माझठानामा स्वास्थ्य शिविर
लेखनाथ ।
स्वच्छ पोखरा, स्वस्थ पोख्रेली अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं.२८ को माझठानामा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड माझठाना सौरे र रत्न शोभा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बार्बरा हेल्पिङ ह्यान्डको प्राविधिक सहयोगमा जोर्नी तथा नशा रोगको निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा २ सयभन्दा बढीले सेवा लिएका थिए।
कर्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले आगामी दिनमा वडामा विभिन्न सामाजिक संघ, संस्थाले आयोजना गर्ने यस्ता सामाजिक तथा मानविय सेवाका कार्यमा वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे । हाड जोर्नी तथा नशा रोग विशषेज्ञ डा. रविमोहन ढकालले स्वच्छ पोखरा, स्वस्थ पोख्रेली अभियानका रुपमा जनतालाई स्वास्थयमा जागरुक गराउने उद्देश्यले विभिन्न सामाजिक संघ, संस्थासँग समन्वय गरी बार्बरा हेल्पिङ ह्यान्डले निशुल्क सेवा दिइरहेको बताए ।
डा. ढकालले स्वास्थ्य शिविरमा परीक्षण गरेका बिरामीलाई बार्बर हेल्पिङ ह्यान्ड पोखरा ३० शिशुवामा १ महिनासम्म निशुल्क परामर्शका साथै स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिए । असहाय, अशक्त, ज्येष्ठ नागरिकलाई पनि वडा सेवा केन्द्रको सिफारिसमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ईन्द्रप्रसाद जैसी, कालिका सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारी, शिक्षक ऋषिराम रानाभाट लगायतले मानव जीवनमा स्वास्थ्य अति नै जटिल बन्दै गएको बताउँदै स्वास्थ्यमा सजग रहुनपर्नेमा जोड दिए । रत्न शोभा माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर खत्रीले स्वागत गर्दै टोलवासीलाई स्वास्थ्यसम्बन्धी सचेतना गराउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
रत्न शोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया