लोक संस्कृतिका धरोहर

सुरज उपाध्याय २०७९ असोज २ गते १४:१९

गन्धर्व समुदाय आदि वैदिक कालदेखि नै लोक संगीतमा समर्पित समुदाय हो । यो समुदायले वेद, मन्त्र, सवाई, कर्खा, बेलोल, रामकली, घटना, माहाल, मंगल, मालश्री, देउसी, भैलो, रत्यौली, असारे, झ्याउरे आदि धार्मिक र विविध लोक छन्दलाई सारंगीको धुनसँग गाएर पछिल्लो पुस्तालाई लोक संगीत चिनायो ।

प्राचीन कालमा शाषक वर्गका कहानी गाएर गाउँगाउँ घुम्ने कलाकार पनि गन्धर्व नै हुन् । सुगौली सन्धीको घाउलाई नरम बनाउँदै जनतामा चेतना छर्ने वर्ग पनि गन्धर्व नै हो । नेपाल राज्यको विस्तार गर्ने राजा पृथ्वीनारायण शाहले मनिराम गन्धर्व भन्ने गायकलाई विभिन्न भुरे, टाकुरे राज्यहरुमा गीत गाउने बाहना बनाएर विविध सूचना संकलन गर्नसमेत लगाउने गरेको इतिहासकारले उल्लेख गरेका छन् ।

गाइने गीतलाई उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याए । पहिलोपटक गन्धर्वको गीत रेडियो नेपालमा रेकर्ड गराए । रेडियोमा बज्न थालेपछि उक्त झन् धेरै लोकप्रिय भयो

Advertisement

करिब हराउन लागिसकेको लोक संगीतकर्मलाई पुनर्जीवन प्रदान गर्ने काम गरे झलकमान गन्धर्वहरुले । उनी अझै आफ्ना भाकामा बाँचिरहेका छन् यसरीः
हे बरै दशी धारा पो नरोए आमा
दशी धारा पो नरोए आमा
बाची पठाउला तस्बिरै खिचेर..

कस्तो लेख्यो नि भावीले
करिम लीला ठैमालौ हजुर
कस्तो लेख्यो नि भावीले
करिम लीला ठैमालौ हजुर.
.
बाटुलेचौरको महेन्द्र गुफा गुफा पुग्ने बाटैमा छ झलकमानको घर । बाटैमा उनको सालिक छ । सालिक देखेपछि आँखा अगाडि उनको तस्बिर नाच्न थाल्छ । मुखले ‘आमैले सोध्लिन् नि खोई छोरा भन्लिन…’ भन्ने गीत गाउन थाल्छ । नेपाली लोक, संगीतका ज्वजल्यमान नक्षत्र झलकमान सारंगी धुनका अभिभावक पनि हुन् । आज उनकै गोरेटो र पदचापलाई पच्छाउँदै थुप्रै सर्जक सारंगीबाटै गीत संगीतको जगेर्नामा छन् ।

Advertisement

झलकमानका बुबा दुर्गाबहादुर मिजार पनि कुशल गायक थिए । जैमुरे, पुरनचौर, बाटुलेचौर, लामाचौरका बस्तीहरु गीत गाउँदै हिँड्थे । एक दिन सांरगीको तालमा हे बरै गीत गाउँदै थिए बाटुलेचौरका बस्तीहरुमा । यो २०२२ सालतिर घटना हो । पहिलोचोटि हे बरै गीत गाउँदै गरेका मिजारलाई भेटे चेतन कार्कीले । पहिलोचोटि नै त्यो गीत सुन्दा कार्की भावुक बने ।

उनी ‘आत्मा बेचेको छैन’ भन्ने नाटक तयार गर्दै थिए । नाटक मञ्चनको तयारी हुँदै थियो । मिजारलाई उक्त गीत नाटकमा गाइदिन अनुरोध गरे । उनी गाउन राजी भए । टिकट काटेर एकै दिन दुई सो मञ्चन भएको उक्त नाटकमा बिरामी भएका कारणले मिजारले गीत गाउन सकेनन् । गीत गाउने अवसर पाए उनकै छोरा झलकमानले ।

बुबाको प्रभाव झलकमान पनि थियो । बाले भन्दा अझै राम्रो गाए झलकमानले । झलक मानकै गीत सुन्न पनि नाटक हेर्नेको घुइँचो लाग्यो । रातारात झलकमान चर्चित भए । गाउँका गुरुङ बस्तीहरुमा बाबुले गाउने गीत सहरका बस्तीहरुमा झलकमानको गीत बनेर चिनियो । झलकमान र हे बरै पर्यायवाची जस्तै बने । पहिलो चोटि त्यही नाटकमा प्रयोग भयो त्यो गीत । पछि यौटा चलचित्रमा पनि यो समावेश भयो ।

विक्रम संवत् १९९२ वैशाख १२ गते बाटुलेचौरमा जन्मिएका झलमानको बाल्यकाल त्यति सुखद् रहेन । सम्पत्तिको नाउँमा एक टुक्रा जमिन थिएन । खेतीकिसानी उनीहरुको पेसा पनि होइन । गीत गाउँदै दस गाउँ डुलेर उठाएको मुठीले उनीहरुको गुजारा चल्थ्यो । तै झलकमानको लोक संगीतप्रति भने अगाध आस्था थियो । २० वर्षअघि निधन हुँदा केहीअगाडिसम्म पनि उनी सारंगीमै रमाइरहेका हुन्थे ।

झलकमानले गाइने गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याए । पहिलोपटक गन्धर्वको गीत रेडियो नेपालमा रेकर्ड गराए । रेडियोमा बज्न थालेपछि उक्त झन् धेरै लोकप्रिय भयो । झलकमानका करिब ३ सय गीत रेडियो नेपालमा रेकर्ड भएका छन् । २०२४ सालतिरै हो उनले रेडियो नेपालमा गायकको रूपमा जागिर खाएको । आमाले सोध्लिन् नि, डाँफे चरी, राधा पियारी, खाउँ त भने लगायत आठ, दस वटा गीत नियमित जसो बज्छन् । दुःखको कुरा अरु गीतहरु रेडियो नेपालमा सुरक्षित छन् वा हराए केही थाहा छैन ।

तपाईको प्रतिक्रिया