जिफन्टले बनायो निर्वाचन परिचालन कमिटी

समाधान संवाददाता २०७९ असोज २ गते १२:३८

पोखरा ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार बसेको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकले आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेद्वारलाई जिताउन गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

Advertisement

कमिटीका अध्यक्ष खत्रीले प्रदेशमा रहेका जिफन्ट राष्ट्रिय कमिटीका सदस्य, घटक युनियनका केन्द्रीय पदाधिकारी तथा सदस्य, सबै जिल्ला कमिटीका सदस्य, प्रतिष्ठान, इकाइ, इलाका र वडा कमिटीका अध्यक्ष सचिव, जिफन्ट पालिकाका सबै सदस्य रहने गरी कमिटी गठन गरिएको जानकारी दिए । बैठकले जिफन्ट मातहतका सबै पालिकाले आगामी १० गतेसम्म बैठक बसी निर्वाचन परिचालन कमिटी गठन गरी एमालेका उम्मेद्वारलाई जिताउन लाग्ने बताए । उनले कमिटीको प्रथम बैठकले निर्वाचनमा एमालेलाई जिताउन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको उनले जानकारी दिए ।

‘आगामी निर्वाचनमा केन्द्रीय नीति अन्तर्गत १ जिफन्ट सदस्य बराबर २ मतदाता बढाउने र ५ जना मतदाता संरक्षण गर्नका लगि सक्रियतापूर्वक लागिनेछ,’ अध्यक्ष खत्रीले भने, ‘सकेसम्म १ बुथ ३ जिफन्ट सदस्य परिचालन गर्ने योजना छ ।’ उनले आगामी निर्वाचनमा जिफन्ट, राष्ट्रिय युवा संघ, अनेरास्ववियु र अनेमसंघ लगायतका जनसंगठनलाई पार्टीले परिचालन गर्ने बताए ।
नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सचिवालय सदस्य तथा जिफन्टका इन्चार्ज मिना गुरुङले पार्टीले प्रतिनिधित्व गर्ने राज्यका निकायमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न अभियान चलाएको जानकारी दिइन् । उनले आम मजदुरको एकतामा बल हुने भएकाले सचेत र संगठित भएर पार्टीमा माग राख्नुपर्ने बताइन् । उनले सबै मजदुरको बुझाईमा एकरुपता भए संगठन सक्षम र सुदृढ बन्ने उल्लेख गरिन् ।

Advertisement

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर केसी लगायतले योगदानमा आधारित समाजिक सुरक्षा योजना कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया