बाघमारा सहकारीको वार्षिकोत्सवमा प्रदीप सम्मानित

समाधान संवाददाता २०७९ असोज ३ गते १७:३९

पोखरा ।
बाघमारा बहुउद्देश्यीय सहकारी पोखरा १७ ले पत्रकार प्रदीप पौडेललाई सञ्चारकर्मी सम्मान २०७९ बाट सम्मान गरेको छ । संस्थाको १० औं साधारणसभाको अवसरमा सोमबार भरतपोखरीमा आयोजित समारोहमा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले उनलाई नगदसहित सम्मान गरेका हुन् ।

२ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । इमेज च्यानलका गण्डकी ब्युरो पत्रकार पौडेल रेडियो बाराहीका समाचार प्रमुख हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य उनी फोटो पत्रकार संघ कास्की अध्यक्ष तथा नेपाल प्रेस युनियन कास्की सचिव हुन् । उनी यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार, युरआरएल पत्रकारिता पुरस्कार लगायत दर्जन बढी संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले महानगरको ग्रामीण क्षेत्र लक्षित गरी सहकारीका सिद्धान्तअनुरुप बाघमारा सहकारी सञ्चालनमा भएको बताए । उनले सहरमा केन्द्रित सहकारीले पैसा उठाउने र कमाउने काममात्रै गरेको टिप्पणी गरे । सहकारी बर्सेनि सञ्चारकर्मी सम्मान गर्दै आएको संस्थापक अध्यक्ष डिल्लीराम बरालले जनाए ।

Advertisement

सहकारीका अध्यक्ष तुलसीमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नन्दलाल काफ्ले, जिल्ला सहकारी संघका सदस्य चन्द्रा पराजुली, वडा ३३ का वडा सदस्य प्रकाशबहादुर कार्की, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, साना किसान सहकारी अध्यक्ष रामजीप्रसाद अधिकारी, शान्तिउदय स्कुल व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, उपाध्यक्ष रमा अधिकारी, शिक्षा समिति संयोजक अर्जुन अधिकारी र सचिव टुकराज भण्डारीले बोलेका थिए ।

२०७० वैशाख २० मा स्थापना भएको सहकारीको पुँजी ४ करोड १५ लाख छ । सहकारीले पोखराको बिरौटामा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीमा १ हजार १ सय ४० सदस्य छन् । सभामा सहकारीमा योगदान पुर्‍याउने संघ, संस्था, जनप्रतिनिधि, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, बचतकर्ता, कारोबारकर्ता, ज्येष्ठ सेयर सदस्य, सेयर सदस्यका एसइई र प्लस टुमा उत्कृष्ट हुने छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

संस्था अध्यक्ष तुलसीमणि अधिकारी, कोषाध्यक्ष बेलबहादुर कार्की र लेखा समिति संयोजक श्रीधर गिरीको प्रतिवेदन सभाले पारित गरेको छ ।

तपाईको प्रतिक्रिया