आदर्श समाजसेवी विष्णुचन्द्र

रवीन्द्र माकाजू २०७९ असोज ५ गते २१:४३

संसारमा दिनहुँ मान्छे जन्मन्छन् र मर्छन् पनि । तर यस्ता थोरै मान्छे पनि हुन्छन्, जो सत्कर्मका आधारमा दीर्घकालसम्म बाँचिरहन्छन् । त्यस्तैमध्येका एक हुन् पोखरा वडा नम्बर ५ का समाजसेवी तथा निर्माण व्यवसायी विष्णुचन्द्र कोइराला । उनले पुर्‍याएको योगदानका कारण दीर्घकालसम्म उनको सम्झना भइरहनेछ ।

समाजसेवी कोइरालाको जन्म विसं १९९३ वैशाख २६ गते पोखराको पस्र्याङ बगैंचामा भएको थियो । उनका पिता डिठ्ठा गिरिधारी कोइराला र माता लक्ष्मी कोइराला थिए । सानै उमेरदेखि विष्णुचन्द्र जिज्ञासु र अनुशासित थिए । उनको सुरुवाती पढाइ आफ्नै घर, आँगनमा भएको थियो । त्यस बेला छिमेकीसमेत उनीकहाँ पढ्न आउँथे । डिठ्ठा गिरिधारी आफैमा विद्वान थिए । छोरासहित अरुलाई पनि विद्या दिन्थे । पोखरा गिनेचुनेका व्यवसायीले पनि आफ्ना सन्तान गुरु गिरिधारीकहाँ पढ्न पठाउँथे । त्यसबेला विन्णुचन्द्रका सहपाठी स्व टेकलाल केसी, स्व प्रेमबहादुर प्रधान (हाराङ), सेतेलाल बिजुच्छे आदि थिए ।

आफ्ना छिमेकी पुराना निर्माण व्यवसायी कीर्तिबहादुर केसी भएकाले विष्णुचन्द्र पनि निर्माण व्यवसायतर्फ आकर्षित भए । उनले पोखरामा पहिलोपल्ट इँट्टा उद्योग खोलेका थिए । जुन इँट्टाको प्रयोग होटल क्रिस्टल र फेवा बाँधमा भएको थियो । उनले ठाउँठाउँमा भएको विकास, निर्माण कार्यमा सहभागिता जनाए । यसै क्रममा पर्वत फलेवासको नहर, बगाले टोल र पस्र्याङ जोड्ने पुल प्रमुख उदाहरण हुन् । तत्कालीन समयमा उनका व्यावसायिक साझेदारमा होमनाथ पराजुली, छायाँदत्त पराजुली, युवराज भुर्तेल र सूर्य कोइराला (भानु) थिए ।

Advertisement

समाजसेवी विष्णुचन्द्रको विवाह २००८ सालमा कास्कीकोट मुलस्वाँराकी बालकुमारी (बाटुली)सँग भएको थियो । ४ छोरा र १ छोरीका पिता कोइराला केही वर्ष मित्रराष्ट्र भारतको आसाम (गोहाटी) मा रोजगारीका सिलसिलमा पुगका थिए । त्यहाँ रहेर सीप सिक्ने अवसर पनि पाएका थिए । केही समय त्यहाँ बसी उनी नेपाल फर्किए । विष्णुचन्द्रले आफ्नो पुर्खाैली पेशालाई पनि छोड्न सकेनन् । आफ्ना सन्ततिलाई उच्च शिक्षादीक्षा दिनुका साथै परिश्रम गर्नुपर्छ भनी उनी सिकाउँथे । जसका कारण अहिले उनका सन्तान राधाकृष्ण, कालीप्रसाद, लोकदर्शन र नीलकण्ठ आआफ्नो पेसा र व्यवसायमा आवद्ध भएर पनि समाजसेवाका क्षेत्रमा पनि त्यत्तिकै रुचि राख्छन् । छोरी सुजा कोइराला पनि विभिन्न संघ, संस्थामा आवद्ध छिन् ।

