विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट १५० किमी चल्ने गाडी

समाधान संवाददाता २०७९ असोज ७ गते १०:१५

काठमाडौं ।
काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १ सय ५० किलोमिटरभन्दा बढी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर व्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १ जना गरी ९ विद्यार्थीले यस्तो गाडी बनाएका हुन् ।

सुमन पाठक, विवेक बराल, अभिषेक सुवेदी, सुमन तिमिल्सिना लगायतका विद्यार्थीले एक वर्ष लगाएर यो गाडी बनाएका हुन् । त्यसका लागि एसोसिएटेट प्रोफेसर हरि ढकालले सहजीकरण गरिदिएका थिए । गाडी बनाउँदा अहिलेसम्म लेवर खर्चबाहेक ६ लाख रूपैयाँ जति खर्च भइसकेको छ । ‘सिनियर दाइहरुले बनाउनुभएको थियो ।

अहिले हामीले त्यसैलाई मोडिफाई गरेका हौं । यसलाई मोडिफाई गरेर बढी माइलेज दिन सकिने बनाएका हौं,’ सुमनले भने । यो गाडीलाई उनीहरूले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘सेल इको म्याराथन’ मा सहभागी हुन बनाएका हुन् । इण्डोनेसियामा ११–१५ अक्टोबरमा हुने प्रतियोगिताका लागि उक्त गाडीसहित नेपालबाट प्रतिनिधित्व गर्न लागेको सुमनको भनाइ छ ।

Advertisement

त्यहाँ लैजानको लागि उनीहरूलाई आर्थिक अभाव देखिएको छ । अहिले विभिन्न निकायबाट आर्थिक सहयोग लिइरहेका छन् । ‘म्याराथनमा प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा इन्डोनेसिया लैजान्छौं । तर, अहिले सिपमेन्टको खर्च एकदम महंगो भएकाले गाडी लैजान समस्या देखिएको छ । नेपालबाट लगेर म्याराथनमा सहभागी भएर पुनः नेपाल ल्याउन १२ हजार ४ सय डलर खर्च लाग्नेछ,’ सुमनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया