बोनसमा होइन, उत्पादनमा लाग्नुस्ः अर्थमन्त्री

समाधान संवाददाता २०७९ असोज ११ गते ११:१९

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सहकारीहरुलाई लाभांश मात्र वितरण नगरी उत्पादनशील क्षेत्रमा समेत लगानी गर्न आग्रह गरेका छन् । पोखरा ८ नागढुंगामा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्थाको सोमबार भएको २३ औं वार्षिक साधारण सभामा मन्त्री बरालले सहकारीले वार्षिक रुपमा बोनसमात्र वितरण नगरी कम्तीमा पनि ३० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

Advertisement

आयात प्रतिष्थापन गरी स्वदेशमा कुटिरदेखि मध्यम हुँदै ठूला उद्योग एवं कृषि फार्म सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । बरालले भने, ‘हामीले संसारका धेरै मुलुकबाट स्वदेशमा डलर त भित्रयाउछौं तर हाम्रा खेतबारीमा हुने सामान्य उत्पादन हुने वस्तु पनि अर्कोको मुलुकबाट आयात गछौं भने हामी भोलि कहाँ जादै छाैं ? एक पटक सोच्ने समय आएको छ ।’

डलरको मुल्य बुझेर यसको उचित ढंगले प्रयोग गर्दै बचाउन सक्नु नै हाल श्रीलंका जस्तो आार्थिक संकट हुनबाट बच्नु उत्तम उपाय भएको मन्त्री बरालको भनाइ छ । सहकारीको नाममा केही व्यक्तिले अझै पनि एकाधिकार जमाउन खोजेकाले उनीहरु बिरुद्ध सेयर सदस्यहरु सचेत हुनुपर्ने मन्त्री बरालले सुझाए ।

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले सहकारीलाई राज्यले वर्गीकरण गर्नुपर्ने विचार राखे । सहकारीका शिक्षा उपसमितिका संयोजकसमेत रहेका पहारीले राम्रो काम गर्ने सबै सहकारीलाई एकै ढंगले हेर्न नहुने बताए । संस्थाका संरक्षक गजकुमारी गुरुङले समाज परिवर्तनको कुरा सबै क्षेत्रमा हुनुपर्ने उल्लेख गरिन् ।

नेफ्स्कुन पोखराका फिल्ड प्रमुख यामकला पौडेलले नियमित बचत करिब ३० प्रतिशतसम्म पुर्‍याउन आग्रह गर्दै संस्थागत पुँजी ५ प्रतिशत हुनुपर्नेमा जोड दिइन् । संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा गौरी शंकर (साकोस)का अध्यक्ष रुद्रनाथ पौैडेल, संस्थाका सल्लाहकार विष्णु गुरुङ, कोषाध्यक्ष नेत्रलाल भण्डारी, सचिव नवराज अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

२०५६ सालमा ४३ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल सेयर पुँजी ४ करोड २३ लाख १७ हजार ६ सय छ । संस्थामा हाल १ हजार ६ सय ८२ जना सेयर सदस्यको ४० करोड ७३ लाख पुँजी परिचालन गरिएको सहकारीले जनाएको छ । सभामा सहकारीले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया