कास्कीकोटको ऐतिहासिकता र नवदुर्गा

रेशम शर्मा बस्ताकोटी २०७९ असोज १३ गते १२:४३

कश्यपले तपस्या गरेको पुरानो भूमि भएकाले कास्की जिल्ला रहन भएको कास्कीको कास्कीकोट २४ वडा नम्बर पर्दछ । त्यही कश्यप तपस्या स्थलमा रहेको राजा कुलमण्डलको दरबारलाई माझकोट भन्छन् । हामी सानो उमेरमा भेडाबाख्रा चराउन जाँदा यो दरबार क्षेत्रमा ढुंगाको पर्खाल देखिन्थ्यो तर हाल संरचना भताभुङ भएको छ । त्यहाँ ठूलीपोखरी, मौलापोखरी खडगाउँ पोखरी र साजु पोखरी छन् । मौलापोखरीमा १५–१६ शताब्दीको चापको वृक्ष छ ।

यो वृक्ष कुन समयमा कुन व्यक्तिले रोपेका थिए भन्ने तथ्य पत्ता लागेको छैन । यहाँ घले राजाको शासन हुँदा कुलमण्डलले घले राजासँग युद्ध गरेको ठाउँ पनि रहेको छ । जसलाई धूपी चौर भनेर चिनिन्छ । उक्त समय घले राजासँग युद्ध गरेर आफूँ राजा हुन सक्ने व्यक्तिको ठूलो साहस मानियो । यी राजा धेरै साहसी रहेछन् भनी जनताले कुलमण्डल शाह भन्ने शब्द जोडिदिएको कथन सुन्न पाइन्छ ।

कोटका ऐतिहासिक, धार्मिक, पौराणिक महत्वका वस्तुको संरक्षण, हराएको जग्गा खोजी र दसैँ परम्पराको प्रचारप्रसार जरुरी

मौला चौतारामा ४२ मुखिया भेला हुने र अमालीको खटनपटनबाट गुप्तकालीको पूजा आराधना गराउनेमात्र नभएर सामान्य झैँ झगडाको छिनोफानोसमेत गर्ने चलन थियो । जसका लागि धार्मिक आचारसंहिताको पालना गरिन्थ्यो । जुन स्थलमा राजा बसेका थिए त्यो ठाउँलाई रजस्थल पञ्चायत भन्ने गरिन्थ्यो । देउथान कालीको अगाडि हालको पीच बाटोमा रहेको मान्द्राजत्रो ढुंगालाई मान्द्रेढुंगा भन्ने गरिएको हुँदा त्यो ढुंगाका नाउँबाट मान्त्रेढुंगा पञ्चायत पनि भयो ।

पछि दुवै पञ्चायतलाई समावेश गराई कास्कीकोट गाविस हुन गएको हो । उक्त कास्कीकोटमा जनैपूर्णिमा, तीज, दसैँ, तिहार जस्ता पर्वको निकै महत्व रहन्छ । जहाँ कपदी, डण्डिबियो, गोटीचाल, चिप्लेटी, बालन, सोरठी, चम्राले पिङ, रिगटेपिङ खेल्ने चलन थियो । वर्तमानमा त्यो सबै हराएको छ ।

जब नवदुर्गा सुरु हुन्छ तब हरेक सहर, गाउँ, टोलमा दुर्गा माताको मूर्ति स्थापना गराई दुर्गा पूजा गरिन्छ । कतिपय मन्दिरमा देवीको दर्शन गर्नका लागि भक्तजनको भीडभाड लाग्छ । कुनै मन्दिरमा ९ दिनसम्म नवदुर्गा पूजा हुन्छ । कतै बाजागाजासहितका पाका पुजारीले माता भवानी कालिकाको पाठ पूजा गरी टीकाको दिन फूलपाती बिर्सजन गरी आ–आफ्नै घर जाने चलन माता गुप्तकालीको प्राङ्गणमा हुन्छ । जहाँका मुख्य कर्ता ठकुरी हुन्छन् दिलीप शाह ।

