राष्ट्रिय खेलकुदलाई महानगरले सघाउने

समाधान संवाददाता २०७९ असोज १४ गते १२:२६

पोखरा ।
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगरले सघाउने भएको छ । खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा मेयर धनराज आचार्यले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामी सघाउँछौं ।’

Advertisement

महानगरले यातायात, होटल, सपिङ मल, खानेपानी, शौचालय लगायतका व्यवस्थापनका लागि सरोकारवालासँग बैठक बसेर छुट तथा सहुलियतका विषयमा आह्वान गर्ने प्रतिवद्धता गरे । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताको हालसम्मको तयारीका विषयमा जानकारी गराए ।

उनले प्रतियोगितालाई मध्यनजर गरी खेल स्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति, पोखरा महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालय लगायतका स्थान खेलकुदसँग सम्बन्धित सामाग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था, प्रतियोगिता स्थलमा डस्टबिनको व्यवस्था गरी दैनिक रुपमा सरसफाइ, मिडिया सेन्टरमा विद्युत तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्ने लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरे ।

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्यास्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् । ह्यान्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया