गरेर उच्चस्तर जीवन बाँच्ने एक जन्मजात प्रतिभा थियो । उनले सीमित भूगोलबाट असीम अनन्त छलाङ लगाएको दिन उनको जीवनयात्राको प्रस्थान दिवस आरम्भ भएको छ –यो वनमा छैन कि चरी चरी भए कराउँथ्यो केही गरी ।

नेपाली लोकभाकालाई प्राण सम्झने अलि मियाँको ८४औं शुभजन्मोत्सवको अवसरमा तमाम पोखरेलीले २०५९ फागुनमा भव्यरूपमा रथारोहण शोभायात्रा गरी लोककविको योगदानप्रति सम्मान प्रकट गरेका थिए । आफ्नै जन्म र कर्मथलो पोखरामा जीवन–मृत्यु चक्रको परिज्ञानको विकल्प पनि २०६३ साउन १८ गते अलि मियाँले सदाका लागि नेपाली मनहरूबाट बिदा लिए । कला र गलाका जन्मजात प्रतिभा अलि मियाँको सम्झनामा उनको सिर्जनाभित्र नेपाली मनहरू जीवन्त छन् ।

Advertisement

प्रकृति र संस्कृति, रमणीय हिमशिखरहरू कास्की पोखरा कुँडहरमा १९७६ फागुनमा अलि मियाँको जन्म एउटा सामान्य मुसलमान परिवारमा भएको थियो । कुँडहरमा जन्मेका अलि मियाँ, १८ महिनाको शिशु बालक छँदा आमा र तीन वर्षको उमेरमा बाबुले टुहुरो बालकलाई छोडेर बिदा लिए । मुसलमान धर्मावलम्बी संस्कृतिमा जन्मेर आमाबाबुको मातृत्व स्नेहबाट पूर्ण उपेक्षित टुहुरो बालक अलि मियाँ आज नेपाली वाङ्मय जगत्का सचेत साधक बन्न पुगे । आमा बाबुको निधनपछि आफ्नै दाजु भाउजूको टर्रो लालनपालनमा हुर्केकाले पनि मातृस्नेहको अभावमा अलि मियाँ दिक्क थिए । यस्तो अवस्थामा हुर्केका अलि मियाँ सानै उमेरदेखि झरना, वनजंगल र चराचुरुंगीको नजिकमा रमाउँदा बढी हर्षित हुन्थे ।

स्थानीय काहुँखोला, लाखुपाटा र ढाँड्बेसी जंगलमा घाँसदाउरा र मेलापात गर्दा १०, १२ वर्षको उमेरदेखि अलि मियाँ अरूले गाएको गीत टपक्कै टिप्थे । गीतको जवाफसमेत फर्काउने गर्थे । वनको काँडालाई तिखार्नु पर्दैन भनेजस्तै घाँसदाउरा र मेलापातबाटै तिखारिएका प्रतिभा अलि मियाँ आफ्ना लागि स्वयं गुरु हुन् । १९९९ सालमा भारतीय सेनामा भर्ती भएर जापानसँगको युद्धमा बर्मा पुगेका अलि मियाँ तीन वर्षको अन्तरालपछि पहिलो छुट्टि मनाउन स्वदेश फर्केका थिए । स्वदेशप्रेमी अलि मियाँमा विदेशीको गुलामी भएर बाँच्नु हुँदैन भन्ने भावना जागृत थियो ।
२००४ सालमा नेपालमा एकतन्त्रीय राणाशासनको अन्त गर्न अधिराज्यका विभिन्न ठाउँबाट छात्र आन्दोलन र मजदुर आन्दोलन प्रारम्भ भइसकेको अवस्था थियो ।

Advertisement

क्रान्तिको सन्देश अशिक्षित समाजमा पु¥याउन सचेत वर्गको खाँचो रहन्छ । तत्काल गीत र कविताको माध्यमद्वारा स्वदेशमा रहेर जहाँनियाँ शासनको विरोध गर्ने मोडमा उभिएका अलि मियाँले गीतिशैलीमा पत्र लेखेर आपूm भारतीय सेनामा नफर्कने खबर पठाएका थिए । राणाशासनको विरोधमा २००५ सालमा उनले प्रधानमन्त्री श्री ३ मोहन शमशेरको दमनकारी रबैयाप्रति लक्षित गर्दै व्यंग्यगीत यसरी गाए– रानी चरी नेपालै वनभरि बोल माया तिम्रै छ मनपरि ।

नेपाली, हिन्दी र उर्दू भाषाका हिमायती आँसुकवि अलि मियाँले जनतामारा शोषकको पक्षमा चोटिलो प्रहार गरेका छन् । उनका गीत र कवितामा समग्र राष्ट्रको आत्मा बोल्छ । यस क्रममा उनले यसो भनेका थिए– रवि पुग्न नसक्नेमा कवि पुग्छ अरे बढेबढे कविहरू कति भोकै मरे । देशका लागि कति वीरले आफ्नो रगत छरे मौका छोपी सामन्तले आफ्नो भुँडी भरे ।

गीत र कविताबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । अलि मियाँले निकै लोकप्रिय स्तरमा गीत, लोकगीत र कविता रचना गरेका छन् । विरक्त वेदनाको प्रभावबाट उनका २००६ सालमा विरक्त लहरी, २००९ सालमा नेपाली मौलिक झ्याउरे गीतसंग्रह, जसलाई महेन्द्र लहरीको नाम दिएका छन् । यस्तै २०१० सालमा लोकगीत संग्रह न्याउलीको पुकार रहेको छ । लोकसंस्कृति र संगीतप्रेमी अलि मियाँले २०१२ सालमा नेपाल भारत सांस्कृतिक केन्द्रको उद्घाटनमा गीत गाएर प्रथम पुरस्कार प्राप्त गरे । २०१३ सालमा पहाडको उद्गारलाई वनारसबाट प्रकाशित गरेका थिए । उनका जन्मभूमिप्रतिको पीडा, सेतीको सुस्केरा, उज्यालो भइसक्यो ।

जगदम्बा प्रकाशनबाट २०५१ मा सम्झनाको दियोजस्ता कृतिहरू लोकगीत तथा कवितासंग्रहका रूपमा प्रकाशित छन् । अलि मियाँको जीवनीपरक कृति पनि प्रकाशित छ, जसभित्र चर्चित नमिता—सुमिता काण्डपश्चात्का फुटकर कवितालाई उनले निराश पोखरा भन्न बढी मन पराएका छन् ।

नेपाली लोकगीत र लोकसंस्कृति साहित्यको पुरानो र नयाँ जीवनसँग सम्बद्ध विधाको रूपमा आदिममानव मात्र होइन । आजको मानिसका सुख र दुःख, रुवाइ र बिलौना तथा हर्ष र विस्मात जातीय परिवारको एउटा अलिखित इतिहास हो । जसरी नङ र मासुबीच जति सम्बन्ध रहन्छ, त्यसरी नै लोकगीत बिना नेपाली समाज पनि पृथक् रहन सक्दैन भन्ने पक्षभाव अलि मियाँको छ ।

जीवनको आरोह अवरोहमा उनले ठाउँ ठाउँमा सुनाएका गीत र कवितालाई लय र संगीतसहित कण्ठस्थ सुनाउन सक्ने अलि मियाँ साहित्य, कला, संगीत र संस्कृतिको विकासमा आजीवन समर्पित रहे । मान–सम्मानबाट टाढै रहेर पनि अलि मियाँले स्थानीय लोकसंस्कृतिको जागरणका निमित्त विशेष गरेर पश्चिमाञ्चल क्षेत्रलाई साधना क्षेत्र बनाउँदै आधा शताब्दीदेखि नेपाली लोकसाहित्य र लोकसंस्कृतिको उत्थान, विकास र संरक्षणको पक्षमा उल्लेखनीय एवं अविच्छिन्न रूपमा योगदान पु¥याए । गला र कलाका धनी अलि मियाँले लोकलय र लोकभाकामा आधारित असंख्य गीत र लोकगीत रचना गरेका छन्, तीमध्ये केही मार्मिक गीतका बोल–
घर त मेरो लथालिंग पाली मात्र छाउँछु
बर्खा खान पर्ने छैन बाली मात्रै लाउँछु ।
रुन्छन् मुसा केही छैन आँटीमा
बित्यो जीवन अँधेरो पाटीमा ।
त्यो मायाले जाऊँ लाहुर भन्थ्यो
दुःख पाउने करिम के मान्थ्यो ।

नेपाली लोकवाङ्मयका धरोहर अलि मियाँले आफ्नो जीवन पीडा र अभावमा बिताए । यी सर्जकले सयौं गीतरचना संकलन गरेका छन् । भकारीका भकारी गीत र कविता वाचन गर्न सक्ने क्षमता उनीसँग थियो । गाउँघर, पाखापखेरा एवं पानीपँधेराका सुखदुःखलाई टपक्क टिपेर शब्दको माला उन्दै रहँदा उनलाई अमर बनाएको हो । अनेकन आरोह, अवरोह पार गरेर पोखरेलीहरूको मनमन्दिर र नसानसामा प्रवेश गरेका अलि मियाँ विशेषगरी २०४७ पछि मात्र राष्ट्रिय चर्चामा देखा परेका हुन् । उनले २०४७–२०६३ बीच आपूmलाई सुन्दर रूपमा देश–विदेशमा परिचित गराउने अवसर प्राप्त गरेका थिए । यसको श्रेय उनी तमाम शुभचिन्तक र आम सञ्चारमाध्यमलाई दिन चाहन्थे ।

जुन अवधिमा उनले धेरै पुरस्कार, मान–सम्मान र पदक प्राप्त गरेका छन् । उनले प्राप्त गरेका दर्जन सम्मानमध्ये विगत ६० वर्षभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसिर्जनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत मदन पुरस्कार गुठीद्वारा २०६० सालको एक लाख राशिको जगदम्बाश्री पुरस्कार लोकप्रिय कवि अलि मियाँलाई सम्मानस्वरूप प्रदान गरिएको छ । यस्तै, लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा नेपाली लोकजीवनलाई अत्यन्त सुझबुझका साथ अधिकतम सफल रूपमा प्रस्तुत गरेबापत लोककवि अलि मियाँलाई ५१ हजार राशिको २०५७ सालको नारायणगोपाल संगीतसम्मान समर्पण गरिएको छ ।

यसैगरी, विगत पाँच दशकदेखि नेपाली लोकसंस्कृतिको क्षेत्रमा अविच्छिन्न सेवा र साधना गर्दै आएबापत नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा ५० हजार राशिको २०४७ सालको इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार प्रदान गरिएको छ । यी तीनवटा सम्मानको साथै उनले स्थानीय स्तरमा दर्जन सम्मान र पुरस्कार प्राप्त गरेका छन् । यस क्षेत्रमा उनको योगदानलाई लिएर स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरूमा दर्जन शोधपत्र लेखिएका छन् । अलि मियाँलाई सञ्चारमाध्यमबाट गुणात्मक प्रचारप्रसारमा ल्याउने कार्यमा रेडियो सञ्चारकर्मी प्रकाश सायमीको योगदान पनि पोखरेली माँझ कम छैन –रातो भाले पूर्वैमा करायो गरिबीको निसापै हरायो ।

नेपाली लोकसाहित्य र लोकसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएका अलि मियाँले सिर्जना र संकलन गरेका मार्मिक र कर्णप्रिय गीतहरू प्रसिद्ध लोकगायक गायिकाहरू हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, ठाकुर सिग्देल, प्रेमराजा महत, दुर्गा रायमाझी र पद्मराज ढकाललगायतले आवाज बुलन्द गरेका छन् । गायिका हरिदेवी कोइराला र लोकगायक प्रेमराजा महतले दुई दशकअघि गाएको अलि मियाँ केन्द्रित चर्चित गीत अझै पनि नेपाली मनमनमा कर्णप्रिय छ– आकाशमा बादल डम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ ।

नेपाली लोक साहित्यका जीवन्त प्रतिभा अलि मियाँको योगदानको सम्मान हेतु भावी सन्ततिलाई लोकसाहित्यसम्बन्धी बोध गराउने उद्देश्यले उनका सुपुत्र कवि हनिफ मियाँको अध्यक्षतामा २०५९ मा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको स्थापना भएको छ । यस प्रतिष्ठानले उनको सम्झनामा दुईवटा पुरस्कारको प्रबन्ध गरेको छ । लोकसाहित्यसँग सम्बन्धित कृतिहरू, लोककवि र लोकसाहित्यमा लागेका व्यक्तिहरूको जीवनीसंग्रहको संरक्षण गर्ने उद्देश्यले पोखरामा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको भवन निर्माण गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष हरिफ मियाँको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमबीच भवनको शिलान्यास भएको हो । करिब १५ लाख रुपैयाँको लागतमा भवनको निर्माणकार्य सम्पन्न भएको छ । पोखराको अलि मियाँ चोक मालेपाटनमा उनको सम्झनामा छ कोठाको पक्की भवनसहित अलि मियाँ लोकवाङ्मय सचिवालयको निर्माण गरिएको छ । जसलाई अलि मियाँ संग्रहालयको नामले चिनिन्छ– अजम्बरी बन्ने बुटी अब आमा चिनें लाहुरे हुने हैन मत बाटो खन्न हिनें ।

जीवनभर लोकसाहित्य, लोकसंस्कृति र लोकगीतको जगेर्ना गर्नमा क्रियाशील अलि मियाँको योगदानको मर्यादा रहोस् भनेर यस प्रतिष्ठानले अलि मियाँ लोक वाङ्मय पुरस्कारको स्थापना गरेको हो । पूर्णतया अलि मियाँको पाटोमा यात्रा गर्ने सर्जक प्रतिभाहरूलाई यो पुरस्कार प्रदान गरिन्छ । प्रति दुई वर्षमा प्रदान गरिने प्रस्तुत पुरस्कार पहिलो पटक २०५९ का लागि उनले जीवित छँदादेखि नै यस क्षेत्रमा धेरै आशा र भरोसा गरेकी चर्चित लोकगायिका हरिदेवी कोइरालालाई अर्पण गरिएको छ ।

जीवनको अन्तिम अवस्थातिर आउँदा उनका सबै गीतको जिम्मा उनले हरिदेवीलाई दिए । नेपाली लोकसंस्कृति र लोकगीतको क्षेत्रमा देखिएका उदीयमान प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अलि मियाँ प्रोत्साहन प्रतिभा पुरस्कारको पनि प्रबन्ध गरिएको छ । त्यसैले भावविभोर बन्दै लोककवि अलि मियाँ पुनः बोल्छन्– कविको कदर मरेमा हुन्छ बाँचेमा खरानी रोएर मुक्त हुँदो हो तिनको एकमुठी परानी ।

नेपाली लोकगायन र लोकसंगीत क्षेत्रका उत्कृष्ट प्रतिभा गन्धर्वहरूले बजाउने सारंगी र गन्धर्व जातिलाई कवि म.वी.वि. शाहले देशको आत्मा भनेका छन् । कवि कलाकार संगीतकारलाई असाध्यै माया गर्ने कवि शाह २०२१–०२२ सालतिर पोखराको फेवातालमा डुंगा चलाउने सिलसिलामा नेपाली लोकगीत लोकसंगीतका महारथिद्वय लोककवि अलि मिया र जनकविकेशरी धर्मराज थापालाई डुंगाको दायाँबायाँ किनारमा राखेर बीचमा बसेर चलाउँदा कवि शाहप्रति संकेत गर्दै मियाँ र थापाले गाएका थिए –सलल बगेको डुंगा मुसुक्क हाँसेको माझी दाइ ।

बाबुको योगदानको बिँडो थाम्ने थोरै छोरामा कविपुत्र कवि हनिफ मियाँ पनि एक हुन् । उनी पनि बाबुकै शैली, भाका र लयमा गीत गाउन सक्छन् । कविता सिर्जना गर्न सक्छन् । सबैलाई मोहित पार्न सक्छन् । उनलाई कला र गला दुवैले साथ दिएको छ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान उनलाई जीवन्त राख्ने एउटा ऐतिहासिक साहित्यिक संस्था हो । जसबाट नेपाली लोकजीवनमा अलि मियाँको सदा सम्मान र सम्झना भइरहनेछ । यसका संस्थापक कवि हनिफ मियाँ यही वाचा गर्छन् ।

तपाईको प्रतिक्रिया