पोखरा १५ मा सहरी स्वास्थ्य केन्द्र

समाधान संवाददाता २०७९ असोज १४ गते १२:०९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ परिसरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले सुरुआत गरे । आचार्यले जसरी दसैँलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकको रूपमा लिइन्छ, त्यसरी नै हामीले पनि समाजभित्र रहेका सबै खालका नकारात्मक बिम्बलाई परास्त गर्दै गर्नुपर्ने बताए ।

मेयर आचार्यले महानगरपालिकाले यसपालि प्रत्येक वडालाई ५ करोड हाराहारीमा बजेट छुटाइएको बताए । उनले निर्वाचित भएर आएलगत्तै छोटो समयमा बजेट बनाउनुपर्ने बाध्यता रहेकाले सबैसँग बसेर आवश्यकताको पहिचान गरी प्रोजेक्ट बैंक बनाएर अगाडि बढ्ने अनुकूलता नभए पनि सबैको आवश्यकता बुझेर बजेटमा समेट्ने प्रयास गरेको दाबी गरे ।

आचार्यले पोखराभित्र धेरै सार्वजनिक जग्गा रहेको र यो वा त्यो ढंगले अतिक्रमित रहेको भन्दै अब छाडिदिन अनुरो गरे । सार्वजनिक जग्गा खोजी गर्न टाक्स फोर्स नै बनाएरअघि बढेकाले पोखरा १५ पनि धेरै सार्वजनिक जग्गा भएको वडा भएकाले त्यस्ता जग्गा बल प्रयोग गर्नुपूर्व छोड्न आचार्यले आग्रह गरे ।

Advertisement

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलाषा लिएको बताए । उनले उमेरका हिसाबले आफूहरु सानो भएको भन्दै यस वडालाई नेतृत्व गर्ने हिजोका अग्रज धेरै अनुभवी, बुद्धिजीवी र धेरै समय समाज सेवामा बिताएका व्यक्तित्व भएकाले उनीहरुबाट सुझावको अपेक्षा गरे ।

बानियाँले यसै वर्ष वडामा रहेका विपन्न तथा मजदुर ५० जनाभन्दा बढीलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य बिमाका लागि बजेट छुटाइएको जानकारी दिए । कार्यपालिका सदस्य मन्दिरा परियारले अबको ५ वर्ष कुनै दल र पार्टी नभनी स्वतन्त्रपूर्वक समाज निर्माणका लागि लाग्ने प्रतिबद्धता गरि ।

Advertisement

सहरी स्वास्थ्य प्रमुख कृष्ण बास्तोलाले वडावासीलाई स्वास्थ्य केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन आग्रह गरे , उनले केन्द्रबाट परिवार नियोजन, खोप, ओपिडी, ड्रेसिङ, लगायतका सेवा दिइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया