तमु भाषाका आदिकवि

ऊ बेला पोखराको ढुंगेसाँघुमा माघे संक्रान्तिमा धुमधाम मेला लाग्थ्यो । मेला भर्न कास्की, तनहुँ, स्याङ्जातिरका गाउँहरूबाट पनि मानिसको धुइरो लाग्थ्यो । मानिसको भीडका बीचमा तिलका गेडा राख्ने ठाउँ पनि हुँदैनथ्यो । साथीहरू एकापसमा छुट्ने र हराउने डर हुन्थ्यो । त्यसैले गाउँबाट झरेको गुरुङ युवायुवतीहरू चप्पल हातैमा बोकेर एकअर्काको हात समातेर हिँड्थे । त्यस्तो दृश्य देख्दा सहरमा हुर्केका खासगरी व्यापारीहरूले निकै खिसी गर्थे ।
अहिले पनि नेपालमा स्वच्छ पिउनेपानी एउटा मुख्य समस्या हो । राजधानी काठमाडौंका जनता काकाकुल जिन्दगी बाँच्न बाध्य छन् भने अझै दुर्गम भेगका कतिपय बासिन्दा पानी लिन घण्टौं समय खर्चनु पर्ने बाध्यतामा छन् । आजभन्दा पाँच/छ दशकअघिको अवस्थाको त झन् कल्पना पनि गर्न सकिँदैन ।
साढे पाँच दशकअघि नै गुरुङ भाषामा जागरण गीत गाउँदै गाउँघर चाहारेका हर्कबहादुर गुरुङलाई ‘गुरुङ आदिकवि’ को सम्मान र पद्वी चाहिँ २०५९ सालमा तमू सांस्कृतिक प्रतिष्ठानले प्रदान गरेको हो
स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मे, दामगाडे क्षेत्रमा मात्र होइन, आसपासका गाउ“मा पनि पानीको ठूलो समस्या थियो । महिलाहरूको बिहानी समय पानी ल्याउनमै बित्थ्यो । यस्तै दृश्यहरू देख्दै र खेप्दै हुर्केका थिए, स्याङ्जा फेदीखोला साल्मेका हर्कबहादुर गुरुङ ।
विसं १९९३ साल माघ ११ गते देवबहादुर गुरुङ र बुद्धिश्री गुरुङको माहिलो छोराका रूपमा जन्मिएका हर्कबहादुर सानैदेखि पढाइमा रुचि राख्थे । छिमेकी गाउँ दामगाडेमा तीन कक्षासम्म पढेपछि उनी थप अध्ययनका लागि पोखरा झरे, २०११ सालमा । पोखरामा उनी नेशनल मल्टिपर्पोज कलेजमा भर्ना भए र आठ कक्षासम्म त्यहीं पढे । पोखरामा पढ्दाताका नै हो, उनले गुरुङ जागरण गीतको रचना गरेको । ‘योर क्हासी आप्रोदो..’ त्यतिबेलै रचिएका गीत हुन् । मेलामा हात समातेर नहिँड । केही सिक । सभ्य बन्ने प्रयास गर भनेर ।
उनले चर्चित गीत ‘क्युदे थुलेन दुःख म्हन’ गीत पनि त्यसैताका रचना गरेका हुन् । गुरुङ समुदायमा मामाचेली–फुपूचेला विवाह एक किसिमले बाध्यात्मक थियो । एकापसमा मन नमिले पनि बाबुआमाको करबलमा विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता थियो । खासगरी लाहुरबाट भान्जा आउने बित्तिकै छोरी दिने चलन थियो । छोरीहरू पीडित थिए । बिना चिनजान, आनीबानी थाहा नपाई र छोरीको स्वीकृति बेगर जबर्जस्ती विवाह नगराइ दियौ भन्ने आसयमा उनले यो गीत रचेका हुन् । २०१६ सालमा उनी राजधानी काठमाडौं हानिए र जुद्धोदय पब्लिक हाइस्कुलमा भर्ना भए ।
त्यसैबेला उनले तत्कालीन समयका स्वास्थ्य उपमन्त्री नरबहादुर गुरुङको सहयोगमा गुरुङ गीति संग्रह ‘क्युदे थुलेन’ प्रकाशित गरे । संग्रहमा साढे तीन दर्जन गीत थिए । अनि २०१७ सालमा रेडियो नेपालमा गीत पनि रेकर्ड गराए, सुनिमाया, ठाडोभाका, यानीमाया आदि । २०१८ सालमा एसएलसी गरेर उनी गाउँ फर्किए । दामगाडेमै दुई वर्ष प्राथमिक विद्यालयको प्रधानाध्यापक भई अध्यापन गरे । पछि २०२२ सालमा उनी भूमि सुधार कार्यालयका जागिरे भए ।
त्यसपछि उनको गीत लेखन र गायन थप अघि बढ्यो । नापीका लागि गाउँघर घुम्दा उनी भाका हालेर गाउँथे । स्वर पनि मीठो भएकाले उनले गीत गाउँदा मानिसहरू ध्यान मग्न भएर सुन्थे । उनका कतिपय जागरण गीत सुनेर मानिस धुरुधुरु रून्थे पनि । उनीको गीति संग्रह ‘क्युदे थुलेन’ दोस्रो पटक ईश्वरबहादुर गुरुङले २०२२ सालमा प्रकाशित गरिदिए । ‘क्युदे थुलेन’ तेस्रोपटक चाहिँ २०५८ सालमा पोखराको ‘तमू युवा सांस्कृतिक परिवार’ले प्रकाशित गरिदियो ।
२०४३ सालमा जागिरबाट अवकाश पाएपछि उनी गाउँमै फर्किए । हुन त त्यसबेला उनको पोखरामा बस्न सक्ने हैसियत भइसकेको थियो तैपनि गाउँमै केही गर्नुपर्छ भनेर उनी फेदिखोला फर्किएका थिए । जागिरबाट अवकाश लिएपछि उनी फेदीखोला बौद्ध सदनको सचिव बने । विशुद्ध सामाजिक सेवाभावले उनले सदनमा रहेर १३ वर्ष सचिवको रूपमा सेवा गरे ।
साढे पाँच दशकअघि नै गुरुङ भाषामा जागरण गीत गाउँदै गाउँघर चाहारेका हर्कबहादुर गुरुङलाई ‘गुरुङ आदिकवि’ को सम्मान र पद्वी चाहिँ २०५९ सालमा तमू सांस्कृतिक प्रतिष्ठानले प्रदान गरेको हो ।
त्यसपछि उनी धेरैवटा संघ–संस्थाबाट गुरुङ आदिकविका रूपमा सम्मानित भए, पुरस्कृत भए । तमू युवा संघ काठमाडौंको व्यानरमा लाला गुरुङले उनको जीवन कथामा आधारित रहेर ‘ङ्योए ओंसो क्वे प्रिब म्हि’ वृत्तचित्र नै निर्माण गरे । वृत्तचित्र निर्माणसँगै संघले २०६१ सालमा उहाँको जन्मदिनका अवसर पारेर जन्मदिन पनि मनाएको थियो । त्यसैगरी तमू ‘गुरुङ’ सञ्चारकर्मी संघले पनि २०६६ सालमा उहाँको जन्मदिनका अवसर पारेर एक कार्यक्रम आयोजना गरेको थियो ।
तमु आदिकवि हर्कबहादुरको जीवनी पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले प्रकाशन गरेको गुरुङ भाषाको कक्षा ४ को पाठ्यक्रममा राखिएको छ । त्यसैगरी भारतको सिक्किम प्रदेश सरकारले कक्षा ९ को पाठ्यक्रममा खेमालिपी उहाँको जीवनी पढाउँदै आएको छ भने फेदिखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ बाट स्थानीय पाठ्यक्रममा कक्षा ८ मा उहाँको जीवनी पढाउँदै आएको छ ।
त्यसैगरी उहाँको नाममा तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान खोलिएको छ । सोही प्रतिष्ठानले फोदिखोला गाउँपालिकाको वडा नं. १ स्थित रामकोट नजिकै देउरालीमा उहाँको एक रोपनी जग्गामा अर्ध कदको शालिकसहितको पार्क निर्माण गरिएको छ । फेदीखोला गाउँपालिकाको सहयोगमा निर्मित उक्त उद्यनलाई तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क नामाकरण गरिएको छ ।
आदिकवि हर्कबहादुरका दाजुहरू, साथीभाइ लाहुरे थिए । तर उहाँको मन भने लाहुरभन्दा पढाइतिरै गढ्यो । अक्षर चिन्ने भएपछि उहाँको दैनिकी नै बनेको थियो, लाहुरेहरूले पठाएको चिठी वाचन गरिदिनु । सानो छँदा उहाँ पनि अरू गुरुङ बालबालिका जस्तै चञ्चले हुनुहुन्थ्यो । मोजा पोका पारेर भकुण्डो बनाई फुटबल खेल्नुहुन्थ्यो । भैंसी चराउन जानुहुन्थ्यो । आफ्नो घर नजिकैको साल्मेडाँडास्थित भैंसी आहाल बस्ने पोखरीमा पौडी खेल्नु हुन्थ्यो । उनै चञ्चल हर्कबहादुर गुरुङ कालान्तरमा गुरुङ आदिकवि बन्नुभयो । आफू निकटका साथीभाइ र गाउँले माझ आफ्नो जन्मथलोको नामसँगै जोडिएर उहाँको बोलाउने नाम चाहिँ साल्मे माइला थियो ।
आदिकवि हर्कबहादुरको श्रीमती सुष्मा गुरुङ, छोरा अर्जुन गुरुङ र छोरी वन्दना गुरुङ छन् । गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङ उर्फ साल्मे माइलाको २०६७ साउन १ गते काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो । अहिले उहाँको भौतिक शरीर हामीमाझ छैन तर उहाँका कृति र देनले उहाँलाई अमर बनाइरहेको छ । उहाँ एक आदिकवि मात्र नभई समाज सुधारक पनि हुनुहुन्थ्यो किनकि उहाँको सिर्जनामा जनचेतना र जागरणको आभाष पाइन्छ ।
तपाईको प्रतिक्रिया