मादी गाउँपालिकाका वडा सदस्यले नै चोरे लाखैं पर्ने खानेपानीको पाइप

सञ्जय रानाभाट २०७९ असोज १० गते १८:३१

४० वर्षदेखि अलपत्र थाक खानेपानी योजनाको पाइप चारी गर्दागर्दै वडा सदस्यसहित ४ जना समातिएका छन्

सञ्जय रानाभाट

पोखरा ।
खानेपानी आयोजना बन्न कति वर्ष लाग्ला ? दुई, चार वा पाँच वर्ष । आयोजना बनेपछि पुनर्निर्माण गर्नुपर्ने समयसम्म पनि अपुरै रहेको योजना हो थाक खानेपानी । कास्कीका पूर्वी ३ गाविसबासीसम्म खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो ।

Advertisement


४ दशक अलपत्र परेको यो आयोजनाको हालै पाइप चोरी भएको छ । चोरीमा संलग्न भएको अभियोगमा मादी गाउँपालिकाका वडा नम्बर १ का वडा सदस्य खरजंग गुरुङ पक्राउ परेका छन् ।


गुरुङसहित चोरीमा संलग्न ४ जनालाई असोज ५ गते राति १२ बजे वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले मादी ७ स्थित काउरेडाँडा सडक छेउमा रहेको खानेपानी योजनाका पाइप चोरी गर्दै गर्दा प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरु ग१त ५१३७ नम्बरको ट्याक्टरमा पाइप लोड गरी मादी ५ तर्फ ल्याउँदै थिए ।

Advertisement


उनीहरुको साथबाट २ थान ग्यास सिलिन्डर पनि बरामद भएको थियो । उनीहरुले ग्याँस प्रयोग गरी पाइप काटेका थिए । त्यो ठाउँमा धेरै पाइप चोरी भइसकेको प्रहरीको अनुमान छ । त्यहाँबाट ४ देखि ५ ट्याक्टर पाइप चोरी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


वडा सदस्य गुरुङसहित मादी ७ थाक बस्ने वर्ष ३५ का रमेश गुरुङ र २६ वर्षीय निरज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न लमजुङ मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्दै आएका २३ वर्षीय रिदम भन्ने सुनील परियारलाई पनि प्रहरीले पक्रेको छ । प्रवक्ता तिवारीका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


वडा सदस्य गुरुङ नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । माओवादी कार्यकर्ता गुरुङ वाइसिएल मादी गाउँपालिका उपाध्यक्षसमेत हुन् । गुरुङकै योजनामा लाखौं पर्ने थाक खानेपानीको स्टिलको पाइप चोरी भएको खुलेको छ । घटनामा अरु जनप्रतिनिधि पनि संलग्नताबारे अनुसन्धान भइरहेको छ ।


चोरी भएको पाइपको १४ लाख आसपास पर्ने अनुमान छ । कास्कीकै एक जनप्रतिनिधिले चोरी भएको पाइप स्टिलको भएकाले १ मिटरलाई कबाडीमा बेच्दा ११ हजारसम्म पर्ने बताए । ‘यसअघि उक्त ठाउँबाट ४÷५ ट्याक्टर चोरी भएको देखिएको छ । राष्ट्रिय गौरबको योजनाको पाइप जनप्रतिनिधि नै लागेर चोरी गर्नु महाअपराध हो । यस्तालाई हदैसम्म कारबाही गर्नुपर्छ,’ ती वडाध्यक्षले भने ।


उच्च भेगमा रहेका मादी र रुपाका केही वडा र पोखरा महानगरका २८ र ३१ वडामा खानेपानी पु¥याउन यो आयोजना २०४२ मा सुरु भएको थियो । आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भए पनि स्थानीयको घरमा पानी पुगेको छैन । १ गाग्री पानी लिन घन्टौं हिँड्नुपर्ने बाध्यता छ ।


उच्च पहाडी भूभाग भएकाले त्यहाँ पानीको स्रोत नै कम छन् । महानगर, प्रदेश जताततै गुहार्दा पनि यहाँले नागरिकले खानेपानी पाउन सकेका छैनन् । पोखराको उच्च भाग पोखरा २८ को कालिका, सौरे, मादी ५, १२ वडा र रुपा गाउँपालिकाको ७ नम्बर वडा लगायत पहाडी भूभागलाई लक्ष्य गरेर तत्कालीन राजा वीरेन्द्रका पालामा थाक खानेपानी सुरु भएको थियो । आयोजना सुरु भएपछि २०५७÷५८ सालतिर २ वर्ष पानी आए पनि त्यसपछि थाक खानेपानी यति प्रभावकारी भएको छैन ।


योजना पुनः सञ्चालन गर्न पोखरा २८ मा हालै भएको भेलाले समिति गठन गरेको छ । माझठानाका सीताराम तिवारीको अध्यक्षतामा ७ सदस्यीय टोली बनेको छ । समितिले आयोजना फेरि सञ्चालन गर्न २५ करोड रुपैयाँ आवश्यक पर्ने भन्दै केन्द्र सरकारसँग लबिइङ गरिरहेको छ । यो क्षेत्रका २५ सयभन्दा बढी घरधुरीले खानेपानी झेलिरहेका छन् ।


यसरी लामो समयदेखि बेवारिसे अवस्थामा मिल्किएका पाइपलाई राज्य र खानेपानी संस्थानले संरक्षण गर्न नसक्दा ठूलो रकम खेर गएको छ । नवनिर्वाचित खानेपानी समितिका एक सदस्यले चोरीमा संलग्नलाई जरिवाना तिराएर एक पटक छाडिदिऊँ भन्ने पक्षमा आरुहरु रहेको प्रतिक्रिया दिए ।

निर्वाचन आयोगकाे वेभसाइडमा खरजंग गुरुङ कांग्रेसबाट निर्वाचत वडासदस्य भएको पुष्टि

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया