सम्पादकीयः डेंगु नियन्त्रणमा ध्यान देऊ

समाधान संवाददाता २०७९ असोज १३ गते १२:३०

अहिले कोरोना संक्रमण कम भएको छ । हामीलाई चुनौती दिन डेंगु आइपुगेको छ । अहिले देशैभर डेंगु फैलिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा डंगुको संक्रमण देखिएको छ । लामखुट्टे कम हुने पहाडी जिल्लासहित हिमाली जिल्लामा पनि यसको प्रकोप देखिएको छ । तराईमा त डेंगु महामारीकै रुपमा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साढे अहिलेसम्म यसबाट १७ हजारभन्दा बढी संक्रमित भएका छन् । साउनयता यो रोगबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । डेंगु संक्रमणको ग्राफ हेर्दा यो बेवास्ता गर्न सकिने खालको समस्या हुँदै होइन । तर, सरकारी स्तरबाट यो रोग लाग्न नदिन र उपचार दुबैका लागि पर्याप्त प्रयास भएको देखिँदैन । कोरोना संक्रमणको पीडाबाट मुक्त भइनसक्दै आएको अर्काे संकटले जनजीवनलाई त्रस्त बनाएको छ ।

कोभिड संक्रमणका बेला नेपालको तयारी र उपचार निकै कमजोर रह्यो । व्यवस्थापनमा हेलचेक्राइँ गर्दा एकातिर रोग तीव्र गतिमा फैलिएको थियो भने उपचारको उचित प्रबन्ध नगर्दा ठूलो धनजनको क्षति भयो । भर्खरै हत्तुहैरान बनाएको महामारीबाट पनि हामीले पाठ सिकेको देखिएन । अहिले ठूला चाडपर्वको मौसम छ । सँगसँगै आम चुनाव पनि आउँदै छ । यो समयमा हुने भीडभाड, खानपान र हेलचेक्रयाइँले डेंगु संक्रमणलाई थप तेज बनाउन सक्छ ।

Advertisement

यसबारे सरोकारवालाको ध्यान पुग्न सकेको छैन । डेंगु संक्रमित र विज्ञका अनुसार यो बेवास्त गर्न मिल्ने समस्या होइन, कतिपयको ज्यान नै लिएको छ । यस्तो अवस्थामा डेंगु परीषण र उपचारका लागि सरकारले उचित प्रबन्ध गर्नु जरुरी छ । संकटका बेला स्वास्थ्य क्षेत्रमा व्यापारको मात्र उद्देश्य राखिनु हुँदैन । गरिब, आर्थिक रुपमा विपन्नलाई सरकारले सित्तैमा उपचारको व्यवस्था गर्नुपर्छ । निजी स्वास्थ्य संस्थाले पनि संकटको घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै न्यूनतम शुल्कमा उपचारको व्यवस्था गर्नुपर्छ ।

विस २०६१ म नेपालमा पहिलो पटक डेंगुका बिरामी देखिएका थिए । त्यसपछि दुई, तीन वर्षको अन्तरालमा यो प्रकोपका रुपमा देखिने गरेको छ । यसअघिका संक्रमणभन्दा अहिले मृत्युदर बढी छ । अहिले नागरिक संकटमा छन् । राज्यले यस् तो बेलामा सित्तैमा उपचारको व्यवस्था गर्नुपर्छ । कोही पनि रहरले संक्रमित हुने होइन । अहिले प्रदेश र संघ सरकारको ध्यान चुनावतिर छ । चुनावको तयारी त नगरी हुँदैन, सँगसँगै जनताको स्वास्थ्य समस्यालाई पनि नजरअन्दाज गर्नु हुँदैन । महामारीकै रुपमा डेंगु फैलिए चुनाव नै प्रभावित हुन सक्छ । निरोधात्मकदेखि उपचारात्मक पद्धतिसम्म अपनाएर डेंगु नियन्त्रणमा लाग्नु जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया