डेंगु सचेतना फैलाउँदै पोखरा १२ ले गर्‍यो नगर परिक्रमण

समाधान संवाददाता २०७९ असोज ११ गते १८:१३

पोखरा ।

पोखरामा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा यति बेला नेपाल भरी नै डेंगु संक्रमणको जोखिम बढ्दै गइरहेको बेला पोखरामा एक वडाले सचेतना कार्यक्रम गरेको छ ।


पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा मंगलबार डेंगु सचेतना फैलाउँदै नगर परिक्रमण गरिएको हो । वडाध्यक्ष सन्तोष बास्तोला आफै सडकमा उत्रिएर डेंगु रोग सम्बन्धी वडामा सचेतना फौलाएका हुन् । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा मंगलबार टोलविकास संस्थाका प्रतिनिधि र आमा समूह र स्वंमसेवीकाहरुको सहयोगमा नगर परिक्रमण गरिएको छ । नगर परिक्रमणसँगै अभिमुखिकरण तथा सचेतना कार्यक्रम गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए । उनका अनुसार डेंगु जोखिम पूर्वानुमानको बारेमा स्वास्थ्य निर्देशनालय गण्डकीका कर्मचारीहरुले प्रशिक्षण गराएका थिए ।


डेंगु लागेको कसरी थाहा पाउने ?
डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।
कसरी बच्ने ?
डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

उपचार के छ ?
अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ । सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ । मेवाको पातको रस बनाएर दिनमा दुई÷तीनपटक पिउँदा त्यसले फाइदा गर्छ ।

तपाईको प्रतिक्रिया