गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजनाः आविष्कारदेखि संसाधन उत्पादनसम्म

रिखिराम जिसी
पोखरा ।
गण्डकी विश्वविद्यालयले आगामी १० वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा विश्वविद्यालयले रणनैतिक योजना सार्वजनिक गरेको हो ।
रणनीतिक योजना कार्यान्वयनको चरण ५/५ वर्ष गरी २ भाग समेटिएको छ । पहिलो ५ वर्ष पूर्वाधार निर्माण, अनुसन्धान÷आविष्कारमा जाने र दोस्रो ५ वर्ष प्रदेशमा आवश्यक मानव संशाधन उत्पादन गर्ने योजना रहेको प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गिरिधारी पौडेलले बताए । उनैले विश्वविद्यालयको रणनीतिक योजना तयार पारेका हुन् ।
विश्वका ४० विश्वविद्यालयका रणनीतिक योजनाको नमुना अध्ययन यसबीचमा गरेको पौडेलले सुनाए । पौडेलले रणनीतिक योजनाले आम विषयभन्दा टेक्निकल विषयमा लैजाने र कक्षा कोठाभन्दा औद्योगिक अभ्यासमा जाने व्यक्त गरेको बताए । ‘देशलाई उत्पादनमा लैजानु छ, त्यसैले रणनीतिक योजनाले ‘जनरल’ विषयभन्दा ‘टेक्निकल’ विषयमा लैजाऊँ, क्लास रुमबाट औद्योगिक अभ्यासमा जाऊँ भन्छ,’ उनले भने ।
रणनीतिक योजना तयार गर्न १७५ घण्टा लेखेको उनले बताए । ‘रणनीतिक योजना बनाउने ३०÷४० वटा ढाँचा छन् । १७५ घण्टा लगाएर लेखेको छु,’ उनले भने, ‘यो लेख्दा ४० वटा विधिका मोडेल हेरेको छु ।’
अहिलेसम्म युनिभसिर्टीले विद्यार्थीलाई सर्टिफिकेट दिएर मात्रै पढाउने गरेको डा पौडेलले दाबी गरे । विद्यार्थी पढाउने प्रविधिको विकास गर्नुपर्नेमा उनको जोड थियो । ‘युनिभर्सिटीले अहिलेसम्म विद्यार्थी पढाउने र सर्टिफिकेट दिएर पढाउनेमात्रै भयो, तर प्रविधि विकास गरिएन,’ पौडेलले भने । विद्यार्थी सर्टिफिकेट लिएर जागिर खोज्न जाने भन्दा पनि उद्यमतिर लाग्ने बनाउनुपर्ने उनको भनाइ छ ।
उनले विश्वविद्यालयले नगरेको तर लुम्ले कृषि अनुसन्धान केन्द्रले गरेका उत्पादनबारे पनि सुनाए । उनले उक्त केन्द्रले वर्णसंकर गाई, छोम्रोङ धान, ठूलो बाला लाग्ने कोदो र वर्णसंकर कुखुरा विकास गरेको जानकारी दिए । प्राविधिक विषयको पढाइ विश्वविद्यालयमा गर्न १० जोड दुईका विद्यालयहरुमा विज्ञानको पढाइ अनिवार्य हुने उनको भनाइ थियो । ‘तर हाम्रो प्रदेशभर ७४ वटा प्लस टुमा मात्रै विज्ञान पढाइ हुन्छ,’ उनले भने, ‘एउटा पालिकामा विज्ञान पढाइ हुने एउटा प्लसटु हुनुपर्छ ।’
विश्वविद्यालयले लिएको रणनीतिक योजना कार्यान्वयनमा चुनौती रहेकाले आर्थिक स्रोतको सुनिश्चिता गर्न लाग्नुपर्ने गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । ‘चुनौती छ । अर्थको जोहो नगरिकन, अर्थको राम्रो व्यवस्था नगरिकन । आर्थिक पक्षले तगारो लाग्यो भने अगाडी बढ्न सक्दैन त्यसैले आर्थिक स्रोतको सुनिश्चित गर्न लाग्नुपर्छ,’ उनले भने । डा पौडेलले रणनीतिक योजना कार्यान्वयनका लागि आउँदो १० वर्षमा विश्वविद्यालयको बजेट ४ अर्ब पुग्नुपर्ने खाँचो औंल्याए ।
प्रदेशले विश्वविद्यालय खोल्नु भनेको साहसिक कुरा रहेको प्रदेश प्रमुख गुरुङले बताए । ‘विश्वविद्यालय खोल्नु साहसिक कुरा हो । अन्य प्रदेशले खोल्न सकेका छैनन्,’ गुरुङले भने । विश्वविद्यालयले आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्नुपर्नेमा उनको जोड थियो । योजना पुरा गर्न निरन्तर लाग्नुपर्नेमा प्रदेश प्रमुख गुरुङको जोड थियो । ‘सुरु गर्यो, बिचमै छोड्यो भने असमयमै मृत्यु हुन सक्छ,’ उनले भने, ‘आँट गर्नुभएको छ । केही समय कष्ट गर्नुभयो भने पछि सहज हुँदै जान्छ ।’
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले कोदोको रक्सी ब्रान्डिङ वैज्ञानिक अनुसन्धान भइरहेको जानकारी दिए । ‘कोदोको रक्सी ब्रान्डिङ गर्न वैज्ञानिक अनुसन्धान जारी छ । हाम्रो विश्वविद्यालयको सौन्दर्य आविष्कार केन्द्र हो । त्यसले केही प्रोडक्ट बाहिर ल्याउला,’ उनले भने । विश्वविद्यालयमा अहिले ५ विषयको पढाइ भइरहेको कुलपति प्राडा गुरुङले बताए ।
न्यासिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले रणनीतिक योजना समय सापेक्ष परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘चुनौती हामीसँग छन्, चुनौतीको सामना गरेर सयमसापेक्ष परिमार्जन गरेर लैजान्छौँ,’ उनले भने ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केशरजंग बरालले राम्रो योजना कार्यान्वयन हुन सक्दैन भने त्यो भन्दा खराब योजना कुनै हुन नसक्ने तर्क गरे । ‘योजना बनाउँदा हाम्रो भूमि र स्रोतलाई नहेरी विदेशी भूमिलाई हेरेर योजना बनायौँ भने त्यो पूरा गर्न कठिन हुने प्राडा बरालले बताए । योजना बनाउँदा हाम्रो स्रोत र हाम्रो भूमिलाई हेर्दैनौँ र विदेशी भूमि र विदेशी स्रोतलाई हेरेर योजना बनाउँछौँ । जसले गर्दा योजना पूरा गर्न कठिन हुन्छ,’ उनले भने ।
योजना नेतृत्व कसले गर्छ र कार्यान्वयन गर्न सक्छ भन्ने महत्वपूर्ण रहेको प्राडा बरालले बताए । ‘अरु देशमा मानविकी लोकप्रिय हुँदै आएको छ । समाजसँग जोडेपछि त्यो कामलाग्दो विषय हो,’ उनले भने ।
विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयको १० वर्षे रणनीतिक योजनाले विश्वविद्यालयको भिजनमा फोकस पुग्ने दाबी गरे । रणनीतिक योजनालाई बायस तथा भेदभावमा पनि अन्त्य हुने उनले विश्वास व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले १० वर्षे रणनीतिक योजना निकै मिहेनेतले तयार गरिएको बताए । ‘हाम्रो योजनाभित्र वर्क प्लान छ । यो अरुभन्दा फरक छ । चुनौती कार्यान्वयनको छ,’ उनले भने । कार्यक्रम सञ्चालन अधिकृत डोलराज सुवेदीले गरेका थिए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया