सम्पादकीयः थाक खानेपानीमा अपराध

समाधान संवाददाता २०७९ असोज ११ गते १२:०६

पञ्चायतकालमै सुरु भएको थियो—थाक खानेपानी आयोजना । यसको लक्ष्य भनेको कास्कीका कालिका, माझठाना, बेगनास र हंसपुरका गाउँमा पानी पुर्‍याउने हो । तर ४ दसकसम्म पनि यो लक्ष्य हाँसिल भएन । आयोजनामा पौने १ अर्ब खर्च भइसक्यो । आज पनि ती गाउँ पानीको अभावमा गुज्रिरहेका छन् । पटकपटक खानेपानी आयोजनाको उपभोक्ता समिति बन्ने गरे तर आयोजना पूरा भएन । पटकपटक बजेट पनि परेको हो, तर आयोजना कहिल्यै पूरा भएन ।

गाउँका धारामा पानी बगेन, मात्रै आयोजनामा पैसामात्रै बग्यो । यसबीचमै यो आयोजनामा भएको एउटा उदेकलाग्दो घटना सार्वजनिक भएको छ । आयोजना पूरा नहुनुको दुखका बीच खानेपानीका पाइप चोरी भएको र केही व्यक्ति पक्राउ परेको समाचार आयो । डरलाग्दो र अति बिडम्वना के भने चोरीमा जनप्रतिनिधिकै संलग्नता । एक त पानी जस्तो आधारभूत आवश्यकताको काममा चोरी । अर्काेतिर जनप्रतिनिधिकै संलग्नता । मादी गाउँपालिका वडा नम्बर १ का सदस्य खरजंग गुरुङ चोरीमा संलग्नताको प्रमाण प्रहरीले भेटेको छ ।

जनप्रतिनिधि भनेको त गाउँको विकास गर्ने, जनताको सेवा गर्ने जिम्मेवारी हो । तर सार्वजनिक र सरकारी सम्पति नै चारीमा संलग्नता अति नै बिडम्वना र दुखको कुरा हो । यो घटनाले थाक खानेपानी आयोजना पूरा नहुनुको दुखको घाउमा नूनचूक थपिएको छ । नेपाली समाजमा पानी पिउन दिने भनेको पुण्य कर्म मानिन्छ । चिनजानै नभएका मानिसलाई पनि नेपालीहरु अरु केही दिन नसके पनि पानी पिउन दिन चाहन्छन् । त्यसैले त हाम्रा गाउँघरमा पाटीपौवा र देउराली अनि गौंडाहरुमा पानीका घैटा राखिन्थ्यो । ता कि बटुवाहरुले पानीको प्यास मेट्न पाऊन् ।

Advertisement

कास्की प्रहरीले जनप्रतिनिधि खरजंगसहित ४ जनालाई डाँकाचोरी मुद्दामा थप अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ । उनीहरु हिरासतमा छन् । तर सरकारी सम्पति त्यसमा पनि पानीको पाइप चोर्ने अपराधमा डाँकाचोरी मुद्दामात्रै काफी नहुनुपर्ने हो । अझै कडा कानुन आकर्षित हुनुपर्छ यस्तो अपराधमा । अदालतले पक्कै पनि अभियुक्तहरुको अपराध प्रमाणित भएपछि कडा कारबाहीको फैसला अवश्य गर्नेछ । तर मुद्दा लगाउँदै अझै कडा कारबाही हुने मुद्दा लगाइनुपर्छ । त्यसमाथि जनप्रतिनिधि नै संलग्नता हो भने झन् बढी सजाय हुनुपर्छ ।

सँगसँगै खानेपानी आयोजनाको कहिल्यै निगरानी नगर्नेहरु तर जिम्मेवारीमा बस्नेहरु को को हुन् तिनीहरु पनि नैतिकताको कठघरामा उभ्याइनुपर्छ । खानेपानी कार्यालय जसले बजेट खर्च गर्न सधैं तातो लागेर काम गर्‍यो तर पानी पुर्‍याउन मतलब गरेन, त्यसका सम्बन्धित अधिकारीहरुलाई पनि जवाफदेही बनाउन जरुरी छ । यो घटना सामान्य एउटा चोरीको घटनामात्रै होइन देश र जनतामाथिको ठूलो अपराध हो ।

Advertisement

तपाईको प्रतिक्रिया