सम्पादकीयः नमुना विश्वविद्यालयका लागि योजना

समाधान संवाददाता २०७९ असोज ४ गते १२:००

देशको आर्थिक विकासका लागि उद्यमशील र प्राविधिक शिक्षा चाहिन्छ । नेपालका विश्वविद्यालयमा परम्परावादी शिक्षण हुन्छ । जसले न त विद्यार्थीलाई सीप प्रदान गर्न सक्यो, न आर्थिक उपार्जनको माध्यमको विकास नै भयो । यस्तो अवस्थामा नेपालमा प्राविधिक धारको विद्यार्थीलाई उद्यमशील र आर्थिक रूपमा सबल तथा सक्षम बनाउने शिक्षालय जरुरी हुन्छ । जसले सीप सिकाइ वृद्धि गरी स्वरोजगारीको सिर्जना गर्नुका साथै आर्थिक रूपमा सबल र सक्षम बनाउन सहयोग गर्छ ।

विश्वविद्यालय ज्ञान प्रदान गर्ने थलोमात्र होइन, अध्ययन, अनुन्धान गरी नयाँ ज्ञान समाजमा लैजाने संस्था पनि हो । हाल नेपालमा ११ वटा केन्द्रीय विश्वविद्यालय छन् । विश्वविद्यालय सरहका प्रतिष्ठानहरू पनि छन् । ती विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हेर्ने हो भने कतिपयमा १ हजार जना पनि छैनन् । नेपालका विश्वविद्यालयमध्ये फरक खालको विश्वविद्यालय हो गण्डकी विश्वविद्यालय ।

गण्डकी सरकारले स्थापना र सञ्चालन गरेको यो विश्वविद्यालयमा कुलपति राजनीति नेतृत्व नहुने व्यवस्था छ । नेपालमा स्थापना भएका कतिपय विश्वविद्यालय जुन उद्देश्यका साथ स्थापन गरिएको थियो, ती विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको शोधपत्र र अनुसन्धान हेर्दा ती विश्वविद्यालयले उद्देश्य नै भुलेको भान हुन्छ । यस्तो अवस्थामा थप विश्वविद्यालय खोल्नुको कुनै औचित्य पुष्टि गर्नुपर्ने चुनौती छ । गण्डकी विश्वविद्यालयले आगामी १० वर्षका लागि रणनीतिक योजना बनाएको छ ।

Advertisement

रणनीतिक योजना कार्यान्वयनका चरण तोकिएको छ । पहिलो ५ वर्ष पूर्वाधार निर्माण, अनुसन्धान/आविष्कारमा र दोस्रो ५ वर्ष प्रदेशमा आवश्यक मानव संशाधन उत्पादन गर्ने योजना छ । प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गिरिधारी पौडेलले विश्वका ४० विश्वविद्यालयका रणनीतिक योजनाको नमुना अध्ययन गरी यो योजना बनाएको दाबी गरेका छन् । प्रमाणपत्र लिएर विद्यार्थी जागिर खोज्न जाने होइन, उद्यमतिर लाग्नसक्ने जनशक्ति बनाउने यो योजनाको लक्ष्य छ ।

यो विश्वविद्यालयले रणनीतिक योजना त बनाएको छ । तर यसको कार्यान्वयनका लागि आवश्यक पर्ने आर्थिक स्रोतको सुनिश्चितता छैन । आउँदो १० वर्षमा यो योजना कार्यान्वय हुन विश्वविद्यालयको बजेट ४ अर्ब पुग्नुपर्ने बताइन्छ । जुन असम्भव नभए पनि निकै कठिन छ । प्रदेशले विश्वविद्यालय खोलेर आवश्यकता अनुसारको जनशक्ति तयार गर्नु राम्रो कुरा हो । तर गण्डकी प्रदेशमै रहेको अर्काे विश्वविद्यालय पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका धेरै आंगिक क्याम्पसको तुलनामा नयाँ विश्वविद्यालयको पूर्वाध र बजेट निकै कम छ ।

Advertisement

जसका कारण यसले लिएका लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण छ । यो विश्वविद्यालयमा अहिले ५ विषयको पढाइ भइरहेको छ । थप विषय अध्यापन गर्ने तयारी पनि छ । विश्वविद्यालयलाई साच्चिकै जीवन्त विश्वविद्यालय बनाउन धेरै पक्षमा ध्यान दिनु जरुरी हुन्छ । गण्डकी विश्वविद्यालयको भविष्य सरोकारवालाको आगामी भूमिकामा निर्भर हुन्छ ।

तपाईको प्रतिक्रिया