पोखराका १३ मासु व्यवसायीलाई जरिवाना

समाधान संवाददाता २०७९ असोज ५ गते १०:२६

पोखरा ।
पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो । नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो ।

समितिले दर्ता, मूल्यसूची र सरसफाइ र मापदण्ड अनुगमन गरेको थियो । सो क्रममा २५ मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘खुला रुपमा मासु राखेर बिक्री, वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘२५ जनामध्ये मंगलबार १३ जनालाई ५ हजारका दरले जरिवानासहित गल्ती नदोहो¥याउने सर्तमा छोडिएको छ । बाँकीलाई बुधबार बोलाइएको छ ।’

‘सोमबार अनुगमन गरिएका सबै मासु पसल दर्ता नभएका र मापदण्ड विपरीत छन्,’ बजार अनुगमन समितिका सदस्य सचिव भरतराज पौडेलले भने, ‘पसल सञ्चालकलाई मापदण्ड पुर्‍याएर सञ्चालन गर्न निर्देशन दिएका छौं ।’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताए । उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुला रुपमा राखिएको, मापदण्ड विपरीत पसल सञ्चालन भएको र प्रजनन अंग पहिचान नभएका पशुको मासु बिक्री भएको देखिएको जनाए ।

Advertisement

पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो । अनुगमन समितिले लिङ पहिचान नभएको शंकामा ७ केजी मासु जफत गरेको छ । पोखरा महानगरपालिकाकी कार्यावहाक प्रमुख एवं महानगर बजार अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले चाडपर्वमा मासुको अत्यधिक प्रयोग हुने भएकाले मासु पसलबाट अनुगमन सुरुवात गरिएको बताइन् । ‘यो अनुगमनको सुरुवातमात्रै हो,’ उनले भनिन्, ‘अब नियमित रुपमा हुन्छ, खाद्यान्न लगायत पसलमा पनि अनुगमन गर्छाैं ।’

संयोजक गुरुङ विगतमा भन्दा व्यवसायीहरु सुधारिएको र नागरिक पनि सचेत भएको सुनाइन् । पैसा तिरेपछि उपभोक्ताले गुणस्तरीय समान पाउनुपर्नेमा उनले जोड दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया