नवौं राष्ट्रिय खेलकुद

महिला बास्केटबल तनहुँमा गर्न माग

समाधान संवाददाता २०७९ असोज ४ गते १०:५०

पोखरा ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् । प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।

खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दाप नि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गरे ।

व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्रांगणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पूर्वाधार थप गरी खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनका लागि आवश्यक प्रबन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिबद्दता जनाए । ‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ,’ न्यौपानेले भने ।

Advertisement

नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भएको र यो विषयमा नमिलेका कुरा केही नरहेको उनले दाबी गरे । ‘नमिलेको कुरा केही छैन, मिलेको छ, आज छलफल भयो अब प्रक्रियाअगाडि बढ्छ,’ उनले थपे । ‘स्टमेट’बाट आउने खर्च गर्न नगरपालिका तयार भएको यसमा शंका नगर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफूलाई अचम्म लागेको सुनाए । तनहुँले कम्तीमा एक खेल पाउनेमा आफूहरु विश्वस्त रहेको भए पनि खेल तालिका प्रकाशित हुदा तनहुँ नपर्दा दुःख लागेको उनको भनाइ छ । अब महिला बास्केटबल जुनसुकै हालतमा तनहुँमा हुनुपर्नेमा उनको जोड थियो । ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय होइन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेक गर्छु,’ चुमानले भने ।

Advertisement

खेल मैदान व्यवस्थापन उपसमिति संयोजक गुरुङले तनहुँले राखेको इच्छाको बारेमा राखेप सदस्य सचिवसँग कुरा गर्ने बताए । ‘महिला बास्केटबल पृथ्वीनारायाण क्याम्पसमा हुने भनेर तालिका प्रकाशित भइसकेको छ, तनहुँले व्यवस्थापन गर्छ भने सदस्य सचिवसँग कुरा गर्छु, ठाउँमा कुरा पु¥याउछु,’ उनले भने ।

एक हप्ताभित्र बास्केटबलकोर्ट तयार भए खेल सञ्चालन गर्न सम्भव हुनसक्ने उनको भनाइ थियो । ‘निर्मल माविमा रहेको बास्केटबल कोर्ट एक हप्ताभित्र तयार पार्ने काम भयो भने त्यो सम्भव हुन सक्छ । त्यसैले आजबाटै ग्राउन्ड मर्मत र खेलाडीको व्यवस्थापन गर्नका लागि काम थाल्नुहोस्,’ गुरुङले भने । नगरपालिकाका मेयरले गरेको प्रतिवद्धताले आफूलाई ऊर्जा थपेको भन्दै उनले प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाउन आग्रह गरे ।

इन्जिनियर अनिल अधिकारीले महिला बास्केटबलका लागि निर्मल माविको कोर्ट उपयुुक्त रहेको बताए । ‘बास्केटबलका लागि कोर्ट उपयुक्त छ, केही मर्मत तथा अस्थायी संरचना यहीँ भएको स्रोत साधन प्रयोग गरेर बनाउन सकिन्छ,’ उनले भने ।
जिल्ला खेलकुद विकास समिति तनहुँ अध्यक्ष अनिल पाण्डेले स्थानीय सरकार लगायतको सहयोगमा तनहुँ खेल सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीं असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ ।

तपाईको प्रतिक्रिया