भेडा, च्याङग्रामा महानगरको अनुगमन

समाधान संवाददाता २०७९ असोज १३ गते १७:३८

पोखरा ।
पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा आज भेडा च्याङग्राको अनुगमन गरिएको छ । पोखराको याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्याङग्रा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिए ।

अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङग्रा बिक्री नगर्न व्यवसायिलाई जानकारी गराइएको महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए । उनले १५ वटा भेडा, च्याङग्राको स्याम्पल लिइएको र त्यसबाट स्वस्थ पाइएको र खान योग्य रहेको पाइएको बताए ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले भेडा च्याङग्राको मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिए । उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए । उनी मूल्य निर्धारण वैज्ञानिक नभएको बताउदै आगामी वर्षदेखि वैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुरोध गरे ।

Advertisement

पोखरा महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एंव पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियो । पोखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएको थियो । अनुगमनका मुल्यसुचि नराखेको, व्यवसाय दर्ता नचएको, दर्ता भएका पसलको नविकरण नभएको र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताए ।

एक सातामा २० व्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको उनले बताए । पोखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हो । अनुगमनमा पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया