लोकतान्त्रिक संस्कारका पर्याय श्रीभद्र शर्मा
अहिलेको गण्डकी प्रदेशमा राजनीतिक चेतनाको दियो बाल्नेहरूमा तनहुँ सिम्पानीका श्रीभद्र शर्माको नाम अग्रपंक्तिमा आउँछ । शर्माको राजनीतिक जीवनको थालनी ‘जयतु संस्कृतम्’ आन्दोलन (२००४)बाट भएको थियो । आन्दोलनको दमनपछि आन्दोलनकारी छात्रहरू बनारस गए र राणा शासनका विरोधीहरूसँग मिसिए । शर्मालगायत जयतु संस्कृतम् आन्दोलनका अधिकांश अभियन्ताहरू पहिले नेपाली राष्ट्रिय कांग्रेस र पछि नेपाली कांग्रेसको गठनमा पनि सक्रिय रहे ।
यसबीच राणा शासनविरुद्ध चेतना जगाएर क्रान्तिको तयारीका लागि संगठन विस्तार गर्न श्रीभद्र शर्मालगायतका युवा आआफ्ना जिल्लामा फर्के । तनहुँको बन्दिपुरलाई केन्द्र बनाएर उनीहरूले गण्डकी क्षेत्रमा गतिविधि सुरु गरे ।
राजनीतिक परिवर्तनसँगै सामाजिक सुधारको अभियान कविराज रामप्रसाद खनालको अगुवाइमा थालियो । लमजुङको दुराडाँडा र तनहुँको सिम्पानीका बाहुनले हलो जोतेर सांकेतिकरूपमै भए पनि जातपातको बन्धन तोड्ने अभियान थालियो ।
पहिलो संसदीय निर्वाचनमा श्रीभद्र शर्मा तनहुँबाट उमेदवार भए तर सिंगो गण्डकी क्षेत्रको चुनाव प्रचारको नेतृत्व उनले गरेका थिए ।
यस आन्दोलनलाई राजनीतिसँग जोड्ने कामको नेतृत्व शर्माले गरेका थिए । नेपाली कांग्रेसको आह्वानमा २००७ सालमा जनक्रान्ति सुरु भयो । क्रान्तिमा तनहुँ, लमजुङ क्रान्तिकारीले कब्जा गरे । बन्दीपुर कब्जा गर्दा श्रीभद्र त्यहाँ थिएनन् तर नेता त उनै थिए । त्यसैले बन्दिपुर ‘जनसरकार’का पहिलो गभर्नर घोषित भए । उनीलगत्तै काठमाडौं बोलाइएकाले बन्दिपुरमा गभर्नर धनेश्वर शर्मा बनाइए । जनसरकारले तनहुँमा बेठी खारेज गर्ने, खोटा (नापतौल कम भएका) मानापाथी, ढक र गज चलाउन नदिनेजस्ता जनमुखी सुधार थालेको थियो ।
त्यसपछि श्रीभद्र शर्मा विशेषगरी पश्चिम ३ नम्बरमा केन्द्रीत भए पनि अहिलेको गण्डकी प्रदेश भर नै नेपाली कांग्रेसको संगठन विस्तारमा योगदान रह्यो । मुस्ताङ, मनाङ, बागलुङ, तनहुँ र लमजुङमा श्रीभद्र शर्मा निकै लोकप्रिय हुनपुगे । क्रान्ति सकिएपछि सत्ता राजाको हातमा गयो । नेपाली कांग्रेसले संविधान सभाको चुनावको माग राखेर २०१४ मा ‘भद्रअवज्ञा आन्दोलन’ चलायो । यसभन्दा पहिले नै २०१२ मा ‘तिरो नतिर्ने’ अभियान चलाइएको थियो । यी सबैमा श्रीभद्र शर्माको नेतृत्व रह्यो । यस्तै तनहुँकै चुँदी फाँटमा ‘मोहियानी हक’को आन्दोलन पनि चलाइएको थियो ।
पहिलो संसदीय निर्वाचनमा श्रीभद्र शर्मा तनहुँबाट उम्मेदवार भए तर सिंगो गण्डकी क्षेत्रको चुनाव प्रचारको नेतृत्व उनले गरेका थिए । गण्डकी क्षेत्रमा नेपाली कांग्रेसले निकै राम्रो प्रदर्शन गर्यो । तर, बीपी कोइरालाले चाहेर पनि उनलाई मन्त्री बनाउन सकेनन् । शर्मा पार्टीको महामन्त्री बनाइए । गोरखाको पालुङटारमा हवाई गिरान निर्माणमा उनको विशेष भूमिका रह्यो । उनका भाइ उमाभद्र शर्मा नै त्यहाँ ब्लक डेभलपमेन्ट अफिसरका रूपमा तैनाथ थिए । विसं २०१७ सालमा राजा महेन्द्रले सेनाको मद्दतले निर्वाचित सरकार र संसद् भङ्ग गरे । राजनीतिक स्वतन्त्रता खोसे ।
केही दिन जोगिएका श्रीभद्र शर्मा पनि पक्राउ परे । उनी ६ वर्षे कैद भुक्तान गरी २०२४ सालमा छुटे । त्यसपछि उनी केही समय सिम्पानी बसे । त्यहाँ बस्न नसकिने भएपछि चितवन गए । प्रशासनले निगरानी गर्न र दुःख दिन छाडेन । अन्ततः काठमाडौंमै बस्न थाले । नेपाली कांग्रेसले २०१८ मा कार्यवाहक सभापति सुवर्णशमशेर राणाको नेतृत्वमा थालेको पहिलो सशस्त्र आन्दोलन चीन–भारत युद्धपछि स्थगित गराइयो । देशमा कांग्रेसका कार्यकर्ताविरुद्ध धरपकड जारी नै थियो । कांग्रेसहरू ‘अराष्ट्रिय तत्व’ भनिन्थे । बीपी कोइराला लगायत नेता जेलमा थिए भने बनारस र कलकत्तामा हजारौं नेता कार्यकर्ता अलपत्र परेका थिए ।
यस्तो अवस्थामा सुवर्णशमशेरले बीपीहरूलाई जेलबाट छुटाउन र निर्वासनमा रहेका कार्यकर्तालाई घर फर्कने वातावरण बनाउन ‘प्रजातन्त्र फर्काउन राजालाई सहयोग गर्ने’ आशयको वक्तव्य दिए । बीपी, गणेशमान सिंहलगायतले सुवर्ण शमशेरको वक्तव्यको समर्थन गरे । सूर्यप्रसाद उपाध्याय देशभित्रै दरबारसँगको नियमित संवादमा थिए । सबैको संयुक्त प्रयासमा वक्तव्यमा समर्थन गर्नेहरू छुटे । निर्वासितहरूलाई आममाफी भयो भने नेपालभित्र थुनामा रहेकाहरू पनि छुटेका थिए ।
त्यसपछि बीपी भारत गए । सुवर्णशमशेरले सञ्चालन गर्दा नै सशस्त्र आन्दोलन असफल भइसकेको थियो । त्यसबाट कुनै पाठ नसिकी बीपीले सुवर्णशमशेरलगायत नेताहरूसँग परामर्श पनि नगरी सशस्त्र संघर्ष फेरि सुरु गर्ने घोषणा गरे । यसपटक भने नेपाली कांग्रेस स्पष्ट तीन खेमामा विभक्त भयो । पहिलो भारतबाट सशस्त्र आन्दोलन गर्ने बीपी कोइरालाको समूह, दोस्रो राजालाई विश्वास दिलाएर प्रजातान्त्रिक सुधार गराउने सुवर्ण समूह, तेस्रो धार थियो राजासँग मिलेर होइन आन्दोलनबाट प्रजातन्त्र ल्याउने तर देशबाहिर नजाने र हतियार पनि नउठाउने कृष्णप्रसाद भट्टराईको धार ।
बीपीलाई सशस्त्र संघर्षमा साथ दिन नसक्ने जानकारी दिएर श्रीभद्र शर्मा सुवर्णशमशेरको लाइनमा उभिए । यथार्थमा उनी सुवर्ण शमशेरकै निर्देशनमा काठमाडौं बसेर दरवारसँग संवाद अगाडि बढाउँदै थिए । शर्मा पनि भारत निर्वासनमा जान र हतियार उठाउन तयार भएनन् । पहिलो सशस्त्र आन्दोलनका बेलामा जेलमा भएकाले उनी धर्मसङ्कटबाट बचेका थिए । दरबारसँग संवाद गर्ने क्रममा बिस्तारै श्रीभद्र शर्मा र दरबारियाबीच विश्वास बढ्दै गएको थियो । यसबीच कैद माफी पाएका सयौं कार्यकर्ता देशभित्रै बस्न र गृहस्थी चलाउन थाले ।
उनीहरूमध्ये धेरै जना पञ्चायतका विभिन्न तहमा स्वेच्छा वा बाध्यतावश सहभागी पनि भए । यस क्रममा गण्डकी क्षेत्रका अधिकांश जिल्लाका पञ्चायतहरूमा कांग्रेस समर्थकहरूको उपस्थिति उल्लेख्य रहनपुग्यो । तिनले स्वाभाविकरूपमा श्रीभद्र शर्मालाई नेता मान्न पुगे । विधिवत् पञ्चायतको कुनै पदमा नपुग्दै श्रीभद्र शर्मा प्रजातन्त्रवादी पञ्चहरूको नेता बनिसकेका थिए । गण्डकी अञ्चलबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय पञ्चायतको चुनावमा श्रीभद्र शर्माको समर्थन निर्णायक हुने गथ्र्याे । श्रीभद्र शर्मामाथि सुविधाका लागि पार्टी छाडेर पञ्चायत प्रवेश गरेको आरोप लाग्ने गरेको छ । उनीमाथि पारिवारिक दायित्व थियो र छोराछोरी हुर्कँदा पञ्चायत प्रवेशले केही सहज पनि बनाएको हो ।
तर, त्यत्तिका लागि श्रीभद्र शर्माले राजासँग मिलेर पार्टीलाई धोका दिएका भन्नु भने अन्याय हुन्छ । बरु, व्यवस्थाको क्रमिक प्रजातान्त्रीकरणको लागि उनी राजालाई सहमत गराउन पञ्चायत प्रवेश गरेका थिए । उनको प्रवेशबाट पञ्चायतभित्रका प्रजातन्त्रवादीले केही हदसम्म सुरक्षित अनुभव गरेका थिए । विशुद्ध आदर्शका दृष्टिले उनको आलोचना गर्न मिल्छ तर व्यवहारमा उनले लिएको बाटोकै कारण देशका धेरै भागमा नेपाली कांग्रेसको संगठन तहसनहस हुँदा पनि गण्डकी क्षेत्रमा अपेक्षाकृत बलियो थियो । जनमत संग्रहमा बहुदलका पक्षमा र त्यसपछि पञ्चायतका चुनावहरूमा कांग्रेससँग निकट व्यक्तिहरू राष्ट्रिय पञ्चायत र जिल्ला पञ्चायतहरूमा जितेका थिए । उनी स्वयंले रापसाबाट २ पटक निर्वाचित भएका थिए ।
संविधान संशोधन सुधार सुझाव आयोगको सदस्यका रूपमा २०३१ सालमा उनी विधिवत् पञ्चायतसँग जोडिएका हुन् । यद्यपि, २०३२ को संविधान संशोधनबाट पञ्चायत थप अनुदार बनाइयो । भारतमा लागेको संकटकालले संविधान संशोधनको खाका नै फेरिएको थियो । त्यसपछि श्रीभद्र शर्मा राष्ट्रिय पञ्चायत सदस्य, राज्यमन्त्री र मन्त्री नियुक्त भए । यहीबीचमा बीपी कोइराला २०३३ मा ‘राष्ट्रिय मेलमिलाप’को नारा लिएर निर्वासनबाट स्वदेश फर्के ।
देशको राजनीति त्यस घटनाबाट प्रभावित हुन थाल्यो । बीपी स्वदेश फर्केर जेलमा पुगे भने सुवर्णशमशेरले बीपीलाई पार्टी बुझाएपछि देहत्याग गरे । यस्तो अवस्थामा नेपाली कांग्रेसका दोस्रो र तेस्रो तहका धेरै नेता विचलित हुन थाले । उनीहरूलाई एक्लाएक्लै पञ्चायतमा प्रवेश गराएर कमजोर बनाउने रणनीति पञ्चायतले अपनायो । पञ्चायतको यो रणनीति सफल हुन नदिन श्रीभद्र शर्माकै केन्द्रीयतामा ३८ समूहको निर्माण भयो ।
बखानसिंह गुरुङको नेतृत्वमा ३८ जना केन्द्रीय स्तरमा नेताहरूले प्रजातन्त्र स्थापनाका लागि राजालाई संगठितरूपमा सहयोग गर्ने वक्तव्य दिए । पञ्चायतभित्रका कट्टरपन्थी र कांग्रेसका क्रान्तिकारीहरू दुवै यस कदमबाट सशङ्कित भए । कट्टरपन्थीहरूले ‘अवैध दलको अस्तित्व’ देखाएको भन्दै ३८ समूहको विरोध गरे । राष्ट्रिय पञ्चायतमै यस विषयमा चर्को बहस भएको थियो । बखानसिंह समूह २०३६ को जनमत संग्रहमा बहुदलका पक्षमा लाग्यो । त्यसपछि बखानसिह गुरुङ, काशीनाथ गौतमलगायत केही नेताहरू राष्ट्रिय पञ्चायतको चुनावमा पनि सहभागी भए भने अधिकांश मूल पार्टीमै फर्के ।
श्रीभद्र शर्माले २०३६ सालमा राजालाई जनमत संग्रह नगराइकनै बहुदल घोषणा गर्ने सुझाव दिँदै राष्ट्रिय पञ्चायतको सदस्यताबाट राजीनामा दिए । उनलाई केही निर्वाचित रापसहरूले पनि साथ दिएका थिए । उनको तर्क थियो जनमत संग्रहले नेपाली जनतालाई राजाको पक्षविपक्षमा विभाजित गर्छ । यसबाट राजसंस्था विवादमा पर्छ । यसैले समयको चाप बुझेर बहुदल घोषणा भए देशमा प्रजातन्त्रको विकास पनि हुन्छ र राजसंस्था विवादमा पनि पर्दैन । पञ्चायतभित्रका कट्टरपन्थी र राजदरबारका भारदारहरूले पालनपोषण गरेका कम्युनिस्टहरूले श्रीभद्र शर्माहरूको सुझावको चर्को विरोध गरेका थिए ।
जनमत संग्रहपछि श्रीभद्र शर्मालगायत ठूलो संख्यामा कांग्रेसका पुराना र नयाँ नेताहरू पञ्चायतको चुनाव लडे । राष्ट्रिय पञ्चायतका साथै जिल्ला र गाउँ पञ्चायतमा धेरै ठाउँमा ‘बहुदलवादी’हरूले जितेका थिए । फलस्वरूप, बहुदलमा लागेका र पार्टीको संगठनमा पनि सक्रिय शिक्षकहरूको संरक्षण भयो । कांग्रेसको बाहुल्य भएको गाउँ भएकै कारण विकासका सानातिना योजनाबाट वञ्चित हुनु परेन । यसले २०४६ को आन्दोलन र त्यसपछिका निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने संगठन बचाइराख्न सहयोग पुग्यो ।
पञ्चायत प्रवेश गरेका केहीले कांग्रेसको संगठन कमजोर बनाउन र कार्यकर्तालाई पञ्चै बनाउन विशेष प्रयास गरेका र कतिले त त्यसका लागि साम, दान, दण्ड, भेद प्रयोग गरेको पनि देखिएको थियो । श्रीभद्र शर्माले भने आफ्ना निकटका कसैलाई पनि कांग्रेसबाट टाढा लान खोजेनन् । उनले चाहेका भए गण्डकी क्षेत्र विशेषगरी तनहुँ, लमजुङ, कास्की जिल्लाहरूमा कांग्रेसको संगठन कमजोर बनाउन सक्थे । यसैले पनि हुनसक्छ दरबारले २०३६ पछि उनलाई स्वीकार गरेन । सूर्यबहादुर थापामाथि महाभियोग लगाउने तारतम्यमा उनको र दरबारिया पञ्चबीच देखिएको निकटता धेरै टिकेन । लोकेन्द्रबहादुर चन्दले मन्त्री बनाउन खोज्दा दरबारले रोक्यो । पछि २०४६ सालको जनआन्दोलनका बेला भने चन्दको मन्त्रिपरिषद्मा बस्न उनैले अस्वीकार गरे । उनी पदलोलुप थिएनन् भन्ने पुष्टि यसले गर्छ ।
श्रीभद्र शर्माको राजनीतिक धारको समर्थन नगर्नेहरूले पनि व्यक्तिका रूपमा भने उनको सम्मान गर्छन् । देशव्यापी सम्बन्ध भएका र समाजको लगभग सबै वर्ग र समुदायका व्यक्तिसँग हार्दिक सम्बन्ध राख्नसक्ने बिरलै भेटिने मानवीय गुण श्रीभद्र शर्मामा थियो । पाहुना हुन गएका घरका गृहिणीहरू श्रीभद्र शर्मालाई खाना खुवाउन पाउँदा खुसी हुन्थे । खानाको प्रशंसा र खुवाउनेप्रति आभार प्रकट गर्ने उनको स्वभावले गृहिणीहरू उनलाई श्रद्धा गर्थे ।
राजनीतिक नेता र असल व्यक्तिका रूपमा श्रीभद्र शर्मा गण्डक क्षेत्रका उज्याला तारा हुन् । उनको विचार, बचन र व्यवहारमा अन्तर थिएन । नियतमा खोट थिएन । अहिले त्यस्ता नेता त के व्यक्ति पनि बिरलै भेटिन्छ । सायद, नियतिले विशेष कालखण्डका लागि नै विशेष व्यक्तित्वको निर्माण गर्छ । उनी जहाँ रहँदा पनि निष्ठावान् रहे र प्रजातन्त्र र राष्ट्रियताप्रति अविचल रहे । यही विशेषताले श्रीभद्र शर्मा उनका समकक्षी नेताहरू भन्दा फरक भएका हुन् ।
तपाईको प्रतिक्रिया