ती साहसी सहाना

समाधान संवाददाता २०७९ असोज ५ गते १९:२३

झपट रानाभाट
वि.स.१९८४ असार २७ गते बुवा शङ्करलाल र आमा रम्भाको छोरीको रूपमा काठमाडौको असन त्यौडामा सहाना प्रधानको जन्म भएको थियो। उहाँको भाइ ८ महिनाको हुँदै आमा रम्भाको निधन भएकोले सानै उमेरमा वहाँ मातृवात्सल्यताबाट बिमुख हुनुभो । क्रूर निरङ्कुश,जहानिया,फासिस्ट एकतन्त्रीय राणाशासनको अन्धकारभित्र पनि बि.स. २००४ सालमै महिला शिक्षाको माग गर्दै जुलुस निकाल्ने, आमरण अनशन बस्ने र पक्राउ खाने साहसी महिलाहरु सहाना,कनकलता,स्नेहलता र वहाँकी दिदी साधनामा पनि एउटा अग्रणी,वहाँहरुको पनि नेता हुनुहुन्छ सहाना प्रधान । त्यो जगबाट उठेर सहाना नेपालको बाम–लोकतान्त्रिक आन्दोनलनकै एक सशक्त नेताको रूपमा पछिल्लो कालमा स्थापित भएको नाम पनि हो । त्यसको अतिरिक्त आफ्नो वैवाहिक सम्बन्धका कारणले पनि उहाँको राजनीतिक जीवन यात्राले अग्रगामी र नयाँ दिशा प्राप्त गर्‍यो ।

सहानाको विवाह नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जो १९९७ सालका शहीद पर्वमा महान् शहीदहरू मध्येका कान्छा शहीद गंगालालका सहोदर माहिला भाइ हुनुहुन्थ्यो, वहाँसँग २०१० साल माघमा भएको थियो ,त्यतिबेलै वहाँले भारतका विभिन्न बिश्वबिद्धालयबाट स्नातक र स्नातकोत्तर गरिसक्नुभएको थियो। यसरी सम्मानित शहीद परिवार र नेपाली राजनीतिलाई नयाँ दिशा र गति दिने नेतासँग सहानाको आन्दोलनकारी बन्दै गएको व्यक्तित्व जोडिन पुग्दा त्यो अझ प्रकाशमय भयो,उज्यालियो र त्यसले नयाँ उचाइ पाउने बाटो लियो तर वैवाहिक जीवनपछि र खासगरी २०१३ सालपछि पारिवारिक जिम्मेवारी सम्हाल्न लाग्दा सहानाको राजनीतिक व्यक्तित्व निष्किृय प्रायः हुनपुग्यो । पहिला पनि शिक्षण पेशामा संलग्न सहाना ०१७ साल पौष ०१ को राजा महेन्द्रको प्रतिगामी शाही काण्ड र देशमा सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था लादिएपछि भने प्राध्यापन पेशामा संलग्न हुन पुग्नुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ, अग्रणी र निष्ठावान नेता पति पुष्पलाल शाही कदमपछि भूमिगत हुँदै भारत प्रवासिएको अवस्थामा उहाँले त्रिचन्द्र,पद्मकन्या र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस लगायतमा प्राध्यापन गर्न थाल्नु भयो र त्यसैबाट जीवन गुजारा गर्नुभयो । यो कुरा पञ्चायती शासकहरूको आँखाबाट लुकेको कुरा थिएन । त्यसैले सहानाले पन्चायती शासकहरुका अनेकखाले दमन र पीडाका बीच काम गर्न बाध्य हुनुपरेको कुरा बुझ्न कुनै गाह्रो छैन ।

Advertisement

राजाको प्रत्यक्ष निगरानीमा चलाइएको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाले आरम्भदेखि नै विरोधको सामना गर्नु परेको थियो । त्यसैले पञ्चायत इतरका कम्युनिस्ट र काङ्ग्रेस , तिनका समर्थक तथा शुभचिन्तक एवं आफन्तहरूलाई अनेक किसिमले दुःखदिने, धरपकड गर्ने, मुद्दा लगाउने र कारागार कोच्ने र हत्या गर्नेसम्मका दमनकारी हतकण्डा पञ्चायती शासकहरुले गरेका थिए । पञ्चायतले उग्र फाशिष्टरूप लिंदै गएको र गाउँ फर्क अभियानको नाममा यसलाई अझ दमनकारी बनाइयो र जनतालाई झनै प्रताडित तुल्याइयो ।

त्यसै क्रममा २०३२ सालमा त्रिभुवन विश्वविद्यालयका दर्जनौ प्राध्यापकहरू बर्खास्त गरिए । त्यसरी बर्खास्तमा पर्नेहरूमा सहाना प्रधान, बीसी मल्ल (बासुदेव चन्द्र मल्ल) हरूको नाम सबैभन्दा अगाडि थियो । मल्ल नेपाली कांग्रेस पक्षधर प्राध्यापक हुनुहुन्थ्यो । उहाँहरूलाई खासगरी २०३२ सालमा त्रिविविमा भएको विद्यार्थी आन्दोलनलाई सघाएको निहुँमा निष्कासन गरिएको थियो ।

Advertisement

त्यस घटनाले राजनीतिमा सक्रिय भएर पञ्चायत व्यवस्थाका विरुद्ध उत्रिनु बाहेक अरु सबै बाटो बन्द भैसकेका थिए । त्यसैले सहान प्रधान नेपाल कम्युनिस्ट पार्टीका क। पुष्पलाल सहितका शीर्ष नेताहरूसँग सरसल्लाह गर्न थाल्नुभएको थियो । तर दुर्भाग्यवश१ नेपाल कम्युनिस्ट आन्दोलनका अग्रणी शीर्ष व्यक्तित्व, जनवादी क्रान्तिको कार्यक्रमका सूत्रधार तथा सिद्धान्त ,सङ्गठन र संघर्षलाई आत्मसात गर्ने संयुक्त जनआन्दोनलका प्रणेता कमरेड पुष्पलालको २०३५ साल साउन ०७ गते भारतको नयाँ दिल्लीस्थित बल्लभ भाइ पन्त अस्पतालमा हृदयरोगका कारण असामयिक निधन भयो ।

नेपालको कम्युनिस्ट आन्दोलनले एकजना अग्रणी ,शीर्ष नेता मात्र गुमाएन राजनीतिमा सिद्धान्त निष्ठा, नैतिकता, इमानदारीता र सुझबुझ भएको कम्युनिस्ट आन्दोनलको एकजना अतुलनीय अग्रज र अभिभावक नै गुमायो । त्यसपछिको नेपाल कम्युनिस्ट पार्टीको संकटकालीन पाँचौ सम्मेलनले बलराम उपाध्यायलाई पार्टीको प्रमुख र सहाना प्रधानलाई पार्टीको केन्द्रीय नेतृत्वमा चयन गर्‍यो र पार्टी प्रवक्ताको रूपमा सहाना प्रधानलाई जिम्मेवारी दियो । यसरी पुनः सहाना प्रधानको दोस्रो पटक सक्रिय राजनीतिक जीवनको यात्रा शुरु भयो ।

फाशिष्टरूप लिंदै गएको पञ्चायती निरंकुशताका विरुद्ध कहिले मजदुर, कहिले किसान त कहिले विद्यार्थी आन्दोलन चर्किने गर्दै आएको थियो । २०३२ सालमा अखिल नेपाल किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन कमरेड पुष्पलालकै प्रत्यक्ष नेतृत्वमा सम्पन्न भएको थियो र त्यसले किसान आन्दोलनलाई पुनः संगठित गर्ने र किसानहरूलाई शाही पञ्चायती शासन व्यवस्थाका विरुद्ध आन्दोलन गर्ने ठोस् नीति तर्जुमा गरी आन्दोलनको तयारीमा पार्टी लागेको थियो । त्यसै कालखण्डमा पाकिस्तानमा त्यहाँको सैनिक सत्ताले पाकिस्तानका निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भट्टोलाई फाँसीको सजाय दिनेभयो । त्यसको विरुद्ध काठमाडौंस्थित पाकिस्तानी दूतावासमा विरोधपत्र दिन गएका नेपाली विद्यार्थीलाई पञ्चायती शासकहरुले तीब्र दमन गरेपछि पन्चायती ब्यवस्थाको विरुद्धमा टाउकोमा रातो कफनरकात्रो बाधेर राष्ट्रव्यापीरूपमा २०३५/३६ सालको संयुक्त विद्यार्थी आन्दोलन भयो ।

राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका नेपाली कांग्रेसका शीर्ष नेता बीपी कोइरालाले ‘पञ्च कांग्रेससँग नतर्स, कांग्रेस पञ्चसँग नझस्क’ भनेर ‘न आन्दोलन न समर्पण’ अल्मल र दोधारको बाटो अख्तियार गरिरहेको बेला उठेको संयुक्त विद्यार्थी आन्दोलनले फाशिष्ट पञ्चायती व्यवस्थाको जग नराम्रोसँग हल्लाइदियो र निर्विकल्प भनिएको राजाको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभियो । प्रतिबन्धित दलहरूले जनमत संग्रको बेला खुल्ला काम गर्न थाले । त्यसबेला क। सहाना प्रधान सामन्ती अधिनायकवादी व्यवस्थाका विरुद्ध तलैदेखि संयुक्त जनआन्दोलन उठाउनुपर्ने पुष्पलालको नीतिकासाथ देशव्यापीरूपमा जनसभा र जनसंगठन गर्ने अभियानमा नेपाल कम्युनिस्ट पार्टीको नेताको रूपमा सक्रिय भएर उत्रिनु भयो ।

वास्तवमा पञ्चायती व्यवस्थालाई परास्त गर्न र बहुदलीय व्यवस्थालाई पुनःस्थापित गर्न जुन पाँच पूर्वशर्तहरू —पञ्चायत नीति तथा जाँचबुझ समितको रूप लिएको गाउँफर्क राष्ट्रिय अभियानलाई भंग गरिनुपर्ने, माथिदेखि तलसम्मका पञ्चायती निकायलाई समाप्त तुल्याउनु पर्ने , सर्वपक्षीय राष्ट्रिय सरकारको गठन गरिनु पर्ने, १८ वर्ष उमेर पुगेका सबै नागरिकले मत दिन पाउनु पर्ने र यसरी जनमत संग्रहलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित तुल्याउन पर्ने राखिएका थिए, त्यो नेपाल कम्युनिस्ट पार्टीले नै सर्वप्रथम अघि सारेको थियो । यी कुरालाई लिएर सहाना प्रधान देशका विभिन्न स्थानमा आयोजित जनसभा र विरोध प्रदर्शनहरूमा सक्रिय हुनुभयो तर बहुदल पक्ष कांग्रेस र कम्युनिस्ट विभाजित स्थितिमा रहेको र उल्लिखित पूर्व शर्त पूरा नगरी जनमत संग्रह धाँधलीपूर्ण तरीकाले गरिएकोले कथित सुधारिएको पञ्चायतको पक्षमा ५४ प्रतिशत र बहुदलको पक्षमा ४६ प्रतिशत मत आयो । यसले पनि भावी दिनमा पञ्चायती व्यवस्थाको आवरणमा चलाइएको राजाको निरंकुशताका विरुद्ध जनआन्दोलनलाई अग्रगति दिन सकिने संकेत गरेको थियो ।

जनमत संग्रहको परिणाम पछि संयुक्त आन्दोलनलाई अझ अगाडि बढाउन पञ्चायतइतर शक्तिहरूलाई गोलबन्द गर्ने वातावरण बनाउने पहलमा नेपाल कम्युनिस्ट पार्टी निरन्तर लागि रह्यो । फलस्वरूपस् २०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीबीच भारतको सारनाथमा पुष्पलालको नीति र कार्यक्रमका आधारमा छैटौ राष्ट्रिय सम्मेलन गरी एकता भयो । त्यसले मनमोहन अधिकारीलाई महासचिव र सहाना प्रधानलाई सचिवको रूपमा निर्वाचित गर्‍यो । यसरी शाही पञ्चायती शासन व्यवस्थाका विरुद्ध कम्युनिस्ट घटकहरूबीच एकता र सहकार्यको वातावरण बन्दै गएको थियो । त्यही क्रममा २०४६ साल माघ दुई गते नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरू मनमोहन–सहाना नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माले), नेकपा (निर्मल लामा समूह) नेपाल मजदुर किसान पार्टी, नेकपा (तुलसीलाल समूह) ,नेकपा (माननधर समूह) र नेकपा (बर्मा समूह) सम्मिलित संंयुक्त बाम मोर्चा बन्यो । ती सबै घटकले सहाना प्रधानलाई मोर्चाको अध्यक्षमा चयन गरे । यो नै वास्तवमा सहाना प्रधानको राजनीतिक उत्कर्षमा पुगेको व्यक्तित्व थियो ।

संयुक्त बाममोर्चा र नेपाली काँग्रेको आह्वानमा उठेको संयुक्त जनआन्दोनलले ४९ दिनमा झण्डै तीन दशक निष्कण्टक देशमा चलेको सामन्ती ,अधिनायकवादी पञ्चायती व्यवस्थालाई ढालेको थियो । यसरी ०७ सालपछि पुनः अर्को पटक नेपाली जनताले विजय पाएका थिए । विजयी नेपाली जनताको नेतृत्व गर्ने मध्येकी एक अग्रणी शीखर नेताको रूपमा यसरी सहाना प्रधान स्थापित हुनुभएको थियो । एमाले बन्नुभन्दा पहिलाको सहाना प्रधानको व्यक्तित्व यसरी मुखरित भएको थियो ।

नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनकी शिखर ब्यक्तित्व वहाँको त्याग र वरियतानुरुपको हैसियत पार्टी र सरकार दुबैबाट प्राप्त नभएको बिषय गम्भीरतापूर्वक समीक्षा गर्नुपर्दछ,यसबाट शिक्षा लिनु पर्दछ। अग्रजहरुको सम्मान गर्ने संस्कार र परिपाटीको बिकास गर्नु पर्दछ किन कि,नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूह ,माक्र्सवादी समूहका नेपाल कम्युनिस्ट पार्टी भन्दा जेठा कम्युनिस्ट पार्टीका सदस्यहरु नजोडी नेकपा को इतिहास पूरा हुन सक्दैन,क। सहानाले त्यो ल्याकत राख्नु हुन्छ। यस्तो बीराङ्गना र कम्युनिस्ट आन्दोलनको शिखर हस्ती साहना प्रधानको मृत्यु बि.स.२०७१ असोज ०६ गते भयो । आदरणीय अग्रज,दिबङ्गत सहाना प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँले देखाउनु भएको न्याय,समानता र समृद्दिको यात्रामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु।

तपाईको प्रतिक्रिया