जनताले सोचे अनुसार प्रगति भएनः प्रदेश प्रमुख

समाधान संवाददाता २०७९ असोज ४ गते १०:४०

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारहरुबिच समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा संविधान दिवस २०७९ का अवसरमा सोमबार पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख गुरुङले तीन वटै तहको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न नसकेको बताएका हुन् । ३ तहकै सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

‘एक सरकारदेखि अर्का सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ,’ उनले भने । जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा र्पुयाउनेतर्फ लाग्नुपर्छ । अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको छ,’ उनले भने ।

बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै प्रदेश प्रमुख गुरुङले आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको उनको भनाइ छ । ‘अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको छ,’ उनले भने ।

Advertisement

उनले जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको पनि उनको भनाइ छ ।

संविधानले कल्पना गरेका विषय संविधान निर्माणपछिको समयमा कति कार्यान्वयन भए भन्नेकुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको प्रदेश प्रमुख गुरुङले औंल्याए । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं मूल समारोह समितिका संयोजक कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको बलिदानीपूर्ण संघर्षको जगमा प्राप्त संविधानले राजनीतिक मुद्दा टुंग्याएको बताए । सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै अब आर्थिक समृद्धि र विकासतर्फ लम्कनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले कल्पना गरेका विषय यसबीचमा कति कार्यान्वयन भए वा भएनन् समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए । यस अवधिमा बनेका कानुनको कार्यान्वयनको अवस्थाबारे पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रम अघि पोखराको शहीद चोकस्थित शहीदको शालिकमा माल्यार्पण गरी मुख्यमन्त्रीको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारीसहित प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया