सम्पादकीयः डेंगुको डर
गर्मी मौसममा तराईमा विभिन्न किसिमका रोग फैलिन्छन् । हुन त गर्मीमा अरु ठाउँमा पनि रोगका प्रकोप देखिन्छन् । तराईमा गर्मी याममा देखिने विभिन्न रोगमध्ये अहिले महामारीको रूपमा फैलिँदै गएको रोग हो, डेंगु । अहिले देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । गण्डकी प्रदेशमा मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । प्रदेशका अहिले ३ सय हाराहारी डेंगुका बिरामी छन् भने यसबाट गोरखामा २ जनाको ज्यान गएको छ ।
पछिल्लो समय गण्डकी प्रदेशमा डेंगु संक्रमणको ग्राफ उकालिँदो छ । गण्डकी प्रदेशमा यो रोगबाट सबैभन्दा बढी आक्रान्त तनहुँ बनेको छ । तनहुँमा ८८ जना डेंगुको बिरामी भेटिएका छन् । कोभिड १९ महामारीबाट तंग्रिदै गरेको अर्थतन्त्र र सामान्य बन्दै गरेको जनजीवनलाई फेरि डेंगुले प्रभावित बनाएको छ । यसको प्रभावकारी नियन्त्रण, उपचार र लाग्नै नदिन आवश्यक चेतना अभिवृद्धिका लागि सबै क्षेत्रको एकीकृत प्रयास जरुरी छ ।
संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिएका छन् । आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोश हुनेजस्ता लक्षण समेत देखिएका छन् । लज्यानै लिन सक्ने र संक्रमितलाई असाध्यै पीडा हुने भएकाले यसलाई ठूलै समस्याको रुपमा लिने गरिन्छ ।
हरेक वर्ष डेंगुको असर बढ्दै गएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम जरुरी देखिन्छ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो– डेंगु । यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा पनि सहरी क्षेत्रमा बढी पाइन्छ । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसोमा टोक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने आधारभूत उपाय हो ।
घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घन्टाअघि यो लामखुट्टे बढी सक्रिय हुने भएकाले यो समयमा थप सचेत बन्नुपर्ने विज्ञहरुको सुझाव छ । त्यस्तै टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्ने भएकाले यस्ता बस्तुको प्रयोगबाट पनि बच्नुपर्ने देखिन्छ । घरवरीपरीका खाल्डाखुल्डी पुर्ने, पानी जम्ने ठाउँहरु पुर्ने, लामखुट्टे नियन्त्रणका अरु कदम चाल्नुपर्ने देखिन्छ । डेंगु भइहालेमा उपचारको उचित प्रबन्धका लागि स्वास्थ्य संघ, संस्थाहरुमा तयारी गर्न जरुरी छ । महामारीमा उचित तयारी गर्न नसक्दा चुकाउनु परेको आर्थिक र मानवीय क्षतिबाट सिकेको पाठ अहिले उपयोग गरौं ।
तपाईको प्रतिक्रिया