अन्य पूजारीहरु ठकुरी, त्रिपाठी, अधिकारी, तिमिल्सेना, दवाडी, बाँस्तोला, बराल, भैरव र अन्य पञ्चेबाजासहितका गोप्य नारा बजाउने दमै गन्धर्व, सार्की, पोडे, कामी, थापा, घर्ति, मगर, माली, कटुवाल, भण्डारीबाट तोकिएको काम गरेका र गर्दै आएको पाइन्छ ।

स्थानीय जनप्रतिनिधि वडा २४ का अध्यक्ष लगायत स्थानीय समाजसेवीसहितका भद्रभलाद्मी व्यक्तिहरुको राय, सुझावबाट गुप्तकालिका पूजा समितिको निर्णय अनुसार पूजापाठ हुँदै आएको छ । जसमा कटुवालहरुले रागा, पाठा खोज्ने र मन्दिरमा पुर्‍याउने काम गर्छन् । मन्दिर भित्र पाठपूजा त्रिकाल गरिन्छ । सो अवस्थामा सम्पूर्ण बाजा बजाउने चलन छ । सप्तमीका दिन कुँवरहरुले माताकालीको दर्शन गरी कोटदेखि धूपीचौरसम्म बाउन्न अखेडा तीन सिडीमा शंखघण्ट नगराको सांकेतिक आवाजबाट बजाउँछन् ।

सम्पूर्ण बाजाको तालमा हातमा तरबार र ढाल लिएर बोबहादुर कुँवरको नेतृत्वमा आफूले जानेको सराङे खेलको प्रदर्शन देखाउँदै तल झर्ने ठाउँलाई धूपीचौर तथा रणभूमि भन्छन् । यो धूपीचौर ५२ रोपनी थियो । अहिले सात आठ रोपनी रहनु हामी सबैका लागि विडम्बनाको कुरा हो । गुप्तकालीको गुठी दर्ता गरी खाने खुवाउने सफारिस गरिदिने व्यक्ति र पूजामा सरिक नहुनेलाई जनताले राम्रो भन्न मिल्दैन यो विषयमा सरकार भने मौन छ । फूलपातीको डोेली बडकुमाली थरका मगरले बोकेर ल्याउछन् । डोलीको नजिकमा भक्तहरुले मालश्री भजन गाउँछन् ।

डोली देखेपछि सराङेहरु ढाल तरबारसहित आएर डोलीलाई दायाँ पारी घुम्ने र पूजा विधि समाप्त भएपछि डोली कोटतर्फ लगिन्छ । त्यस बेला कुँवरहरुले माता भद्रकालीको मन्दिर अगाडिको बाटोमा फूलपातीको डोली छेकी एक पाठो लाने चलन छ । तत्पश्चात डोली बाजागाजासहित ठाडो उकालो लगिन्छ । सो क्रममा सबै बाजा बजाउन छाड्नु हुँदैन भन्ने मान्यता रहेको छ । कोटको मुलढोकामा चण्डीपाठ गरेर बाँस्तोला बसेका हुन्छन् । उनका लागि पनि एक पाठो दिएर त्यहाँबाट भगाइन्छ । जुन कास्कीकोट दरबारको एउटा सौन्दर्यका रुपमा रहँदै आएको छ ।

नवरात्रीको आठौं दिन कालरात्री भव्य तरिकाबाट सुसम्पन्न गरिन्छ भने नवमीका दिन पूजापाठसहित रागा, बोका, हाँस, कुखुरा, भैरवलाई सुँगुरसमेतको बली चढाइन्छ । त्यसपछि ठाउँ ठाउँबाट आएका पञ्चवली तथा भाकलका रागा, बोका, हाँस, कुखुराको बली चढाउने काम गरिन्छ । त्यस बेला पञ्चवलीमा आएका पञ्चेबाजा बजाउने, विभिन्न किसिमका नाचगान गर्ने, साथीभाइहरुका बीच हर्ष उत्सवका साथ रमाएको देखिन्छ । कोटको पूर्व रुमाल झाँक्रीको मन्दिर र बासपानी कालिकाको मन्दिरमा घटस्थापना कै दिनदेखि पूर्व पुजारीका सन्तान टीका पुरी र झाक्रीथानमा भित्र लाल दवाडीको नेतृत्व अमालिको रेखदेखबाट पूजा सञ्चालन भइरहन्छ ।

कालिरोहणी, चण्डीका मनकान्छी, बसाह, भद्रकाली, देउराली, खडगाउँकोट, भूमेसमेतमा बडादसैँ को बेला पूजापाठ र बलि दिने काम गरिन्छ । पुरानो कास्कीकोटको बडा दसैँको पूजापाठलाई निकै चासो दिइने भएकाले यस क्षेत्रको पूजापाठलाई फेवाताल पोखरादेखि अन्य सम्पूर्ण भूभागबाट एकै साथ अवलोकन गर्ने भएकाले यो पवित्र भूमिमा एक पटक पाइला राख्न पूजा समितिले निमन्त्रणा गरिरहेको हुन्छ । यस क्षेत्रमा नपुगेलाई पुगेपछि सबैलाई स्वर्गको कल्पना हुन सक्छ । किनकि एकातर्फ कोटका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक, पौराणिक र धार्मिक महत्वका हिसाबमात्र होइन, यो ठाउँमा कश्यप ऋषिले तपस्या गर्नुभएको पवित्र भूमि हुनु र अर्कोतर्फ बढी उचाइमा भएकाले चारैतर्फ हेर्न पाइने भएकाले यसको महत्व दिन प्रतिदिन बढ्दो छ ।

दशमीका दिन दसैंको टीका ग्रहण गर्न कोटबाट नहरासहितको बाजाले सूचना दिने चलन चलेकै छ । यो ठाउँको परम्परालाई जोगाउन हरबखत अग्रसर हुने ज्योतिष ठाकुर त्रिपाठी, ईन्द्रबहादुर भुजेल, टीका पुरी, धमै गिरी, गणेश बस्ताकोटी, दुर्गाबहादुर खत्री, आनन्द अधिकराी, गणेश सुनार, समेतका कयौं पुर्खाको सहयोग देखिन्छ । हामीले जान्दा मौला चौतारोको चापको वृक्षमुनि राजाराम सुवेदीको नेतृत्वमा सम्पूर्ण काम हुन्थ्यो ।

साँच्चै भन्ने हो भने उहाँजस्तो सामाजिक व्यक्तित्व यो डाँडामा अरु आजसम्म जन्मन सकेका छैनन् जस्तो लाग्छ । यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन पनि अर्पण गर्दछु । हामीले सत्यको वकालत गर्न पछाडि पर्नु हुँदैन, उहाँ साहसी र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो भने वर्तमानका वडाध्यक्ष भरतबहादुर अधिकारीबाट कृष्ण जन्मष्टमीको दिन धर्मप्रतिको आत्मिय विश्वास दिलाउँदै आफूसमेत जनताबीच हातेमालो गर्दै सहभागी हुनुभएबाट पुष्टि हुन्छ ।

यसले के पुष्टि गर्छ भने परम्परादेखि धार्मिक महत्वले भरिपूर्ण रही आएको ८ हजार कस्केली, ४२ मुखियाको जमघट हुने मौलाचौतारो, १७ औं शताब्दीको चापको वृक्षबाट सुशोभित पवित्र भूमिको महिमा र महत्वलाई जगाउन स्थानीय सरकार पनि क्रियाशील हुँदै छ । त्यसले मात्र सरकारको दायित्व पूरा हुँदैन, कोटमा रहेका हिजोका विविध ऐतिहासिक, धार्मिक, पौराणिक महत्वका वस्तुको संरक्षण, हराएको जग्गाको खोजी र कास्कीकोटको दसैँ परम्पराको बृहत् प्रचारप्रसार आजको आवश्यकता हो । त्यसतर्फ सरकारको ध्यान जान सकोस् भन्दै सम्पूर्ण राष्ट्रवादी नेपालीमा माताबाट सद्बुद्धि प्राप्त होस् भन्दै ०७९ सालको बडा दसैँको शुभकामना !

तपाईको प्रतिक्रिया