श्रीपति कोइराला गुठीका पूर्व अध्यक्ष विष्णुचन्द्र विसं ०३२ सालदेखि नै समाजसेवामा रुचि राख्थे । विसं २०३५ सालबाट उनी जनप्रतिनिधि भई आफ्ना ठाउँको विकासमा क्रियाशील बने । उनी लगातार जनप्रतिनिधि भए । उनी वडा सदस्यदेखि कार्यवहाक वडाध्यक्ष हुँदै वडाध्यक्ष नै पनि भएका थिए । पञ्चायतकालदेखि नै जनप्रतिनिधि बनेर झन्डै २ दसक उनले जनताको प्रत्यक्ष सेवा गरे । उनका राजनीतिक सहकर्मीमा दुर्गा गौतम, द्रोणलराज अधिकारी र डिल्लीराम भुर्तेल थिए ।

Advertisement

विष्णुचन्द्र धार्मिक स्वभावका भएका हुँदा उनले धेरैपटक भारतको चारधाम तीर्थयात्रा गर्ने कार्यको नेतृत्व गरेका थिए । गाउँमा कुनै वादविवाद, साँधसीमा र झैझगडा पर्दा न्यायाधीश, अमिन र जनप्रतिनिधिको रुपमा एकै व्यक्तित्व उनी काफी थिए । यस अर्थमा विष्णुचन्द्र गाउँघरको मलमपट्टी थिए । समस्याका समाधान थिए । मिलनसार एवं शान्त स्वभावका उनी सबैका प्रिय थिए । मान्छेहरु आआफ्नो समस्या बोकेर उनी कहाँ आउँथे र समाधानका उपाय बताएर विष्णुचन्द्र समाजसेवा गर्थे । टोल, छिमेकमा मर्दापर्दा सहयोग गर्ने उनको स्वभाव थियो । उनले चौतारीहरुको संरक्षण गरे । उनका बारेमा कसैले भनेका थिएः गाउँघरको समाजको सेवा गर्ने निष्ठावान समाजसेवीका लागि कुनै पनि व्यवस्था बाधक बन्न सक्दैन । त्यसैको उदाहरण उनी बने । निर्णय क्षमताका धनी थिए उनी ।

विष्णुचन्द्र निष्ठावान् समाजसेवी थिए । उनले अरुको खुसीलाई आफ्नो खुसी ठाने । सधैं अरुलाई खुसी दिन खोजिरहे । परेका हरेक कार्यमा आफूलाई अघि सार्दथे । वास्तवमा विष्णुचन्द्र एक आदर्श समाजसेवी थिए । उनी निस्वार्थी व्यक्ति थिए । उनी बिहानदेखि बेलुकासम्म समाजसेवा नै गर्दथे । समाजसेवालाई नै उनले ईश्वरको पूजा ठाने । वास्तवमा समाजसेवीका लागि उनी नमुनामात्र होइनन्, प्रेरणाका स्रोत पनि हुन् ।

विष्णुचन्द्रले समाजसेवा गरेर नाम, दाम कमाउँला भनेर कहिल्यै सोचेनन् । उनले जीवनमा एउटै लक्ष्य बोकेः अरुलाई खुसी दिँदा जुन आन्नद प्राप्त हुन्छ, त्यो आन्नद नै वास्तविक आनन्द हो । यसरी समाजको सेवा गर्दागर्दै २०७९ भदौ २५ गते विष्णुचन्द्रले यस धर्तीबाट बिदा लिए । स्वर्गारोहणअघिसम्म पनि उनी क्रियाशील रे । उनी यस धरातलमा नरहे पनि उनको सेवाभावलाई समाजले बिर्सने छैन । वास्तवमा उनीप्रतिको साँचो श्रद्धाञ्जलि त्यस बेला हुनेछ, जब हामी उनी हिँडेको साँचो समाजसेवाको मार्गमा हिँड्न सक्छौं ।

तपाईको प्रतिक्रिया