यातायातमा लगानी र श्रमको सुरक्षा नभएको गुनासो

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका यातायात व्यवसायी कम्पनी प्रालि तथा समितिमा निर्वाचित कमिटीलाई सोमबार सम्मान गरेको छ । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले यातायात क्षेत्रमा लगानी अनुसारको प्रतिफल, दिगोपन र सुरक्षा प्रमुख समस्या रहेको बताए ।
उनले व्यवसायीले लगानी अनुसारको मुनाफा तथा श्रमिकको लगानी अनुसारको प्रतिफल पाउन नसकेको उल्लेख गरे । ‘यातायातको क्षेत्रमा निजी क्षेत्रको १० अर्ब लगानी सुरक्षित छैन,’ अध्यक्ष राईले भने, ‘यातायातमा पुँजी तथा श्रमको लगानीमा दिगोपन छैन । व्यवसायीको पेशा व्यवसाय र श्रमिकको रोजगारीमा दिगोपनको अभाव छ ।’ उनले यातायात क्षेत्रमा निजी क्षेत्रको लगानीको संरक्षण र सुरक्षाको ग्यारेन्टी राज्यले नगरेको आरोप लगाए । उनले सरकारी निकायले भाडा निर्धारण र नियमनमात्र गरेको उल्लेख गरे ।
अध्यक्ष राईले सरकारले २० वर्षे सवारीलाई विस्थापन गर्न लागेकोमा असहमति प्रकट गरे । उनले त्यस्तो नीति रोक्न नसके स्वरोजगार व्यवसायी सडकमा पुग्ने दाबी गरे । उनले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यान्त्रिक परीक्षणको आधारमा उपयुक्त सवारी साधनलाई मात्र चल्न दिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयन नभएको जानकारी दिए ।
उनले संसदीय समितिको सुझाव कानुनसरह हुने दाबी गरे । अध्यक्ष राईले सबै प्रदेशमा फिटनेस भेइकल टेस्ट सेन्टर राखेर क्रमशः सवारी विस्थापित गर्न सकिने विकल्प प्रस्तुत गरे । उनले संगठनले अबको १० वर्षको यातायात नीति कस्तो बनाउने विषयमा सरोकारवालासँग छलफल चलाएको बताए । सवारी दुर्घटनाको रोकथाम तथा नियन्त्रणको लागि सडक सुरक्षा परिषद गठन गर्न उनले माग गरे ।
पृथ्वी राजमार्ग बस कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले निजी क्षेत्रको लगानीको संरक्षण र यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरकार जिम्मेवार नभएको गुनासो गरे । उनले पटक पटक इन्धनको मूल्य बढे पनि सार्वजनिक सवारी साधनको भाडामा मुल्य समायोजन नभएको जानकारी दिए । कार्यक्रममा संगठनका अग्रज सदस्य दिलबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल यातायात मजदुर संगठनका केन्द्रीय कमिटीका महसचिव केशव थापा ‘निरु’ संगठनका उपमहासचिव विष्णुबहादुर पराजुली, सार्वजनिक यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव गान्धीराज गिरी, गण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र तिवारी, संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष श्यामकुमार बजगाईं, सचिव बेनीराज लामोदुरी इकाईका अध्यक्ष श्यामकुमार बजगाई, सचिव बेनीराज थिंङ लगायतले सार्वजनिक यातायात क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया