पर्यटनलाई जीवनसँग जोडौंः मन्त्री कँडेल

पोखरा ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेलले पर्यटन विकासका लागि नवीनतम सोच र साझा भावना आवश्यक रहेको बताएका छन् । ४३ औं पर्यटन दिवसको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराले लेकसाइडमा आयोजना गरेको एक दिने मिनी महोत्सवमा मन्त्री कँडेलले आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको जनाउँदै पर्यटनलाई जीवन पद्धतिसँग जोडेर लैजानुपर्ने विचार राखे ।
पर्यटनमा कला, साहित्य, संस्कृति, सम्पदा र वातावरणको महत्वलाई उजागार गर्दै प्रवद्र्धन गर्न आवश्यक रहेको उनले जनाए । पर्यटन विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्यबाट खाँचो औल्याउँदै उनले गण्डकी प्रदेशले पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध भएको बताए ।
रेवानका कार्यवहाक अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सव पोखराको पर्यटन विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले कोरोना पछिको पर्यटनले केही गति लिन थालेको जनाउँदै पर्यटनमा दीर्घकालीन पर्यटन नीति र पर्यटन मैत्री वातावरणको अपरिहार्यतामा जोड दिए । उनले पर्यटन क्षेत्रको विकास र विस्तारसहित आन्तरिक र बाह्य हवाइ यातायात विकास गरी थप सुरक्षित स्तरीय भरपर्दो बनाउन आवश्यक रहेको विचार राखे ।
रेवानका महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले ‘पर्यटनमा पुनविचार गरौं’ भन्ने नारासहित आयोजना गरिएको मिनी महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत र जातीय भेषभूषा सहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिने कार्यक्रम तय भए पनि प्रतिकूल मौसमका कारण केही कार्यक्रम प्रभावित भएको बताए ।
तपाईको प्रतिक्रिया