
जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका बन्द हुँदा यस वर्ष पनि दसैंका लागि झरेका भेडा, च्यांग्रा मुस्ताङमै महंगिएको छ । तिब्बतबाट भेडा, च्यांग्रा कम आएपछि मुस्ताङमै भेडा, च्यांग्राको थोक मूल्य ३५ हजारदेखि ४३ हजारसम्म परेको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विगत ३ वर्षदेखि उत्तरी कोरलानाका बन्द छ ।
नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेडा, च्यांग्राको संख्या न्यून भएको हो । जोमसोमका पशुपालक किसान भूपेन्द्र शेरचनले उपल्लो मुस्ताङबाट ३ हजार ५ सय र डोल्पाबाट ३ हजार ५ सय गरी करिब ७ हजार हाराहारीमा भेडा/च्यांग्रा मुस्ताङबाट बाहिरिएको जानकारी दिए ।
‘यस पटक दसैंका लागि डोल्पा र मुस्ताङबाट भेडा, च्यांग्रा कम आए, च्यांग्रा खरिद गर्न व्यापारीको पनि चहलपहल देखिएन,’ शेरचनले भने, ‘जोमसोम झरेका च्यांग्राको थोक मूल्य ३५ देखि ४३ सम्म छ ।’ मुस्ताङबाट बाहिरिने भेडा, च्यांग्राको पशु निरोगिताको भेटेनरी प्रमाणपत्र आवश्यक पर्छ ।
तर मुस्ताङबाट बाहिरिएका भेडा, च्यांग्राको भेटेरिनरी परीक्षणको तथ्यांक हेर्दा ३६ सयले मात्र यस्तो प्रमाणपत्र लिएको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ मुस्ताङका पशु चिकित्सक डा. सुधिर थापाका अनुसार जोमसोममा करिब ३ हजार भेडा/च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र सिफारिस गरिएको छ ।
थासाङ गाउँपालिका ३ लेते स्थित धौलागिरी प्राविधिक शिक्षालयकी पशु चिकित्सक सान्त्वना शेरचनका अनुसार लेते प्राविधिक शिक्षालयबाट ६ सय भेडा/च्यांग्राको मात्र प्रमाणपत्र जारी भएको छ । उनले जोमसोम र लेते गरी दुई ठाउँबाट मात्रै पशु भेटेरिनरी परीक्षण दिइने जनाइन् ।
मुस्ताङबाट बजार झारिने भेडा/च्यांग्राको भेटेनरी परीक्षण गर्दा व्यापारीले एकिन तथ्यांक पेश नगर्दा भेडा/च्यांग्रा कति झरे भन्ने तथ्यांक निकाल्न समस्या पर्ने गरेको पशु चिकित्सक शेरचनले उल्लेख गरिन् । ‘फिल्डमै गएर पशु परीक्षण गर्न सम्भव छैन,’ उनले भनिन्, ‘पशु निरोगिताको प्रमाणपत्र बनाउँदा तोकिएको शुल्क लाग्ने भएकाले व्यापारीले एकिन विवरण दिदैनन् ।’
कोरोना कहरअघि कोरला नाकामा हुने व्यापार मेलामा मुस्ताङ र डोल्पाका स्थानीय व्यापारी तथा पशुपालकले भेडा, च्यांग्रा खरिद गथ्र्ये । तर, कोरोनाकै कारण चीनले उत्तरी कोरलानाका खुला नगर्दा मुस्ताङ र डोल्पामै भेडा, च्यांग्राको अभाव खट्किएको हो । दसैं पर्वको सेरोफेरोमा औसत जोमसोममा करिब २३ हजारको संख्यामा भेडा/च्यांग्रा झर्ने गरेको रेकर्ड छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया