अर्थमन्त्रीले मुख्यमन्त्रीको निर्देशन मान्नुपर्छः मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकार चलाउँदा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताएका छन् । बिहीबार पाँच वर्षे कार्यकालमा आफूले प्रदेशसभा सदस्य र मन्त्री हुँदा पाएको तलब, भत्ता बापतकोे खर्च विवरण सार्वजनिक गर्ने कार्यक्रममा थापाले गठबन्धन गर्दा धेरै कुरा ‘कम्प्रोमाइज’ गर्नुपरेको सुनाए ।
उनले मुख्यमन्त्री र अर्थमन्त्री फरक पार्टीबाट प्रतिनिधित्व गर्दा बजेट निर्माणदेखि अरु काम गर्न अप्ठेरो भएको उल्लेख गरे । ‘मुख्यमन्त्रीय प्रणालीमा अर्थमन्त्रीले मुख्यमन्त्रीको निर्देशनमा मान्नुपर्छ । हाम्रो प्रदेश सरकारमा यस्तो देखिएन,’ मन्त्री थापाले भने, ‘गठबन्धन भए पनि जुन पार्टीबाट मुख्यमन्त्री हुन्छ । त्यहीँ पार्टीबाट अर्थमन्त्री हुनुपर्छ भन्ने लागेको छ ।’
हिजो कठिन परिस्थितिमा यो क्षेत्रबाट चुनाव जितेँ । पाँच वर्ष सफलतापूर्वक काम गरेँ । फेरि मैले नै टिकट पाउने विश्वास छ ।
बजेट निर्माणका क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’को सम्बन्ध चिसिएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले हटाएपछि मुख्यमन्त्री–अर्थमन्त्री विवाद भएको थियो । मन्त्रिपरिषद्ले गरेको निर्णय अर्थमन्त्रीले पालना गर्न अर्थमन्त्रीले इन्कार गरेका थिए ।
लामो समयपछि मुख्यमन्त्रीको जोडबलमा सरकारले अर्को शीर्षकबाट निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम समाबेश गरेको थियो । मन्त्री थापाले अर्थमन्त्रीले बजेट बिनियोजना गर्दा पनि आफ्नो मन्त्रालयका बजेट काटेको आरोप लगाए । ‘गठबन्धनमा कम्प्रमाइज गरेर काम गर्नुपर्छ । सबै कुरा आफूले भनेको ठीकभन्दा सरकार सञ्चालमा अप्ठ्रो हुन्छ,’ उनले भने, ‘एकले अर्कोलाई अस्वीकार गर्दा संघीयताको मर्म अनुरुप काम गर्न सकेनौं ।’
अन्तिम पटक प्रदेश सभामा लड्छु
मन्त्री थापाले आफूले अन्तिम पटक प्रदेशसभा निर्वाचन लड्न चाहेको जनाएका छन् । उनले पाँच वर्षे कार्यकालमा आफूले जिम्मेवारीका साथ भूमिका निभाएकाले यस पटक पनि पार्टीले आफूलाई टिकट दिने विश्वास व्यक्त गरे । उनले भने, ‘म निर्वाचित भएको क्षेत्रबाट अहिले ७ जना आकांक्षी हुनुहुन्छ । हिजो कठिन परिस्थितिमा पनि मैले यो क्षेत्रबाट चुनाव जितेँ । पाँच वर्षीय कार्यकालमा सफलताका सेवामा काम गरेँ । यसलाई पार्टीले राम्रोसँग मूल्यांकन ग¥यो होला । गर्छ पनि । त्यसैका आधारमा फेरि मैले नै टिकट पाउने विश्वास छ ।’ टिकट पाए चुनाव लड्ने र टिकट नपाए इमान्दार कार्यकर्ता भएर उम्मेदवार जिताउन लाग्ने उनले प्रतिवद्धता गरे ।
सेवा, सुविधा सामाजिक काममा
यो कार्यकालमा आफूले सांसद र मन्त्री हुँदा पाएको सम्पूर्ण सेवा, सुविधा बापतको पैसा सामाजिक कार्यमा लगाएको थापाको दाबी छ । उनले सांसद र मन्त्री हुँदा पाएको ४० लाख ७१ हजार २ सय ४९ र थप १७ लाख ५७ हजार ८ सय १७ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको दाबी गरे ।
आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ९ हजार १ सय १३, ०७५/७६ मा ६ लाख १० हजार ६ सय ४९, ७६/७७ मा ८ लाख ५९ हजार ८ सय ६८, ७७/७८ मा १३ लाख ६६ हजार ३ सय ६० र ७८/७९ मा ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ मा थप १७ लाख ५ सय ७८ थप गेर ५८ लाख २९ हजार ६६ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको उनले जानकारी दिए ।
मन्त्री थापाले आफू राजनीतिमा पैसा कमाउन नभई सेवा भावले आएको दोहोर्याए । ‘जीविकोपार्जन गर्न राजनीतिकबाहेक मेरो आफ्नै व्यवसाय छन्,’ उनले भने, ‘प्रदेश सांसद हुँदा होस् वा बहालवाला मन्त्रीका रूपमा, मैले कुनै सुविधा आफ्ना लागि लिएको छैन ।’ थापाले मन्त्रीले पाउने आवास सुविधासमेत लिएका छैनन् ।
तपाईको प्रतिक्रिया