पाेखरा ३० मा धारा विस्तार

समाधान संवाददाता २०७९ असोज ५ गते १३:१९

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० स्थित शिवालय टोल विकास संस्थाद्धारा संञ्चालित सिस्नेमुल बेलाउतीबारी खानेपानी उपभोक्ता समितिले मंगलबारबाट धारा विस्तार कार्यक्रम शुरु गरेको छ ।

Advertisement

स्थानीय सिस्नेमुलबाट झण्डै १०० मिटर माथी डाँडामा पानी लिफ्टिीङ गरेर ३० घरधुरीलाई वितरण गर्दै आएको समितिले क्षमता विस्तार गरी २० धारा थप गर्ने कार्यक्रमको शुभारम्भ गरेको हो । समितिले १३ लाखको लगानीमा २० हजार लिटर बाट ट्याङकी थप गरी ५० हजार लिटर पानी जम्मा गर्ने क्षमता विस्तार गरेपछि थप धारा वितरण कार्य शुरु गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले स्वच्छ पिउने पानीको वितरण वडाको पहिलो प्राथमिकतामा पर्ने वताउँदै त्यसमा पनि पहाडी बेल्टका उपभोक्ताहरुलाई प्राथमिकता दिईने वताएका थिए ।

Advertisement

समथर भु–भागमा अन्य थुप्रै विकल्पहरु रहेको वताउँदै पहाडी बेल्टहरुमा १ गाग्री पानीका लागी घण्टौ समय खर्चनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने वताएका थिए । उनले महानगरको वडाभित्रको पनि विकट ठाउँको रुपमा रहेको ठाटडाँडालाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागी पनि वडाले सक्दो पहल र प्रयास गर्ने बताएका थिए ।

उक्त अवसरमा नेपाली काँग्रेस पोखरा–३० का सभापति ध्रुवराज न्यौपानेले ठाटडाँडालाई विकास गरी त्यहाँका वासिन्दाको जिवनस्तर उकास्ने कार्यमा राजनितिक दलहरुको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

Advertisement

नेकपा एमाले पोखरा–३० का अध्यक्ष कृष्ण अधिकारीले जनतालाई शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानी प्रदान गर्नु राज्यको दायीत्व भएको वताउँदै यसतर्फ जनप्रतिनिधीहरुको ध्यान जानुपर्ने र राज्वयले लगानी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पोखरा–३० का उपाध्यक्ष जिवन ढकाल, वडा नं. ३० का वडा सचिव राजेन्द्र पौडेल, वडा सदस्य भिम कुमारी गर्बुजा पुन, साउनेपानी र्याले ठाटडाँडा वन उपभोक्ता समितिका अध्यक्ष दुर्गादक्त अधिकारी र सिस्नेमुल बेलाउतीबारी खानेपानी निर्माण उपभोक्ता समितिका सचिव गीतादेवी वञ्जारा लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन शिवालय टोल विकास संस्थाकी सचिव शोभादेवी न्यौपानेले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया