करुणाले भरिएका डाक्टर कुमार

कृष्ण आचार्य २०७९ असोज ४ गते १२:१३

‘पहिला पहिला त डाक्टर भनेको भगवानको रुप हो भन्थे मान्छेहरु ! मान्न पनि भगवान जस्तै मान्थे नि डाक्टरलाई त त्यो बेला । अहिले त केही डाक्टरले कमिसनको चक्करमा फसेर आफूलाई त बदनाम गराए गराए, यो पेसाकै पनि बदनाम गराइदिए । हिजोआज आफूलाई डाक्टर भन्दा नि लाज लाग्ने जस्तो पो भईसक्यो त !’

Advertisement

हाम्रा अधिकांश भेटमा उहाँले भन्ने गरेका यी वाक्यले अझै मन घोत्लिन्छ । म सोध्ने गर्थे किन यस्तो भन्नुहुन्छ उहाँ ? उहाँ भन्नुहुन्थ्यो, ‘अहिलेका केही डाक्टरले त आफ्नो धर्म पनि भुले बाबू । पैसा आउँछ भने पछि त जे पनि गर्दिने भए । डाक्टरको इथिक्स भन्ने पनि हुन्छ नि । पैसामात्रै सबै थोक त कहाँ हो र । हामीले त डाक्टर पढ्ने बेलैमा सेवा गर्छौ भनेर कसम खाएका हुन्छौं ।’

उहाँ अर्थात् पोखराका फादर अफ एलोपेथिक मेडिसिन वरिष्ठ चिकित्सक कुमारशम्सेर राणा अब हामीमाझ हुनुहुन्न भन्ने सम्झदामात्रै पनि मन भारी भएर आउँछ । आफ्नो जीवनको लामो समय गरिब जनताको उपचारमा समर्पित गर्नु भएका डाक्टर कुमारले २०७९ साल भदौ २४ गते शुक्रबार बिहान ७ः१० मा अन्तिम स्वास फेर्नु भयो ।

Advertisement

उहाँ धेरै गरिब बिरामीको निशुल्क उपचार गर्नुहुन्थ्यो । आफैं औषधी दिनुहुन्थ्यो र केही बिरामीलाई त घर जाने भाडासमेत हालेर पठाउनु हुन्थ्यो ।

विस १९९६ साउन २५ गते पाल्पा दरबारमा पिता धैर्यशम्सेर जबरा र माता पद्मकुमारी राणाको कोखबाट जन्मनु भएका डाक्टर राणाले पाल्पा दरबारमा नै प्रारम्भिक शिक्षा लिनु भएको थियो । त्यसपछि काठमाडौंको दरबार हाइ स्कुलबाट थप अध्ययन गर्नु भएका राणाले भारतको नैनीतालबाट एसएलसी र आइएसीसम्मको पठाई पूरा गर्नु भएको थियो । डाक्टर कुमारले एमबिबिस अध्ययनचाहिँ कोलम्बो प्लन अन्तर्गत भारतको लखनउबाट गर्नु भएको थियो भने एमपिएचको अध्ययन संयुक्त राज्य अमेरिकाबाट पूरा गर्नु भएको थियो ।

Advertisement

भक्तपुर अस्पतालबाट विस २०१९ देखि औपचारिक रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नु भएका डा राणा विस २०२७ देखि पोखराको गण्डकी अस्पताल (तात्कालीन समयमा सोल्लर बोर्ड अस्पताल भनेर चिनिन्थ्यो रे ! हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अर्थात् पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान)मा सरुवा भएर आउनु भएको थियो । पोखरा आउनुअघि उहाँले केही समय पाटन अस्पताल र तेह्रथुमको अस्पताल पनि सेवा गर्नु भएको थियो । पोखरा सरुवा भएर आएपछि भने डाक्टर कुमारले पोखरालाई छाडेर कहिल्यै कहिँ जानु भएन ।

उहाँ पोखरामा नै बसेर यस क्षेत्रका बिरामीको उपचारमा अहोरात्र खटिरहनु भयो । यतिसम्म कि उहाँ ८५ वर्षको उमेरमा यो संसारबाट बिदा हुँदै गर्दाको १५ दिनअघिसम्म पनि बिरामीको उपचारमा तल्लीन हुनुहुन्थ्यो । राणा परिवारमा जन्मिए पनि उहाँले निकै सरल र सामान्य जीवन व्यतित गर्नुभयो ।

पोखरा आएपछि गण्डकी अस्पतालले मात्रै बिरामीको उपचार थेग्न नसक्ने ठानेर उहाँकै पहलमा सर्वसुलभ र छिटो सेवा दिने उदेश्यले निजी क्लिनिक पद्म पोलीक्लिनिक स्थापना भयो । जुन क्लिनिकपछि पद्म नर्सिङ होमको रुपमा पोखराको न्युरोडमा झण्डै ३ दशक सञ्चालनमा रह्यो । यो नर्सिङ होम अब आफ्नै सुविधा सम्पन्न भवन नदिपुरबाट सञ्चालनमा आउने तयारीमा छ । तर आफ्नै भवनबाट सञ्चालनमा आएको देख्ने सौभाग्यचाहिँ जन्मदाता डाक्टर कुमारले भने पाउनु भएन ।

२०२२ सालमा रेवा शाह (राणा)सँग वैवाहिक बन्धनमा बाँधिनु भएका डाक्टर कुमार जीवनको उत्तराद्र्धतिर भने पत्नी वियोग र पुत्र वियोग सामना गर्न बाध्य हुनुभयो । उहाँही पत्नीको २०७३ सालमा निधन भएको थियो भने त्यसको केही वर्षपछि नै एकमात्रै छोरा विनायकशम्सेर राणाको पनि मृत्यु भयो । डाक्टर कुमारशम्सेर राणाको अन्तिम संस्कार भने उहाँकै नाति समृद्ध राणाले गर्नु भएको छ ।

आफ्नो जीवनको झण्डै ६ दशक बिरामीको उपचारमा बिताउनु भएका डाक्टर कुमारले गरिब बिरामीको उपचार गर्न पाउँदा आफूलाई साँच्चै डाक्टर भएको अनुभूति हुन्छ भनेर बेला बेला सुनाइरहनु हुन्थ्यो । सौभाग्य भनौं, पद्म नर्सिङ होम प्रालिमा उहाँसँगै ५ वर्ष सहकर्मी बनेर काम अवसर मैले पनि प्राप्त गरें । यो समयमा उहाँले बिरामीप्रति अझ त्यसमा पनि गरिब बिरामीप्रति दर्शाएको सेवा भाव देख्दा लाग्थ्यो, डाक्टरलाई यसै भगवानको रुप भनिएको त पक्कै होइन । प्राइभेट अस्पतालमा नै काम गर्ने डाक्टर भए पनि उहाँ धेरै गरिब बिरामीको निशुल्क उपचार गर्नुहुन्थ्यो । आफैं औषधी दिनुहुन्थ्यो र केही बिरामीलाई त घर जाने भाडासमेत हालेर पठाउनु भएको हामीले नै देख्यौं ।

उहाँ बिरामीलाई अनावश्यक जाँच लेख्न हुन्न भन्नेमा अडिग हुनुहुन्थ्यो । मेडिकल माफिया र कमिसन एजेन्टहरु उहाँको नजिक पर्नै डराउँथे । कमिसनको प्रस्ताव कसैले राखिहाल्यो भने पनि उहाँको उत्तर हुथ्यो, ‘मलाई आउने कमिसन बापतको पैसा बिरामीलाई नै छुट गर्दिनू, मलाई अहिलेसम्म खान पुगेकै छ ।’ मेरा बिरामी गरिब छन्, महँगो औषधी किन्न सक्दैनन् भन्दै सकेसम्म कम मूल्यका औषधीमा उहाँ जोड दिनुहुन्थ्यो । अनावश्यक औषधी दिनु डाक्टरको इथिक्स विरुद्धको अपराध हो भन्नेमा उहाँको सधै जोड रहन्थ्यो । अहिलेका केही डाक्टर डाक्टर जस्ता भएनन् भन्ने गुनासो उहाँमा जीवनको अन्तसम्म पनि रहिरह्यो ।

उहाँ कार्यलयमा काम गर्ने कर्मचारी र सहयोगीलाई आफ्नै परिवारको सदस्य जस्तै ठान्नु हुन्थ्यो । व्यवाहर पनि त्यस्तै गर्नु हुन्थ्यो । फुर्सद भयो कि चुरोट पिइरहने उहाँको बानी थियो । कसैले तपाईले डाक्टर भएर नि चुरोट खानु हुँदो र्रछ त भन्यो भने उहाँको ठट्टा हुन्थ्यो, ‘डाक्टरले जे भन्छ, त्यो गर्ने, डाक्टरले जे गर्छ, त्यो नगर्ने ! मलाई त मर्न मन लागेको छ, तिमीलाई पनि मर्न मन छ र ?”

धेरै बिरामीको रोग निको बनाउनु भएका डाक्टर कुमार आफू भने दम र मधुमेहको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई जीवनको अन्त समयमा निमोनियाको समस्या पनि थपिएको थियो । त्यही निमोनिया नै उहाँको मृत्युको कारण बन्यो ।
डाक्टर राणाले पोखराको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पोखरा महानगरपालिकाले ०५७ सालमा पोखरा नवरत्न सम्मान प्रदान गरेको थियो । त्यस्तै, मेजर वीरसिंह स्मृति प्रतिष्ठानले पनि उनलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो भने ०६१ सालमा रेडियो अन्नपूर्णले पोखरा रत्न सम्मान प्रदान गरेको थियो ।

डा. कुमारलाई माछापुच्छ्रे एफएम, नेपाल कुष्ठरोग निवारण संघ केन्द्रीय कार्यालय, हिमाली सांस्कृतिक परिवार, अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा युनिभर्सिटी स्टुडेन्ट एसोसिएसन लगायतले सम्मान व्यक्त गरेका थिए भने डा. कुमार श्री विभूपति शिक्षा समाज सेवा पुरस्कार ०५७ बाट पुरस्कृत हुनु भएको थियो ।

डाक्टर राणाको स्वर्गारोहणसँगै पोखराको चिकित्सा क्षेत्रबाट एक चम्किलो तारा कहिल्यै नउदाउने गरी अस्ताएको छ । स्वास्थ्य क्षेत्रको एउटा जिउँदो इतिहास अन्त्य भएको छ । पोखरामा नजन्मेको भए पनि उहाँले पोखरालाई कर्मथलो बनाएर धेरै ठूलो गुन लगाएर जानु भएको छ । डाक्टर कुमारलाई पोखराले जुगौं जुग सम्झिरहनेछ । आदरणीय डाक्टर कुमारशम्सेर राणाप्रति भावपूर्ण श्रद्धाञ्जली ! अल बिदा डा. कुमार !

तपाईको प्रतिक्रिया