चेम्बरमा शुभकामना आदानप्रदान

समाधान संवाददाता २०७९ असोज १३ गते १५:४८

पोखरा ।
दसैं, तिहार, नेपाल संवत तथा छठ पर्व २०७९ को सन्दर्भमा पोखरा चेम्बर अफ कमर्स कास्कीले बुधबार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरोकारवालाको समान दायित्व भएको बताए ।

‘तीन खम्बे अर्थनीति अन्तर्गत निजी क्षेत्रले आर्थिक समृद्धिका लागि योगदान पुर्‍याएको छ,’ उनले भने, ‘राज्यका निकायले निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनेदेखि अनुदान, बैंक ब्याजदरमा सहुलियत प्रदान गर्नु पर्छ ।’ उनले केही निर्माण व्यवसायीले विकास, निर्माणको कामलाई समयमा सम्पन्न नगर्ने समस्या रहेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उद्योग, व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय प्रशासनले ध्यान दिने बताए । उनले चाड पर्वलाई लक्षित गरी स्थानीय प्रशासनले गर्ने संयुक्त अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता गरे । केसीले कानुनको प्रभावकारी कार्यान्वयनका लागि सक्रियतापूर्वक लाग्ने उल्लेख गरे ।

Advertisement

एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले कोभिड १९ को मारमा परेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको समस्या रहेको जनाए । गण्डकी प्रदेश चेम्बर अफ कमर्स महासचिव देवराज शर्माले निजी क्षेत्र सबल भए राज्य सफल र समृद्ध बन्ने तर्क गरे । उनले निजी क्षेत्रले स्वच्छ, स्वस्थ व्यवसाय गर्नुपर्ने पक्षमा चेम्बर रहेको बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेलले उद्योगी व्यवसायीको हकहितका लागि सामूहिक र संस्थागत रुपमा काम गर्ने चेम्बर तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, महासचिव नवराज आचार्य, संस्थाका सल्लाहकार नन्द श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग कार्यालय कास्की प्रमुख शेषकान्त पौडेल, नेपाल औषधी व्यवसायी संघ गण्डकी अध्यक्ष कृष्ण पाण्डे लगायतले उद्योगी, व्यवसायीका समस्याबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया