नेता र कार्यकर्ता, अभिनेता र दर्शक

डा सञ्जय कोइराला २०७९ असोज ३ गते १३:१६

नेताले कार्यकर्ताको नेतृत्व गर्छन्, अभिनेताले दर्शकको । नेता बनाउने कार्यकर्ताले हो, अभिनेता दर्शकले । विगत केही समयदेखि चलिरहेको सामाजिक गतिविधिले राजनीति र अभिनय दुवै क्षेत्रमा कता कता उस्तै उस्तै परिवर्तनको आभास दिइरहेको भान भइरहेको छ । यही बिषयलाई प्रसंगबस समान देखाउने उद्देश्य मैले यहाँ लिएको छु ।

कुनै एक नेता तपाइँ हाम्रो ठाउँमा भाषण गर्न आउँदा उनको पार्टीका कार्यकर्ताको जमात जसरी जम्मा हुन्छन्, त्यसरी नै आफ्नो प्रिय कलाकारको चलचित्र प्रदर्शन हुँदा दर्शक हलमा पुग्छन् । नेता होस् या अभिनेता दुबैलाई निकै आदर र सम्मान दिइने गर्छ । नेताको भाषण सुन्न अझै पनि आफ्नो कामकाज, खानपिन छोडेर पनि मानिसहरु भिडमा तँछाडमछाड गरेर जाने गर्छन् ।

आफू महंगा गाडीमा हिड्ने, महलमा बस्ने अनि जनतालाई खाली खुट्टा दौडिन लगाउने नेता, नेता हैनन् सामन्ती हुन्

Advertisement

त्यस्तै आफ्नो प्रिय अभिनेताको सिनेमा हेर्न कुनै बेला त लड्दै पर्दै ब्ल्याकमै भए पनि टिकट काटेर सिनेमा हाल पुगिने गथ्र्याे ।
त्यो एक जमाना थियो, जब मानिसलाई रंगिन सपनाले आकर्षण दिने गथ्र्याे । नेताहरुको रंगिन सपना, अभिनेताहरुको रंगिन दुनियाँ, दुवै आम मानिसको पहुँचको पर नै हुन्थे । तै पनि सबैको आस एकपल्ट हेर्न र भोग्नमात्र पाए पनि आफैंलाई सौभाग्यवान सम्झन्थे । कार्यकर्तामाझ नेताको र दर्शकका माझ अभिनेताको बिषयमा बृहद छलफल हुने गथ्र्याे । अहिले पनि नहुने हैन, तर त्यो तहमा हुँदैन । नयाँ नयाँ प्रविधिले उनीहरुको साख बढाएको पनि छ, घटाएको पनि छ ।

नेता, अभिनेता दुबैले आम मानिसलाई सपना बाँड्ने गर्छन् । नेताहरुले सपनाको दुनियाँ बनाउने त अभिनेताले सपनाको दुनियाँमा आफुलाई जियाउने गर्छ । नेताहरुले जनतालाई आशा, भरोसा दिन्छन् त अभिनेताहरुले मनोरञ्जन । तर दुर्भाग्यबस दुवै क्षणिक हुन्छन् । यसरी हेर्दा दुबैको कामको प्रकृति उस्तै उस्तै देखिन आउँछ । दुवै प्रायः आम मानिसको पहुँचबाट पर नै हुन्छन् । नेता डरले अभिनेता आदरको ओइरोले ।

Advertisement

तर अहिले किन हो किन एक्कासि आम मानिसमा कताबाट परिवर्तन आयो कुन्नि ? दुबैको अवस्था उस्तै हुँदै छ । जनताहरुले धेरै सपना देखेका भएर अब निद्राबाट ब्यूझन प्रयास गरेका हुन् कि, नेताहरुले देखाएका सपना नराम्रो भएर हो । भिनेताहरुको रंगिन संसारबाट बिरक्तिएर हो कि उनीहरुको करिज्मा घटेर हो, दुबैलाई अहिले बहुतै अफ्ठेरो परिरहेको छ । नेताहरुको भाषण सुन्ने र कुनै समयका सुपरस्टारहरुको चलचित्र हेर्ने, दुबैमा जनताले चासो दिन छाडी सकेको जस्तो लाग्दैछ ।

कुनै समय थियो जब जनतामा चेतना थिएन । जसले जता लग्यो उतै हिड्ने, जसले जे भने पनि पत्याई हाल्ने हामी जनता अशिक्षितमात्र होइन, विवेकसम्मत निर्णय पनि कम गर्न सक्थ्र्याै । नेताले बन्दुक भिराए भिरी दिने, अभिनेताले चुरोट खाएको देखे आफूले पनि खानु पर्ने, त्यसको असर के होला बुझ्न सक्ने क्षमताको विकास भएको थिएन । पुरानो सामन्तवादले जनतलाई अशिक्षित र अविकसित बनाएरै आफ्नो प्रभुत्व जमाइराख्न चाहेको थियो, अहिले जनता शिक्षित भए तर नव सामन्तवादीहरु आफू अशिक्षित भइरहेका छन् ।

आफ्नो शिक्षालाई झोलामा राखेर ढुंगा, मुढाको बलमा जनतालाई शिक्षित हुने अवसर प्रदान गरे, जसको लागि उनीहरु सम्मान योग्य छन्, तर आफू भने अज्ञानताको बाटोमै हिँडिरहे । पहिले जसका विरुद्ध जनतालाई जागरुक गराए अहिले तिनै जनता आफ्नो विरुद्ध उभिदै छन्, किनकि उनीहरु आफैं त्यही ठाउँमा पुग्दैछन् । जहाँ रहेका सामन्तलाई जनताको साथ पाएर उनीहरुलाई लखेटेका थिए । समय चक्र यसरी नै चल्दो रहेछ सायद, सबैलाइ एकपल्ट मौका दिने रहेछ ।

नेताको काम जनतालाई सपना बाँड्नेमात्र होइन, सँगै त्यही बाटोमा आफू पनि हिड्ने र सबैलाई सँगै लिएर पनि जाने हो । आफू महंगा गाडीमा हिड्ने, महलमा बस्ने अनि जनतालाई खाली खुट्टा दौडिन लगाउने नेता, नेता हैनन् सामन्ती हुन् । सामन्तवादका अनेक युगहरु छिचोल्दै नयाँ युगमा प्रवेश गरेका हामीलाई पुनः सामन्तवादमै पुर्‍याउने काम नेताहरुले गरिरहेका छन् । देश र जनताको नाममा जनतालाई उक्साएर आफूलाई सत्तामा पुर्‍याउने भर्‍याङको रुपमा प्रयोग गरिएको यथार्थ जनताले बुझ्न थालेका छन् ।

अभिनेताको काम प्रेम र द्वन्दको चरित्रमात्र पस्किने होइन, समाजमा भइरहेका कुरीतिहरुको ऐना बनेर जनतालाई सुसूचित गर्ने पनि हो । जनताले सहजै रुपमा बुझ्न सक्ने गरी आफ्नो कलाकारिताको माध्यमबाट समाजको ऐना बन्न कोसिस गर्नुपर्नेमा मात्र सपनाको रंगिन संसारमा भुलाउन खोज्नु अहिलेका अभिनेताहरुको कमजोरी हो । नेता, अभिनेता दुबैको उद्देश्य अहिलेको परिवेशमा एकै छ– जनतालाई भ्रममा राख्ने र आफ्नो दुनो सोझ्याउने । भाषा अलि कडा लाग्ला तर यथार्थ यही नै देखिएको छ ।

नेताको भाषणमा मात्रै जनताको पीर मर्का हुन्छन्, प्रायः अभिनेताको आदर्श पनि देखावटी नै । वास्तविकता दुबैको सत्य भन्दा कोसौं पर देखिन्छ । नेताहरुले जनतालाई सधैं सपना देखाई रहे, अभिनेताहरुले सपनामा जियाई रहे । दुबैको बाटो उस्तै देखिन्छ र त समयले दुबैलाई उस्तै मोडमा उभ्याएको होला । अतः सबैले जानेको तर बुझ्ने पर्ने कुरा हो– नाम चल्दैमा सधै ठाम पाइन्न, समय सापेक्ष काम पनि गर्नु पर्छ । आफ्नो उद्देश्य र कर्म भुलेपछी ढिलो, चाँडो जनताले उनीहरुलाई पनि भुल्ने नै छन् । इतिहास बन्छ, दोहोरिन्छ पनि ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया