नेपालीले माया मार्‍यो बरिलै

सञ्जीव पौडेल २०७९ असोज २ गते १४:२४

‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हो हो माले हो हो …… हो हो तारे हो हो …’ नेपालमा डाँडामा हलो जोतेर सिर्जना नफुलाउने हो भने करोडौँ पेट भोकै हुन्छन् । धर्मराज थापाले यही कुरालाई टपक्कै टिपे र गाए हलो जोत्ने साथीको गीत । साँच्चै उनी लोकगीत खोज्दै नदीको किनारदेखि डाँडाको शिखरसम्म पुगे । देशका कुना कन्दराबाट लोक धुन संकलन गरे, त्यसमा आफ्नो स्वर मिसाए र जीवन्त तुल्याएर रेकर्ड गरे ।

गीत संकलन गर्ने र रेकर्ड गर्ने काममा मात्रै उनी सीमित थिएनन्, उनी ती गीत सुनाउँदै देशभित्र मात्रै होइन देशबाहिर पनि पुगे । जहाँजहाँ नेपालीको बसोबास छ, जहाँ जहाँ नेपाली भाषी छन्, त्यहाँ त्यहाँ शालीन व्यक्तित्वका धर्मराज पुग्थे र गीत सुनाउँथे । कतिपय सन्दर्भमा त उनी विदेशमा रहेका नेपालीको सामीप्यमा पुगेर उनीहरूको जीवनशैली बुझेर उहीँ गीत लेख्थे र गाएर सुनाउँथे पनि । यस्तो लाग्छ, थापाको मुटुमा देशको माटोको सुगन्ध र रगतमा लोकगीत थियो । मुटुको प्रत्येक स्पन्दनमा लोकबाजाको धून गुन्जिन्थ्यो ।

पोखरालाई केन्द्र बनाएर गण्डकी क्षेत्र हुँदै सिङ्गो देशकै विराट् व्यक्तित्वका रूपमा धर्मराज थापालाई सम्झनु, उनका कृतिको पारख गर्नु, गम्भीर अध्ययन गर्नु आवश्यक छ ।

Advertisement

गण्डकी क्षेत्रका सुसेलीलाई पूर्व र पश्चिममा पुर्‍याउने कामको श्रेय धर्मराजलाई निःसन्देह जान्छ । त्यति मात्रै होइन पूर्वको भाका पश्चिममा र पश्चिमको भाका पूर्वमा पुर्‍याउने कार्यमा धर्मराजको योगदान अतुलनीय छ । यही अपूर्व कार्य गरेर नै धर्मराज थापाले लोकसंस्कृतिका माध्यमबाट सिंगै देशलाई एकताको सूत्रमा बाँध्न सके । उनका गीत सबै नेपालीका मनमा आज पनि गुन्जिइरहन्छन् ।

नेपालका तत्कालीन ७५ वटै जिल्लाको भ्रमण गरेका धर्मराज नेपालको करिबकरिब केन्द्रीय भागमा रहेको पोखरामा जन्मेका विराट् सांस्कृतिक प्रतिभा हुन् । नेपालका विविध जाति र तिनका मौलिक संस्कृतिको स्वाद बुझ्ने र बुझाउने कार्यमा धर्मराज थापाको योगदान छ । लोकसंस्कृतिलाई अन्तर्घुलन गराउँदै त्यसको मिठास निर्माण गर्ने कार्यमा धर्मराज नलागेको भए सारङ्गी चिन्ने, मादलमा रम्ने एवम् लोकलयको स्वादमा जीवनका रङ खोज्ने अवसर सारा नेपालीले अलि ढिला गरी प्राप्त गर्ने थिए ।

Advertisement

यातायातको सहजता नभएको त्यो समयमा पनि थापाले कसरी देशभित्रका सबै जिल्ला र अनेकन गाउँहरूको भ्रमण गर्न सके होलान् ? उक्त विषम परिस्थितिमा त्यस प्रकारको साहस जुटाउन मनमा संस्कृतिप्रेमको भूत सवार हुनैपर्छ । धर्मराज थापाको स्तरको खोज गर्ने हो भने नेपाली लोकसंस्कृतिले निकै माथिल्लो स्तर कायम गर्न सक्नेमा कुनै शंका छैन । नेपालभन्दा बाहिर रहेका नेपालीभाषीहरू लाई ‘नेपालीले माया मार्‍यो बरिलै…’ भनेर देशको माया नमार्न आग्रह गर्दै पुगे धर्मराज ।

नेपालीले नेपालको माया मारेमा देश टुहुरो बन्दै जाने गुनासो गर्दै उनी दार्जिलिङ, आसाम, सिक्किमसम्म पुगे । आफू जन्मेको माटो र आफ्नो परम्परागत भेषलाई बिर्सँदै गएको यथार्थले त्यस्ता व्यक्तिको मात्रै मन बेचैन हुन्छ जसको छातीमा देशको प्रतिबिम्ब अमिट हुन्छ । देश भनेको भूगोल मात्र होइन, सिमाना मात्र पनि होइन । नेपालको एकीकरण तीनपटक भएको मान्न सकिन्छ, पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राजनीतिक/भौगोलिक एकीकरण, भानुभक्तको अगुवाइमा भएको भाषिक एकीकरण र धर्मराज थापाको नेतृत्वमा भएको सांस्कृतिक एकीकरण ।

लामो समय साधना गरेका स्रष्टा, कलाकारलाई व्यवस्था परिवर्तन हुनासाथ देशद्रोही वा अपराधीजस्तै व्यवहार गरिनु कदापि उचित होइन । धर्मराज र अन्य थुप्रै धर्मराजहरू यही कुसंस्कारको सिकार भएका छन् । तत्कालीन राजा महेन्द्रले ‘जनकवि केशरी’ उपाधि दिए भन्दैमा लोकसंस्कृति जगेर्ना र त्यसको प्रचारका क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई चटक्कै बिर्सनु गैरजिम्मेवार हुनुसिवाय केही होइन ।

करिब दुई दर्जन पुस्तक प्रकाशन र कैयौँ गीत गायन गरेका यी स्रष्टाले थुप्रै पुरस्कार तथा सम्मान पनि प्राप्त गरेका थिए । जीवनको करिब ९३ वसन्त पार गरेर अस्ताएका धर्मराजले नेपाली लोकगीत, लोकसंस्कृति र लोकबाजालाई नेपालीका मनमनमा बास बस्ने गरी सिर्जनात्मक कोसेली पस्किरहे । नेपालीभाषी विदेशीहरू र प्रवासी नेपालीहरूलाई लोकगीतका मिठा बान्की र लोकबाजा एवम् लोकसङ्गीतको मधुर ध्वनिले निरन्तर मन्त्रमुग्ध गर्ने कार्यमा धर्मराज थापा निरन्तर लागिरहे ।

पोखरालाई केन्द्र बनाएर गण्डकी क्षेत्र हुँदै सिंगो देशकै विराट् व्यक्तित्व धर्मराज थापाको सम्मानमा सांस्कृतिक संग्रहालय निर्माण गर्नु र लोकसंस्कृति, लोकगीतका क्षेत्रमा सकारात्मक तरंग पैदा गर्ने, सांस्कृतिक एकता कायम गर्ने स्तरका कार्यक्रम गर्नु राज्यको दायित्व हो । उनीमाथि हामीले गर्नुपर्ने दायित्वबाट हामी बिमुख हुँदै गयौँ भने भोलि उनीलाई सम्झँदै उनकै गीत गाएर बस्नुपर्ने अवस्थामा हामी पुग्ने छौँ – ‘नेपालीले माया मार्‍यो बरिलै …।’

तपाईको प्रतिक्रिया