प्रजातान्त्रिक इतिहासका नायक

राजु क्षेत्री २०७९ असोज २ गते १४:३५

पोखरा पर्यटकीय शान्त सहर । पर्यटकीय केन्द्र मागमा रहेको विश्व शानि स्तूप । दोस्रो विशवयुद्धपछि विश्वमै मुख्यतः जापानमा भएको विनाशले विरत्तिएका भिक्षुहरु शान्तिको कामना गर्दै देश बाहिर निस्किए । तिनीहरु परपरसम्म पुग्दा नेपालमा पनि आए । पोखरा आए । मीनबहादुर गुरुङकहाँ आए । थुम्कीडाँडामा आए । त्यहाँ विश्व शान्तिको स्तूप बनाउने योजना बनाए । त्यो योजनाका सारथी मीनबहादुर गुरुङ ।

Advertisement

जापानी भिक्षुहरुको संस्था निरपोन्जन म्योहोजीले ३० सालमा सुरू गरेर त्यसको केहीपछि सरकाले भत्काए पनि बहुदलीय व्यवस्था पुनःस्थापनासँगै स्तूप निर्माणको काम अघि बढ्यो । आज पोखराको पहिचानसँग जोडिएको छ त्यही शान्ति स्तूप ।

राणाशासन विरुद्धको जनक्रान्तिमा सक्रियतापूर्वक भाग लिनुभयो । पोखरा र यस वरपर प्रजातान्त्रिक योजना निर्माण गर्ने मीनबहादुर गुरुङको महत्वपूर्ण भूमिका छ ।

जसको छेउमा दशकदेखि शान्त मुद्रामा उभिएको छ एक प्रतिमा । त्यो उहाँकै प्रतिमा हो अर्थात मीनबहादुर गुरुङको ।
९३ वर्षको आफ्नो जीवनयात्रामा नेपाली समाजलाई उहाँले के दिनुभयो ? के दिएर विदा हुनुभयो धर्तीबाट ? अन्ततः छोडी गएकाप्रति हामीले बनाउने धारणामा यी कुराले खास अर्थ राख्छ ।

उहाँको जन्म विसं १९६३ कात्तिक २३ गते पोखराको फेवाताल दक्षिणपश्चिमको गाउँ पल्लो अनदुमा भएको हो । अनदु प्राविका पूर्व प्रअ तथा नेपाली कांग्रेसका स्थानीय नेता देउबहादुर गुरुङका भनाइमा त्यति बेला पल्लो अनदुमा ९ भाइ खलकका केही घर थिए । वल्लो अनदुमा पनि २/ ४ घर थिए । उहाँको बुवा किसान परिवारको मान्छे हुनुहुन्थ्यो । त्यतिबेला अनदु र त्यस वरपर कुनै विद्यालय थिएनन् ।

Advertisement

व्यवस्थित रुपमा विद्यालय खोलेर पढाउने चलनै बसेको थिएन । बचपनमा आफ्नै बुवा पर्ने अमरसिंह गुरुङसँग अक्षर÷अंक लेखपढ गर्न सिक्नुभयो र त्यसउता फेवाताल तरेर बैदाम (आजको लेकसाइडमा) पण्डितकहाँ गएर सामान्य शिक्षा लिनुभयो । २००७ सालको क्रान्ति अघि उहाँ राजनीतिक क्रियाकलापमा संलग्न भएको नदेखिए पनि त्यसपछि जीवन पर्यन्त नेपाली कांग्रेसको प्रजातान्त्रिक अभियानमै रहनुभयो ।

राणाशासन विरुद्धको जनक्रान्तिमा उहाँले सक्रियतापूर्वक भाग लिनुभयो । पोखरा र यस वरपर प्रजातान्त्रिक योजना निर्माण गर्ने उहाँको महत्वपूर्ण भूमिका छ । २००७ सालको राजनीतिक परिवर्तनपछि पनि नेपालमा राजनीतिक स्थिरता बन्न सकिरहेको थिएन । २०१५ सालमा आम निर्वाचनको घोषणा भयो । निर्वाचमा जहानिया राणशाहीको पक्षमा खुकुरी दल, नेपाल कम्युनिष्ट पार्टी, प्रजापरिषदसँगै नेपाली कांग्रेसले भाग लियो । कांग्रेसले २ तिहाई मत ल्यायो ।

पहिलो जननिर्वाचित सरकार विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भयो । त्यो सरकारमा मीनबहादुर गुरुङ उपरक्षामन्त्री बन्नुभयो । पहिलो नवनिर्वाचित सरकारलाई राजा महेन्द्रले षडयन्त्रणपूर्वक अपदस्थ गरे । लगत्तै सरकारका मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु धमाधम पक्राउ परे । त्यही मेसोमा समातिनुभयो मीनबहादुर गुरुङ । डेढ वर्षको जेलजीवनपछि उहाँ रिहा हुनुभयो ।

उहाँका राजनीतिक सहकर्मी तथा नेपाली कांग्रेस कास्कीका नेता खेमराज पौडेलका भनाइका २०१७ सालपछि उहाँलाई फरकफरक राजाद्वारा मन्त्रीको अफर आएको थियो तर उहाँले प्रजातान्त्रिक आन्दोेलनलाई छोड्न चाहनुभएन ।
मीनबहादुर गुरुङको राजनीतिक जीवनको अलावा सामाजिक तथा धार्मिक जीवन पनि उत्तिकै संघर्षपूर्ण छ । उहाँ मुख्यौली खलकमा जन्मनु भएको थियो । त्यतिबेलामा समाजमा मुखिया नै गाउँको राजा जस्तै हुन्थ्यो ।

उनै न्यायकर्ता, उनै जुरीकर्ता र उनै न्यायहरणकर्ता जस्तो शक्तिशाली पद थियो । त्यो समयमा कतिपयले यो पदको दुरुपयोग गरेर मुखिया शब्द नै बदनामको विषय जस्तोे बनाए । कतिपयले सामाजिक कार्यमार्फत मुख्यौलीको रचनात्मक सदुपयोग गरे । भनिन्छ शासन सबै राम्रा हुन्छन् तर शासन असल र खराब त्यसको कार्यान्वयन पक्षमा तौलिन्छ । उहाँले पाएको मुख्यौलीको कार्यभार सम्पादन बारे समाजमा मिश्रित प्रतिक्रिया पाइन्छ ।

मुख्यतः सामाजिक कामको नेतृत्व गर्नु, जनताबाट बाली उठाएर सरकारलाई बुझाउने, माटो मुरी नाप्ने मुख्य काम हुन्थे । तर कतिपय ठाउँमा मुख्यौलीको फाइदा उठाउँदै बेठ बेठारी प्रथा पनि चलाएको पाइन्छ र अनदु र यस वरपर पछिसम्मै यो चलन रहेको स्थानीय बताउँछन् । त्यसो त मुख्यौली उहाँको परिवारको धेरै पुरानो परम्परा थिएन । अनदु पश्चिम बेतैनीका धनबहादुर गुरुङले हस्तान्तरण गरेपछि मीनबहादुर गरुङका बुवा गोपीबहादुरले मुख्यौली सम्हालेका थिए । मीनबहादुर मुखिया हुने बेलामा १ रोपनी जग्गा कमाए वापत ९ माना अन्न सरकालाई बुझाउनु पथ्र्याे ।

कम उत्पादन हुने, सिँचाइ नलाग्ने, बाली कीराले खाने, उत्पादनले मान्छेको जीविका नचल्ने हुँदा दिन प्रतिदिन मान्छे गरिबबाट झन् गरिब बन्दै गइरहेका थिए । त्यतिबेला मीनबहादुरले माल अड्डाका हाकिमलाई भेटेर १ रोपनी बराबर ६ मानामात्र अन्न दिए हुने व्यवस्था कायम गरेका थिए । रिसाहा स्वभावका भए पनि छिटै सम्हालिन सक्ने क्षमता थियो उहाँमा । गाउँलेको सुखदुखमा मर्दापर्दा सहयोग गर्ने भावनाका हुनुहन्थ्यो उहाँ । पोखरा महानगरपालिका २२ मा रहेको अनदु गाउँ र नेपालको प्रमुख पर्यटकीय क्षेत्रबिचको फासला जम्मा ५/६ सय मिटरको छ ।

बिचमा फेवाताल छ । फेवाताल पूर्वका मान्छेका लागि पानी वरदान बनेको छ । यही फेवाताल भएका कारण बैदाम पर्यटकीय सहर बनेको छ । देशका सभ्य, दुनियाँका हुनेखाने मान्छे घुम्न आउँछन्, बास बस्छन् तर ५०० मिटर पश्चिमको अनदु गाउँ मिटरका हिसाबले लेकसाइडबाट ५०० मिटरको दुरीमा होला तर सभ्यता विकास, समृद्धि र ज्ञानका हिसाबले अनुमान गर्न नसकिने गरी पर धकेलिएको छ । पानी कसैका लागि वरदान र कसैका लागि अभिषाप हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण यहाँ देख्न पाइन्छ ।

करिब ५० घरधुरी रहेका अनदुमा गुरुङ जातिको बसोबास छ । यहाँ परापूर्व कालदेखि मानिस खेतीपाती( माछा मार्ने र रक्सी पार्ने व्यवसाय गर्दै गुजारा चलाइरहेका छन् । जब भारतमा गएर नेपाली बहादुर भर्ती हुने चलन चल्यो, त्यसपछि मात्र अनदुमा पैसा भित्रन थालेको हो । अनदुको इतिहासमा ४० जना जति विभिन्नमा सेना प्रहरीमा भर्ती भएका छन् । यो गाउँबाट इन्जिनियरिङ गर्ने पहिलो व्यक्ति मीनबहादुरका छोरा कृष्णबहादुर गुरुङ हुन् ।

प्रजातान्त्रिक आन्दोलनले जन्माएको राजनीतिक चेतनाको रापतापकै बीचमा २००७ सालमा अनदुको मानेखर्कमा प्रावि स्कुल निर्माण भयो । सुरुमा त्यो स्याउलाले बारेर बनाइएको थियो । त्यसको निर्माणमा मीनबहादुर गुरुङको महत्वपूर्ण भूमिका थियो । तर सपूर्ण व्यवस्थापकीय काम भने उहाँका भाइ मनबहादुर गुरुङले गर्नुभएको थियो । त्यहाँ स्कुल स्थापना भएपछि अनदु वरपरका बच्चाहरु त्यहाँ पढ्न आउँथे । स्कुल सञ्चालनका लागि त्यो बेला माल कार्यालय गोश्वाराले मासिक २५० रुपैयाँ दिन्थ्यो । र यो रकम बढाएर २००९ सालमा ७०० र २०१२ मा ९०० पुर्‍याउन मीनबहादुरको देन थियो ।

मीननबहादुरकै अग्रसरतामा २०१७ सालमा अनदुमा बिजुली आएको थियो । फेवाताल तारेर ल्याइएको बिजुली पहिला मीनबहादुर गुरुङको घर वरपर बाँडिएको थियो र पछि २०३२ मा पुरै गाउँमा लाइन बाँडिएको थियो । स्थानीयहरुको भनाइमा मीनबहादुर नभएको भए सरकारले उहिल्यै यो गाउँ उखेलेर रानीवन बनाइसक्थ्यो । २०२९ सालमा वन विभागका मान्छे आएर किल्ला गाड्न खोजे पनि मीनबहादुर गुरुङको सचेत पहलमा यो गाउँलाई रानीवन बनाउनबाट रोकेको थियो । त्यही कारण आज पनि धेरै मान्छेहरु अनदु गाउँलाई मीनबहादुरको प्रतिष्ठासँग जोडेर हेर्छन् । त्यसैले मीनबहादुरको इतिहास खोतल्दा अनदु गाउँ भेटिन्छ अनि अनदु गाउँको इतिहास लेख्दा मीनबहादुरको नाम शीर्ष स्थानमा आउँछ । मीनबहादुर एक राजनीतिक योद्धाका साथै सफल पर्यटन व्यवसायी र लेखक पनि हुनुहुन्थ्यो । उहाँको बारेमा चर्चा गर्दा उहाँको व्यावसायिक र लेखकीय पाटोबारे कमै चर्चा सुन्ने गरिन्छ ।

फेवाताल किनारका माछा सेक्सनको दक्षिणपट्टि रहेको पुरानो होटल फेवा युएनडिपीको सहयोगमा २०२५/२६ सालतिर उहाँले बनाउन लगाउनुभएको थियो । त्यतिबेला त्यो एक स्थापित होटल थियो । पछि यो होटल छोरा कृष्णबहादुर र अहिले नाति अशोक गुरुङले सञ्चालन गरिरहनुभएको छ । नाति अशोक गुरुङ भन्नुहुन्छ— यो होटलमा ३०/३५ सालतिर आएर बास बसेका हजुरबुवाका कतिपय साथी आजसम्म पनि सम्झेर आउनु हुन्छ । एक हिसावले होटल फेवालाई कांग्रेसी नेता पाल्ने साझा होटल पनि भनेर आत्मियतापूर्वक कांग्रेसीजनले सम्झना गर्छन् ।

त्यसबाहेक उहाँले पोखराको स्याउली बजारमा होटेल आरके चलाउनुभएको थियो । भनिन्छ उहाँ जग्गा जमिनको मालिक हुनुहुन्थ्यो । प्रशस्त जमिन थियो । बैदामतिरको जमिन करिबकरिब होमबहादुर लामिछाने र भट्टराईहरूको फेवातालतिरको जमिन आधाआधा मीनबहादुर गुरुङको थियो । बाँध बाधेपछि अहिले धेरै जमिन फेवातालभित्र परेको छ । मान्छेहरू भन्छन्— फेवातालले मीनबहादुर माथि ठूलो अन्याय गरेको छ ।

राजनीतिक नेता तथा सामाजिक अगुवाको अलवा उहाँको अर्को परिचय हो धार्मिक व्यक्तित्व । पोखराको पश्चिम फेवातालमाथि थुम्कीमा अवस्थित विश्व शान्ति स्तूप निर्माण हुनुमा उहाँको सबै भन्दा महत्वपूर्ण भूमिका छ । जापानबाट आउनुभएका धर्म गुरु निशिदात्सु फुजीलाई थुक्की डाँडो देखाउनु त्यहाँको बस्ती स्थानातरण गरी त्यहाँको जग्गाको व्यवस्थापन गर्नु, २०३१ सालमा तत्कालीन सरकारले भत्काएपछि पुन निर्माण गर्न गराउनमा उहाँको ठूलो देन छ । शान्ति स्तूप बनाएबापत र भत्काएको विरोध गरेका कारण उहाँ १८ महिना जेल बस्न बाध्य हुनुभयो ।

विश्व शान्ति स्तूपको निर्माणमा उहाँको देनको कदर गर्दै स्तूप परिसरमा उहाँको अर्धकदको सालिक राखिएको छ । शान्ति स्तूप निर्माणको क्रममा उहाँले भोगेको कष्ट र बुद्धधर्मप्रतिको समर्पण भावका कारण विभिन्न बौद्ध धार्मिक संस्थाले उहाँलाई सम्मान गरेका छन् । स्थानीय समाजसेवी देवबहादुर गुरुङका भनाइमा उहाँको अनदुको घर धार्मिक र राजनीतिक मानिसका लागि एक तीर्थजस्तै थियो । बौद्ध धार्मिक गुरुहरू आइरहनु हुन्थ्यो । पुराना कांग्रेसी नेता खेमराज पौडेलका अनुसार मीनबहादुरका घर नआएका नेता कमै थिए । नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाददेखि कैंयौ नेता/कार्यकर्ता आएर गास बास लिएका छन् ।

२०३६ सालको निर्दल बहुदलबिचको जनमत संग्रह एक हिसाबले राजा वीरेन्द्र र बिपी कोइरालाबिचको टकरावको परीक्षा जस्तो भएको थियो । प्रजातन्त्रको पक्षमा नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरू बहुदलको पक्षमा प्रचार गर्दै गाउँ÷गाउँ पुगे । निर्दलका विरुद्ध राजनीतिक जागरण चलाए । प्रचारको क्रममा सँगै रहेका देउबहादुर गुरुङ जो त्यतिबेला शिक्षक थिए उनी पनि मीनबहादुर र प्रेमनारायणको साथ लागेर पूर्वी कास्कीको गहते जाँदा स्थानीय गुण्डाको समूहले नांगै पारेर लखेटेका थिए । त्यो बेला प्रेमनारायणका छ वटा दाँत झरेका थिए । उनी ससुराली घरमा बाख्राको खोरमा बसेर ज्यान जोगाएका थिए भने मीनबहादुर गुरुङलाई नांगै पारेर लखेटेका थिए ।

कास्कीको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेबापत मीनबहादुर गुरुङलाई नेपाली कांग्रेसले २०४४ सालमा कांग्रेसको केन्द्रीय समितिमा मनोनित गरेको थियो । राजनीतिक इतिहाससँगै उहाँको सामाजिक, धार्मिक र लेखकीय पाटो पनि सम्झनालायक छ । उहाँले आफ्नो जीवन कालमा तीन वटा पुस्तक प्रकाशित गर्नुभएको थियो तीन पुस्तक अप्रकाशित छन् । नेपालको मुटु, संघर्ष टुंगिएको छैन र नेपाली कांग्रेस र समाजवाद उहाँका महत्वपूर्ण पुस्तक हुन् ।

गुण र दोषका आधारमा मानिसलाई अलग गरेर हेर्ने दृष्टिकोण मलाई राम्रो लाग्दैन । इतिहासमा महत्वपूर्ण काम गरेर गएकाहरुको मूल्यांकन नकरात्मक कोणबाट गरियो भने समाजको अधोगतिको यात्रा सुरू हुन्छ । धेरैले भने जस्तो उहाँ एक महान् मान्छे पनि होइन र केहीले भने जस्तो उहाँ सामान्य मान्छे पनि होइन । सामान्य र महानताकाबिच मीनबहादुर गुरुङले बनाउनुभएको आफ्नो परिचय नै खासमा मीनबहादुरको परिचय हो ।

नेपालको राजनीतिक क्रान्ति र विश्व शान्ति स्तूप निर्माणका क्रममा उहाँले गरेको त्याग र पाएको कष्ट हाम्रो समयका युवाका लागि उर्जा बन्यो भने मीनबहादुर गुरुङलाई सम्झनुको सत्यकर्ता हुनेछ ।

तपाईको प्रतिक्रिया