अग्रगामी अग्रणी
आउँदो मंसिर ४ गते हुने प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनबाट हामी हाम्रा नेता चुन्दैछौं । जसजसलाई बहुमत जनताले जिताउने छन्, तिनै जनताका प्रतिनिधि अर्थात नेता हुनेछन् । लोकतान्त्रिक विधि र प्रक्रियामा जनताले आफ्नो नेता चुन्ने विधि चुनावै हो । तर नेता चुनावले चुनेरमात्रै बन्दैन । बनिँदैन । नेता कहिले जनताले चुनावबाट चुन्छ र कहिले आन्दोलनबाट ।
कहिले समाजले नेता जन्माउँछ, कहिले परिस्थितिबाट बनेको नेताले जनतालाई नेतृत्व गर्छ । चुनावबाट नेता चुनिन सजिलो छ, तर समाजबाट नेताका रुपमा उदाउन कठिन । हो, जहिले चुनाव भन्ने नै हुँदैनथ्यो, जनतालाई आफ्नो अधिकार के हो थाहा थिएन, त्यति बेला पनि हाम्रो समाजमा नेता जन्मिए ।
राणा शासनको अन्धकार अवस्था, जहाँ पढ्ने स्कुल, उपचार गर्ने औषधालयको अभाव त थियो नै बोल्ने स्वतन्त्रता पनि थिएन । शासकको विपक्षमा बोल्नु परै आफ्नै हक अधिकार माग्न पाइन्थ्यो । त्यो समयमा जसले जनताका अधिकारका पक्षमा बोले, मान्छेमान्छेका बिच छोइछिटो गर्ने कुप्रथा विरुद्ध बोले, तथाकथित उचो जात गए जाओस् भनेर प्रतिबन्ध लगाइएका काम गर्न पनि अघि सरे ।
मान्छेमान्छे एकै हो भनेर आवाज उठाए, जेलनेल भोगे । जायजेथा वा सर्वस्व हरणै भए पनि नागरिक अधिकार स्थापना गर्न ज्यानकै बाजी लगाएर समाज परिवर्तनका लागि होमिए । आफ्नो भाषा, संस्कृति र परम्परा जगेर्ना गर्न कलम चलाए । ती त्यो समयका नेता हुन् । नेता भनेको त्यो हो, अगुवा वा अग्रणी हो, जसले अग्रगामी पथ चिन्यो, त्यो पथमा आफ्ना कदम चाल्यो, अरुलाई त्यो बाटो देखायो ।
नेता केवल राजनीतिक पदावली मात्रै होइन, समाजका हरेक अंग र क्षेत्रको अग्रगामी पथ पहिचान गर्ने, त्यही बाटोमा आफू अघि हिँड्दै अरुलाई पनि हिँडाउन सक्ने व्यवहार भएको व्यक्ति तत्तत क्षेत्रको नेता हो । चाहे त्यो राजनीतिमा होस या कला, साहित्य र सिर्जनामा वा सामाजिक र आर्थिक क्षेत्रमा । समाधान दैनिकको २१ औं वार्षिकोत्सवको छेकोमा हामीले गण्डकी प्रदेशका त्यस्तै अग्रगामी अग्रणी व्यक्तित्वहरुको जीवन कथा र उनीहरुका संघर्ष तथा तिनका योगदानलाई प्रतिनिधिमूलक तरिकाले समेट्ने प्रयास गरेका छौं ।
हाम्रो आफ्नै सीमितताका कारण छुटाउनै नहुने थुपै अग्रणी व्यक्तित्व छुटेका हुन सक्छन् । तर हाम्रो प्रयास गण्डकी प्रदेशको सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, कला, साहित्य र राजनीतिक क्षेत्रका प्रतिनिधि अग्रणीलाई समावेश गर्नु हो । अग्रगामी अग्रणीहरु जो, कतिपय सय वर्षभन्दा पनि पुरानासमेत छन्, लाई नयाँ पुस्तामाझ परिचित गराउनु हो । र, आज हाम्रो समाज यहाँसम्म ल्याएर आजको सुविधा र अवसर दिलाउन उनीहरुले गरेको योगदान, त्याग र संघर्षलाई ससम्मान स्मरण गर्नु हो ।
तपाईको प्रतिक्रिया