जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

समाधान संवाददाता २०७९ असोज ९ गते १७:०८

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसले दसैं, तिहार, नेपाल सम्बत् र छठ पर्वको सन्दर्भमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम हुने बताए । आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गरे ।

क्याम्पस प्रमुख लोेकराज भण्डारीले मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको रहेका बताए । भण्डारीले पेसागत मर्यादालाई ख्याल गर्दै गुणस्तरमा संझौता नगर्नु नै असल शिक्षकको भूमिका भएकोले १ मिनेट समय पनि ढिलो नगर्न आग्रह गरे । शुभकामना आदनप्रदान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य सोमनाथ बरालले विगत ३१ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए । क्याम्पसलाई केन्द्रमा राखेर काम गर्ने प्राध्यापक कर्मचारीको भलो हुने हुँदा चौतर्फी धाउँदा हुने सास्तीको अन्त्य गर्ने जनाए ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा पूर्व कोषाध्यक्ष जनकराज पराजुलीले सामुदायिक क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने बताए । जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Advertisement

क्याम्पसमा प्रात र दिवा सत्रमा ५ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।
क्याम्पसमा १ सय ५० प्राध्यापक र ३९ जना कर्मचारी कार्यरत छन् । यही असोज ११ गतेदेखि कात्र्तिक १३ गतेसम्म प्राध्यापक र विद्यार्थीका लागि क्याम्पसले दसैंतिहार, छठको छुट्टी दिए पनि प्रशासनिक काम भने यथावत् सञ्चालन हुने जानकारी सहायक प्रशासक महादेवकुमार पालिखे दिए ।

स्थायी प्राध्यापक मञ्च जनप्रिय बहुमुखी क्याम्पस एकाई समितिको आयोजनामा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम भएको हो । मञ्चका सभापति टोपलाल खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सचिव तथा अङ्ग्रेजी विभाग प्रमुख राजेन्द्र पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया