पुलिमराङका सहिद

समाधान संवाददाता २०७९ असोज १ गते १७:५४

‘सुन हे साथी अमर धर्मध्वजको कहानी
देशका लागि कुर्वानी भयो कलिलो जवानी
जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा ।’

देशमा परिवर्तनको नारा घन्किएको थियो । राणाहरुको बहिर्गमन र प्रजातन्त्रको माग राखेर आन्दोलन चलेको थियो । आन्दोलन चर्किंदा जनता ज्यान गुमाएरै पनि परिवर्तन ल्याउन उद्दत थिए । आन्दोलनमा हेलिएका तनहुँ बन्दीपुर पुलिमराङका धर्मध्वज गुरुङले पनि त्यही बेला सहादत लिए । आन्दोलनपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले माथिका कविताका हरफ कोरेका थिए ।

२०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पुलिमराङ अग्रमोर्चामै थियो । लडाइँमा पुलिमराङले पाँच जनालाई गुमायो । गाउँका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले कोत्रेमा शहादात प्राप्त गरे । त्यस्तै शमशेरबहादुर गुरुङ भरतपुर र भारत गुरुङ पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा यसरी पुलिमराङ गाउँका ६ जना सहिद बने ।

Advertisement

धर्मध्वजहरुको बलिदानी अहिले कदर भएको देखिँदैन । उनीहरु जुन परिवर्तनका खातिर आफ्नो ज्यान दिए, अहिले त्यही व्यवस्थाका नाइकेले उनीहरुको सहादतको हुर्मत लिएका छन् । परिवर्तनको जुन नारा उनीहरुको बोलीमा थियो, अहिले प्यालाका कारण भुलिसकेका छन् । पुलिमराङका ६ जना सहिदको योगदानको सम्मानस्वरुप यस व्यवस्थाले पुलिमराङको हित हेर्नुपथ्र्यो । सही योजना बनाएर काम गर्नुपथ्र्यो, तर त्यसमा उनीहरु कत्ति पनि लागेका छैनन् ।

गुलजार गाउँ अहिले गुमनाम छ, खाली छ । सडक छ, हिउँदमा मात्र चल्ने । वर्षाका बेला बाटो बन्द हुन्छ । गाउँमा युवा रगतको कमी छ, युवा जोशको खडेरी छ । बुढापाकाले मात्र गाउँ रुँघेका छन् । परिवर्तनको सपना देखेका उनीहरुका आँखामा बादल लागिसकेको छ, सपना धिर्मिराएको छ । कुनै बेला डेढ सय घरपरिवार रहेको यो गाउँमा अहिले मुस्किलले ६० परिवार छन् ।

Advertisement

गाउँमा नयाँ विद्यालय खुल्ने सुर छैन । भएकै विद्यालयको पनि भविष्य सुनिश्चित छैन । धर्मध्वजकै नाममा २००७ सालमा खुलेको विद्यालयमा पनि विद्यार्थी अभावका कारण बन्द हुने संघारमा छ ।

पुलिमराङ अहिले राज्यका लागि केही होइन, तर सबथोक पनि हो । राज्यले पुलिमराङलाई उपेक्षा गर्नु मिल्दैन । पुलिमराङमा सामान्य सडक नबन्नु, विद्यालय टिक्न नसक्नु, युवा पलायन हुनु राज्यको कमजोरी हो । पुलिमराङ एउटा उदाहरण हो, प्रतिनिधि हो– पछाडि पारिएका ठाउँको । यो, राज्यको निकम्मापन हो । राज्यको असफलता हो । अहिले राज्य र शासकलाई पुलिमराङ याद छैन । पुलिमराङको कुनै मूल्य छैन, राज्यका लागि, नेताका लागि । किनकी अहिले राज्य व्यवस्था फेर्न कसैको रगतको आवश्यकता छैन । कुनै धर्मध्वज अहिलेका नेतालाई चाहिएको छैन । अहिलेका नेतालाई चाहिएको छ त केबल चाकडी, केबल प्रशंसाका दुई वाक्य ।

२०५१ साल चैतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ गाउँमा सोलार बत्ती उदघाटन गर्न आएका बेला सहिद स्मारक कोष समिति खडा गरेका थिए । समितिमा भागबण्डा पु¥याउन टाढाटाढाका व्यक्ति राखिए । यसकारण बैठक समेत बस्न सकेन । त्यसबेला जग्गा छनोट तथा खरिदका विषयमा अलमल भएर पनि केही वर्ष काम धकेलियो । २०६० सालमा जग्गा खरिद गरी स्मारकको कार्य थालियो ।

सुरुमा ३ करोडको लागत अनुमान गरिएको उक्त सहिद स्मारक वर्षमा छुट्याएको चुबुरचुबुर बजेटले पूरा हुन सकेको छैन । व्यास नगरपालिकाबाट विनियोजित ३५ लाख, प्रदेश सरकारको २० लाख र पूर्वमन्त्री किसान श्रेष्ठको पहलमा आएको ४२ लाख रुपैंयाले काम बढेको छ । तर खर्च भने पूरै बजेट बराबरको हुन सकेको छैन ।

अहिले त्यो स्मारक निर्माणस्थल हेर्न जाने जो कसैको मन कुँडिन्छ । सहिद स्मारक वर्षौं भैसक्दा पनि निर्माण सकिएको छैन अझै अलपत्र छ । माथि घना जंगल, तल चाहिँ अग्लो पर्खाल लगाएर सम्याएको ठाउँ । कंक्रिटले बनाइएको ट्रस । त्यसभित्र छन् वरिपरि झारले घेरिएका ६ वटा सहिदका अर्धकदको सालिक छ । २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि छाती थापेका धर्मध्वज गुरुङसँगै २०१८ सालमा सहादत प्राप्त गरेका समशेरबहादुर गुरुङ, भारत गुरुङ, लालध्वज गुरुङ, हस्तवीर गुरुङ र सर्वसिंह गुरुङको सालिक राखिएको छ । सालिक त राखिएको छ, तर स्मारक निर्माणको काम भने वर्षौंदेखि अलपत्र छ । स्मारकको अवस्था देख्दा मन कुँडिन्छ, सहिदको अपमान भएको भान हुन्छ ।

जुन व्यवस्थाका लागि सहिदले आफ्नो रगत बगाए, त्यही व्यवस्थाका नाइकेले उनीहरुको रगतको अपमान गरेका छन् । जिस्काइरहेछन्, हर साँझ प्यालाहरुले । धुत्कारिरहेछन्, संसद र सडकमा बोलिने बोलीहरुले । २०६० सालदेखि थालिएको स्मारक निर्माण अहिलेसम्म एक करोड रुपैयाँ बढी खर्च भइसक्दा कार्यप्रगति २५ प्रतिशत नाग्न सकेको छैन । ६० सालमै सहिदहरुको अर्धकदको शालिक ठड्याइए पनि झन्डै एक दशक अनावरण नै हुन सकेन । सहिदको शालिकलाई ओत पनि नदिई राखियो । अहिलेको शासकले पनि त सहिदहरुको त्यागलाई ओत लगाउन सकेका छन् र ?

४२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई आकर्षक बनाउन ८ करोड ६७ लाख रुपैयाँको बृहत गुरुयोजना तयार पारेको छ । गुरुयोजना तयार भएपनि कार्यान्वयन हुनेमा विश्वस्त छैनन् समितिका अध्यक्ष एकबहादुर गुरुङ । ‘यति काम गर्न त यत्रो वर्ष लाग्यो, अब काम भइहाल्छ भन्नेमा विश्वास छैन,’ उनले भने, ‘नेताहरु मुखको राम्रो, मनको चाम्रो भएर बिग्रियो ।’

योजना ठूलो भएपनि टुक्रे बजेटका कारण कामले गति लिन नसकेको गुरुङको दुखेसो छ । मन्त्रालयका ढोकाढोकामा पुगेपनि काम भने हुन नसक्दा उनी निराश छन् । चुनावका मुखमा ठूला कुरा गरेर देशमै कायापलट ल्याउने वाचा दिएपनि आफ्नै गाउँमा विकास गर्न नसक्ने नेताप्रति उनको खेद छ । यही क्षेत्रका रामचन्द्र पौडेल र गोविन्दराज जोशी राजनीतिक शक्तिका हिसाबले बलिया नेता नै हुन्, तर यहीँ ठाउँमा भने एउटा सहिद स्मारक निर्माणको काम अलपत्र छ ।

राज्यसत्ता र पार्टीले पुलिमराङलाई अनदेखा गरेको बताउँछन् स्थानीय टेकबहादुर गुरुङ । ‘सबै नेता हानालुछमा व्यस्त छन् । गाउँ उनीहरुलाई याद भएन । उनीहरू (रामचन्द्र पौडेल र गोविन्दराज जोशी)ले चाहेको भए यो गाउँमा नहुने कुरा के थियो र ?’ उनको प्रश्न छ । सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उनको बुझाइ छ ।

सहिदको सम्झनामा माघ १६ मा सहिद दिवस मनाइन्छ । तर पुलिमराङमा भने सहिद दिवसमै पनि कुनै नेता झुल्किदैनन् । गाउँले जुटेर माल्यार्पण गर्छन्, औपचारिक कार्यक्रम हुँदैन । सहिदले दिएको आहुतिको अहिले नेताहरुमा कदर छैन, सम्झना छैन । यो तीतो यथार्थ बुझ्न नेता तयार छैनन् । स्थानीय भविश्वर गुरुङ भन्छन्, ‘ब्रिटिस आर्मीको जागिर छोडेर साथीहरुसँगै आन्दोलनमा होमिएँ । पार्टीको पछि लागेर राइफल बोक्यौं, जेलनेल भोग्यौं । योगदानको कदर छैन ।’

सहिदको गाउँ भएर पनि ओझेलमा परेकोमा दुखेसो छ समितिका सदस्य समेत रहेका सहिद धर्म आधारभूत विद्यालयका प्रधानाध्यापक खड्कबहादुर गुरुङको । भन्छन्, ‘परिवर्तनका निम्ति आफ्नो ज्यानको आहुति दिएका उहाँहरुप्रति राज्यपक्ष यसरी पन्छिनु मिल्दैन ।’ मृत्युपछि पनि राज्यबाट अहिले सहिदहरु अन्यायमा परेको पुलिमराङबासीको चिन्ता छ । उनीहरु एक स्वरमा प्रश्न गर्छन्, ‘पुलिमराङका सहिदले न्याय कहिले पाउँछन् ?’

तपाईको प्रतिक्रिया